१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ली किसान धान भित्र्याउँदै । गोल्डेन बुढा, जुम्ला/नागरिक।

विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन अहिले किसानहरूलाई भ्याइनभ्याई भएको छ।

दसैंको घटस्थापनादेखि यहाँ धान भित्र्याउने परम्परा रहिआएको छ। जसअन्तर्गत किसानहरूले पहिले धान काटेर खेतमा सुकाएपछि मात्रै बाला चुट्ने गर्छन्। अहिले भने मार्सी धानका फाँटमा किसानहरू धमाधम धान चुटिरहेका र भित्र्याइरहेका देखिन्छन्।

जुम्लामा चन्दननाथ-१, चन्दननाथ-३, लेकाली-१ र लेकाली-३ मा उन्नत जातका मार्सी धानको खेती हुँदै आएको छ। गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै भित्र्याउन थालिएको हो।

दसैंपछि धान भित्र्याउने क्रममा चन्दननाथ नगरपालिका-४, सिंगाचौरकी नौरुता सुनारले किसानहरूलाई धान काट्न हतार भएको बताइन्। उनका अनुसार अहिले कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ।

पछिल्लो समय मार्सी धानमा मरुवा रोगको प्रकोप बढेसँगै किसानहरू उन्नत जाततर्फ आकर्षित हुन थालेका छन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा २,८५० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ। तर मार्सी धानको क्षेत्रफल भने वर्षेनि घट्दै गएको छ। गत वर्ष १,५०० हेक्टरमा रोपिएको मार्सी धान यो वर्ष १,२०० हेक्टरमा झरेको छ।

इतिहासमा, राणा शासनकालमा जुम्लादेखि केन्द्रमा रहेका शासकहरूलाई हुलाकमार्फत मार्सी धानको चामल पठाइने चलन थियो। यो धान विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने धानका रूपमा पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा २,८५० मिटरको उचाइमा फल्ने गर्छ।

मार्सी धान पाक्न ७ महिनाको समय लाग्छ। पहिले कात्तिकको पहिलो सातादेखि मात्रै धान काटिन्थ्यो, तर अहिले असोजको अन्तिम साता नै धान पाक्न थालेको छ।

तापक्रम वृद्धि र परम्परागत खेती प्रणालीका कारण मार्सी धानमा रोगको संक्रमण बढ्दै गएको छ। बजारमा मार्सी चामलको मूल्य अहिले प्रति किलो १५० रुपैयाँ रहेको छ।

जुम्लाको सदरमुकाम खलंगामा रहेका कोसेली घरहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूले मार्सी चामल किन्ने भिड लाग्ने गर्छ। यो चामल सुर्खेत, नेपालगञ्ज, काठमाडौं, पोखरा, बुटवल लगायतका सहरमा पनि बिक्री वितरण हुँदै आएको छ।

प्रकाशित: १ कार्तिक २०८१ १९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App