२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दसैँमा तलब नपाएका मजदुरले नै खटेर खुलाए अवरुद्ध सिद्धिचरण लोकमार्ग

दसैँ तिहारजस्तो चाडबाडका बेलासमेत तलबभत्ता खान नपाएका मजदुरहरुले नै अवरुद्ध सिद्धिचरण लोकमार्ग रातदिन नभनी मर्मत गरेर सुचारु गराएका छन्।

मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका १४ भदौरेमा पहिरो गएपछि अघिल्लो बिहानदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो।

बीच सडकमा झण्डै डेढसय मिटर लामो सडक पुर्ने गरी पहिरो खसेपछि शुक्रवार बिहानदेखि लोकमार्ग अवरुद्ध थियो।

अविरल वर्षापछि वैकल्पिक सडकको रुप लिएको सो लोकमार्ग अवरुद्ध हुँदा राजधानी तथा विभिन्न सहरदेखि घर आउँदै तथा जाँदै गरेका पूर्वका सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए।

चाडपर्वका बेला बिदा लिएर घर गईसकेका मजदुरहरु रातदिन खटेर मर्मत गरेपछि लोकामार्गमा शनिवार दिउँसोदेखि गाडीहरु चल्न थालेको गाईघाट दिक्तेल सडक योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। उनका अनुसार चाडबाडको बेला परेकाले धेरै यात्रुलाई विचल्लीमा पर्न नदिन मजदुरहरुलाई खटाएर सडक सुचारु गराइएको हो।

पहिरोले सिरहाको मिर्चैयादेखि उदयपुर हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको उयपुरक्षेत्र कटारी–घुर्मी खण्ड अवरुद्ध गरेको हो। सडक अवरुद्ध हुँदा काठमाडौँदेखि उदयपुर र पूर्वतर्फ आउदै गरेका तथा पूर्वतर्फबाट ओखलढुंगा, सोलुखुम्बु र सिन्धुलीतर्फ जाने हजारौँ यात्रु अलपत्र परेका थिए। उनीहरुको समस्या देखेर दसैँ पनि नभनी रातदिन खटेर सडक खुलाएको सडक हेरालु सुपरभाइजर कुमार प्याकुरेलले बताए।

प्याकुरेलले बेलामा तलबभत्ता खान नपाए पनि काम गर्न पछि नपरेको बताए। प्याकुरेल सहित ६ जना सुपरभाईजर र २१ हेरालु मजदुरले ३ महिनायता तलबभत्ता दसैँको मुखमा पनि कार्यालयले नदिएपछि दसैँमा भोकभोकै बस्नुपर्ने अवस्था आएको समाचार नागरिकले प्रकाशन गरेको थियो। मजदुरले तलब खान नपाएको समाचार प्रकाशनपछि फुलपातीका दिन २ महिनाको तलब निकासा आएको प्याकुरेलले बताए।

‘हामीले साउनदेखि ३ महिनायताको तलवभत्ता र दसैँ पेस्की गरी ४ महिनाको सेवा सुविधा पाउनुपर्ने हो’ प्याकुरेलले भने ‘तर, दसैँ तिहारको मुखमा आएर तलबै नपाउने खवर पाएर भोकै बस्नुपर्ने अवस्था थियो। नागरिकले समाचार लेखेपछि फुलपातीका दिन २ महिनाको पायौँँ।’ उनले मजदुरहरुको तर्फबाट नागरिकलाई धन्यबाद पनि दिए।

डिई ज्ञवालीले मजदुरहरुलाई भोकभोकै राख्न नहुने कुराप्रति गम्भीर भएर हाललाई २ महिनाको तलब भुक्तानी गरिएको बताए। उनले सो रकम सडक विभागको सम्भार महाशाखासँगको समन्वयमा भुक्तानी गरिएको र बाँकी भुक्तानीका लागि दसैँपछि आवश्यक कानुनी तारतम्य मिलाइने बताए।

भोकै तिर्खै भए पनि घाम पानी नभनी खटेर मदजुरले यात्रुलाई बिचल्ली हुनबाट बँचाउन खट्दै आएको प्याकुरेलले बताए। यो पहिरो पनि ३० घण्टा बढी लगाएर बल्ल सुचारु गराएको उनले बताए।

योजना कार्यालय कटारी र हर्कपुर सडक कार्यालयको स्काभेटर, ट्याक्टरसहित दर्जन बढी मजदुर खटेर पहिरो पन्छाएपछि दसैँ मान्न हिडेका यात्रु गन्तव्यतर्फ लागिसकेको १४ नं. वडाध्यक्ष अम्बर मगरले बताए। हाललाई सडक सुचारु भईसकेको तर, पहिरो झर्ने क्रम अझै नरोकिएको वडाध्यक्ष मगरले बताएका छन्।

इलाका प्रहरी कार्यालय कटारीले घट्नाको पुष्टि गर्दै हाललाई सडक कामचलाउ सुचारु भएको तर, पहिरो खस्ने खतरा अझै बाँकी नै रहेको जनाएको छ। इप्रका प्रमुख डिएसपी कमल बजगाईले सुख्खा पहिरो भएकाले अहिले पनि खस्ने क्रम नरोकिएको बताए। तर, हाललाई सडक अवरुद्ध भएर बीचैमा रोकिएका बसहरु गन्तव्यतर्फ हिडिसकेको बताउँदै उनले पहिरो खसे फेरि हटाउन कामदारहरु मर्मतका लागि तयार रहेको कुरा योजना कार्यालयलाई उद्धृत गर्दै बताए। 

प्रकाशित: २७ आश्विन २०८१ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App