१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

सकियो तीन महिने बर्षावास

यस वर्षको बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व बर्षावास सकिएको छ। असार पूर्णिमादेखि असोज पूर्णिमासम्मकाे अवधिलाई बर्षावासकारुपमा मनाइने गरिन्छ। बुद्ध धर्मावलम्बीका लागि वर्षावास निक्कै महत्त्वपूर्ण पर्व हो। लुम्बिनी र प्राचीन कपिलवस्तुमा बर्षावास बसेका भिक्षुहरुले यस वर्षको बर्खा बास बिधिवतरुपमा समापन गरेका हुन।

असार पूर्णिमादेखि असोज पूर्णिमासम्मको अवधिलाई  बर्षावासका रुपमा मनाइने गरिएको छ। बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिया सहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षावास भनिन्छ। बुद्ध धर्मावलम्बीका लागि वर्षावास निक्कै महत्त्वपूर्ण पर्व हो। ३ महिने बर्षावासका लागि थाइल्यान्डका ४ भिक्षुहरु प्राचीन कपिलवस्तुको तिलौराकोट र निग्रोधराम कुदानमा बसेका थिए।

तिलौराकोटमा भिक्षु जरुकितको नेतृत्वमा २ जना र निग्रोधराम कुदानमा भिक्षु सोङकिटको नेतृत्वमा २ जना बर्षावास बसेका थिए। यसै बिच लुम्बिनीको राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशना सहित बर्षावासको समापन गरेका  छन्। लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायका तर्फबाट बर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ।

बौद्ध महिला समितिको व्यवस्थापनमा भएको बर्षाबासमा अवधिभर दैनिक धर्मदेशना, पूजा लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन गरिएको थियो। राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरधम्मले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा बर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए।

उनले आफूहरूले विगत ८ वर्षदेखि स्थानीयहरूलाई बुद्धको उपदेशसँग जोडेर बर्षावास अवधिभर पञ्चशील ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए। भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीय स्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरू बढाउनु पर्नेमा जोड दिए। समापन कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सहसंयोजक सिर्जना पंगेनी लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

असार पूर्णिमादेखि सुरु भएको आठौँ चरणको बर्षावासको चिवरदान कार्यक्रम भने कार्तिक ४ गते हुनेछ। वर्षा याममा हुने वर्षावास बस्नाले आफुले गरेका त्रुटि कमजोरीबाट कुनै पाप नलागी क्षमा दान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । बर्षावास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेको छ। वर्षा बासका बेला साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन्। त्यस बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ। बर्षावासका बेला बिहान एक छाक खाना खाने गर्दछन् । सके सम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्दछन्।

प्रकाशित: १ कार्तिक २०८१ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App