ताप्लेजुङ – अलैंचीको मूल्य शृंखला प्रर्वद्धनका लागि पैरवी गरिरहेको ताप्लेजुङ उद्योग बाणिज्य संघले अलैंची खेतीका उद्यमी तथा कृषकहरूलाई व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारे अनुशिक्षण गरेको छ।
कार्यस्थल वा व्यवसायमा कामकै कारण स्वास्थ्यमा पर्ने शारीरिक तथा मानसिक समस्याका विरुद्ध भौतिक रुपबाट कसरी सुरक्षित रहने भन्ने विषयमा बाणिज्य संघले व्यवसायी र कृषकलाई जानकारी गराएको हो।‘कामदारको शरीर स्वस्थ्य र सुरक्षित राख्न, उत्पादक, उत्पादन क्षमता र कार्य क्षमता बढाउन, कामदारलाई अकालमा हुने मृत्युबाट जोगाउन र अल्पकालीन तथा दीर्घकालीन रोगबाट बचाउन अनुशिक्षित गरिएको हो’ ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले भने।
उनका अनुसार रासायनिक महामारी र दुर्घटनाबाट बचाउन, अलैंचीमा आश्रित उद्यमी तथा कृषकका भावी सन्ततीलाई स्वस्थ्य, निरोगी र सम्मानित नागरिकको रुपमा विकास गर्न,आर्थिक, मानवीय एवम् समयको क्षति रोक्न र कार्यस्थमा हुने दुर्घटना कम गर्ने विषयमा अनुशिक्षण केन्द्रित छ। घिमिरेले कामदार, व्यवस्थापन पक्ष र सरकार दुर्घटनाका मुख्य जिम्मेवार पक्ष रहेकोले उनीहरूको बिचमा हुने तेहेरो संवादका लागि पनि अनुशिक्षण गराइएको जानकारी दिए।
कार्यस्थलमा हुने सुरक्षा जोखिम कम गर्ने उपायका बारेमा जानकार ज्ञानु केसीका अनुसार आवश्यक तालिमको अभावमा, अधिकार विनाको यन्त्र चलाउँदा, उपलब्ध सुरक्षा साधनको प्रयोग नगर्दा, असुरक्षित यन्त्र चलाउँदा र लापरवाहीपूवर्क कार्य स्थलमा खटिदा कामदार कार्यस्थलमा असुरक्षित देखिन्छन्। व्यवस्थापनले कार्यस्थलका बारेमा उचित ध्यान नदिदा,बिद्यमान ऐन–कानुन मिच्दा, कम खर्च बढी फाईदा भन्ने गलत मानसिकता राख्दा र प्राविधिक साधनको समयमै मर्मत सम्भार नगरीदा कार्यस्थलमा कामदारको जीवन जोखिम हुने गरेको छ। ‘यस्तो अवस्थामा सरकारले सकारात्मक हस्तक्षेप गर्न जरुरी छ’केसीले भनिन्।
उनका अनुसार कामदारमैत्री वातावरण निमार्णका लागि सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ऐनको निर्माण तथा यसको प्रभावकारी कार्यान्वयन गर्ने र श्रम ऐनमा भएका व्यवस्थालाई कडाईका साथ कार्यस्थलमा प्रयोग गर्न व्यवस्थापनलाई बाध्य पार्नुपर्ने हुन्छ। संघीयता कार्यान्वयन सँगै स्थानीय, प्रदेश र संघीय सरकारको अवधारणा कार्यान्वयमा आइसकेकोले यस्तो कानुनी व्यवस्थाका लागि स्थानीय तह सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने उनले बताइन्। उनका अनुसार पेशा गरकै कारण कार्यस्थल र कामको वातावरण बाट व्यक्तिमा रोग लाग्नमा र बढाउनमा व्यवसाय मुख्य कारण भएको अवस्थालाई व्यवसायजन्य रोग भनिन्छ।
कार्यस्थलमा हुने व्यवसायजन्य रोगहरू फरक–फरक प्रकृतिको हुने यसका बारेमा जानकार केसीले बताइन्। उनका अनुसार धुलोबाट श्वास–प्रश्वास सम्बन्धी दिर्घरोग, दम र क्यान्सर, तापबाट उत्पन्न हुने रोगहरू जस्तैःकलेजो बिग्रनु,मुटु सम्बन्धी रोग, निसासिनु, छालामा घाउ हुनु र मूर्छा पर्नु र चिसोबाट हुने रोगहरू हिउँ र चिसोले खाने रोगहरु व्यवसायजन्य कार्यस्थलमा रोगमा पर्छन्। अलैंची खेती र व्यवसायका क्रममा रुघाखोकी–चिसो, सर्पदंश, बिभिन्न किरा प्रजातिको असर, औजारहरुबाट हुने खतरा,परम्परागत भट्टीका कारण स्वास्थ्यमा पर्ने असरसँगै धेरैबेर निहुरिएर काम गर्नुपरेकोले ढाड दुख्ने लगायतका असरहरू देखिने गरेको केसीको भनाई छ।
‘कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका बारेमा मजदुर, मजदुरीमा लगाउने पक्ष र नियमन गर्ने सरकारी संयन्त्र सबै उत्तिकै जिम्मेवार र जफावदेही बन्नु पछ’उनले थपिन्। पहिला सुरक्षा भएमा मात्र मजदुरी गर्न र मजदुर लगाउन सकिने कुरालाई ध्यानमा राख्न समेत आग्रह गरेकी छन्।
प्रकाशित: २४ चैत्र २०७४ ०६:१५ शनिबार