३० आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: तेस्रो दिन १२ सडक आश्रित मानवहरूको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको तेस्रो दिनमा १२ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ।

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित यो यात्रा “यस पटकको चाडपर्वमा कसैले सडकमा बस्न नपरोस्” भन्ने नारासहित सुरु भएको हो। यात्रा ३२ दिनसम्म निरन्तर चल्नेछ।

बुधबारको उद्धार अभियानमा सुनसरी जिल्लाका दुहबी, इटहरी, र धरानका विभिन्न स्थानहरूमा रहेका सडकआश्रित तथा बेवारिसे अवस्थामा भेटिएका मानिसहरूलाई उद्धार गरिएको छ।

उद्धार टोलीले दुहबी नगरपालिका-७ बाट १ जना, इटहरी उपमहानगरका विभिन्न वडाबाट ७ जना, र धरानबाट ४ जना गरी कुल १२ जनाको उद्धार गरेको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

उद्धार गरिएका व्यक्तिहरूलाई विराटनगरस्थित मानवसेवा आश्रमको सेवाकेन्द्रमा संरक्षणको लागि पठाइएको छ।

यात्राको पहिलो दिन सोमबार झापा जिल्लाका विभिन्न क्षेत्रबाट १० जना र दोस्रो दिन ६ जना सडकआश्रित मानिसहरूको उद्धार गरिएको थियो।

उद्धार टोलीले बिहीबार उदयपुर जिल्लाका सडकपेटी र सार्वजनिक स्थलहरूमा रहेका मानिसहरूको उद्धार गर्ने योजना बनाएको छ।

यस उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना सहभागी छन्।

मानवसेवा आश्रमले विगत १२ वर्षदेखि सातै प्रदेशका १९ जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सडकआश्रित मानिसहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ।

यस सामाजिक संस्थाले २०८२ सालसम्म नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउन लिएको लक्ष्यलाई यो राष्ट्रिय उद्धार यात्राले थप सघाउने विश्वास आश्रमले लिएको छ।

प्रकाशित: ३० आश्विन २०८१ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App