३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

स्याङ्बोचेमाथि व्यावसायिक उडानमा रोक लगाउन माग

फाइल तस्वीर

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले बिहीबार सोलुखुम्बुको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चिठी लेखेर निकुञ्ज क्षेत्रभित्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकोप्टर उडान/अवतरणमा रोक लगाउन भनेको छ । पत्रको आधिकारिक जबाफ प्राधिकरणले दिएको छैन। 

प्राधिकरणका एक उच्च कर्मचारीले गृहकार्य, छलफल र सूचनाबिनै एकाएक निकुञ्जले सगरमाथा आधार शिविरमा हेलिकोप्टर उडान/अवतरणमा रोक लगाउन नसक्ने बताएका छन्। ती कर्मचारीले भने, ‘यो नेपालको मात्र विषय होइन, अन्तर्राष्ट्रिय विषय पनि हो । हेलिकोप्टर बुक गरेर सगरमाथा आएका पर्यटकलाई पूर्वसूचनाबिना एकाएक हेलिकोप्टर उडानमा रोक लगायौ भन्न मिल्दैन।’ ती कर्मचारीका अनुसार हेलिकोप्टर उडान÷अवतरणमा रोक लगाउनुअघि धेरै चरणमा छलफल र तयारी हुनुपर्छ। हेलिकोप्टर उडान/अवतरणमा रोक लगाउँदा पर्यटन विकासमा गम्भीर असर पर्ने भएकाले यस विषयमा धेरै सोचेर काम गर्नुपर्ने उनको बुझाइ छ।  

चिठीको बोधार्थ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सोलुखुम्बु जिल्ला प्रशासन कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, भगवतीप्रसाद गुल्म नाम्चे, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नाम्चे र इलाका प्रहरी कार्यालय नाम्चेलाई दिइएको छ।  

निकुन्जले प्राधिकरण लुक्लालाई पठाएको पत्रमा लेखिएको छ, ‘सगरमाथा राष्ट्रिय निकुन्ज, भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकको निर्णयअनुसार सगरमाथा राष्ट्रिय निकुन्जको कोर क्षेत्रभित्र विभिन्न प्रयोजनका लागि दैनिक ५०औं संख्यामा हेलिकोप्टर उडान र अवतरण भइरहँदा निकुन्ज क्षेत्रमा अनावश्यक ध्वनि प्रदूषण भई वन्यजन्तुको आनीबानी तथा व्यवहारमा समेत नकारात्मक असर तथा प्रभाव पर्ने देखिएकाले निकुन्ज क्षेत्रको स्याङबोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकोप्टर उडान÷अवतरणमा निषेध गर्न अनुरोध गरिन्छ। ’  

सगरमाथा राष्ट्रिय निकुन्जकी प्रमुख शुष्मा राणाले स्थानीय बासिन्दा, व्यवसायीसँगसमेत बृहत छलफल गरी जैविक विविधता, वन र वन्यजन्तुलाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लालाई यस्तो चिठी पठाइएको बताइन्। उनले भनिन, ‘हामीले हेलिकोप्टर उडान र अवतरणमा रोक लगाउन अनुरोध गरेका छौं। 

उडान/अवतरणमा निषेध लगाउने अधिकार हामीलाई छैन। हामीले अनुरोध मात्र गरेका हौं ।’ खाद्यान्न ओसारपसार र पर्यटकहरूको उद्धारमा भने हेलिकोप्टर उडानमा रोक लगाउन नभनिएको उनले बताइन्।  

दैनिक करिब एक सयजति हेलिकोप्टर सगरमाथा आधार शिविर १, २, ३ र ४ सम्म पुग्ने गरेको बताउँदै राणाले भनिन्, ‘यसबाट सगरमाथाको मूल्य, महत्व, सुन्दरतामा मात्र असर परेको छैन, कम उचाइबाट हेलिकोप्टर उडाउँदा स्थानीय बासिन्दा र जंगली जनावरले पनि हैरानी भोगेका छन्। यसबाट जगंली जनावरको आनीबानीसमेत परिवर्तन भइसकेको हामीले पाएका छौं।’ जथाभावी हेलिकोप्टर उडान र अवतरणमा रोक लगाउँदा पर्यटकलाई खासै अप्ठेरो नपर्ने बताउँदै उनले भनिन्, ‘पर्यटकहरू लुक्लाबाट हिँडेरै सगरमाथा आधार शिविरमा जान चाहन्छन्। उनीहरूले हिँडेरै सगरमाथाको प्राकृतिक सुन्दरताको मज्जा लिन चाहन्छन् ।’ हेलिकोप्टर उडाउँदा स्थानीयको रोजरोटीसमेत गुमेको उनको भनाइ छ।  

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेशकुमार पन्थीले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयबाट सगरमाथा आधार शिविरमा जथाभावी हेलिकोप्टर उडान र अवतरणमा रोक लगाउन अनुरोधसहितको पत्र आएको बताए। 

उनले यसबारे प्राधिरकणको प्रधान कार्यालयलाई जानकारी गराउने बताउँदै भने, ‘प्रधान कार्यालयले दिने निर्देशन हामीले कार्यान्वयन गर्ने हो। त्यसैले अहिले यसबारे केही भन्न चाहन्नँ।’ आधार शिविरमा हेलिकोप्टर रोक लगाउने निर्णय गर्नुअघि धेरै छलफल र गृहकार्य गर्नुपर्ने उनले बताए। 

चिठीका बारेमा राष्ट्रिय निकुन्ज तथा वन्यवन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालसँग जिज्ञासा राख्दा उनले भने, ‘सगरमाथा निकुन्जभित्रको कोर क्षेत्र अत्यन्त संवेदनशील मात्र होइन, विश्व सम्पदा सूचीभित्र पनि परेको छ। त्यसैले यस्तो सवेदनशील क्षेत्रमा जथाभावी हेलिकोप्टर उडानमा नियन्त्रण आवश्यक देखिएको छ।’

प्रकाशित: ९ कार्तिक २०८१ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App