पुजारीबाहेक मन्दिरमा कसैलाई भगवतीको पूजाआजा तथा दर्शन गर्न निषेध गरिएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखाको पवित्र देवीकोट त्रिपुरासुन्दरी मन्दिरमा कसैले पनि त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भन्ने प्रचलन रहिआएकाले भगवतीको मूर्ति हेर्न र दर्शन गर्न निषेध गरिदैँ आएको छ।
ऐतिहासिक, धार्मिक एवम पर्यटकीय महत्त्व बोकेको किराँतकालमा स्थापना भएको भनाइ रहेको त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भनेर त्यसताकाका तान्त्रिकहरूले रोक लगाएदेखि नै निषेध हुँदै आएको छ।
किंवदन्तीअनुसार त्यसताका यहाँका तान्त्रिक सिन्धु भनिने च्वाफे गोस (खरेटो जुङगे) र विन्दु भनिने तुफी गोस (कुचो जुङगे) ले नै प्रत्येक दिन यहाँबाट तामाकोसी नदी (नागदह) मा गएर नुहाई चोखो पानी ल्याएर भीमेश्वरमा पूजा गर्ने गर्दथे। त्यस क्रममा एक दिन उनीहले नागदहमा तीन वटी दिदीबहिनी खेलेर बसेको देखेका थिए।
तान्त्रिक शक्तिले हेर्दा मानिस नभई देवीहरू भएकाले तान्त्रिक विधिले बाँधेर फकाइफुलाइ दोलखामा नै बस्ने मन्जुर गराइएका थिए भन्ने भनाइ छ।
तिनीहरूमा जेठी अति नै (त्रिपुरमध्येकै) राम्री भएकीले त्रिपुरासुन्दरी भनिएको हो भन्ने किंवदन्ती रहेको स्थानीय तीर्थनारायण जोसीले बताए।
अर्की माहिली अलि काली भएकीले कालिञ्चोक भगवती भनी अग्लो स्थान (तीन हजार ८४२ मिटर) कालिञ्चोकमा र कान्छी बहिनी बालिका बालकुमारी भनी दोलखामै स्थापित छन्। तिनीहरू सबै तामाकोसी नदी देखिने स्थानमा नै स्थापना भएका छन्।
अहिले मरिहेको स्थानमा त्यतिबेला पञ्चभलाद्मी बसी निर्णय गर्ने गरेको तथा दोलखा शहरको रक्षार्थ सेना राख्ने कोत पनि भएकाले त्रिपुरासुन्दरीलाई देवीकोट भन्ने गरिएको किंवदन्ती रहेको स्थानीय जोशीले बताए।
यो मन्दिर अहिलेको ठाउँभन्दा अलि तल रहेको भग्नावशेष अध्यावधिक रहेका छन्। पछि नेपाल सम्वत् ९६५ मा अहिले भएको स्थानमा सारिएको मन्दिर बाहिर रहेको शिलालेखमा उल्लेख छ।
किम्वदन्तीअनुसार कुनै दिन एक जनाले पुजारी नभएको बोला पारी मन्दिरभित्र पसेर हेरेका र घर पुगेर मन्दिरभित्र हेरेको भन्नेबित्तिकै रगत छाडेर मरेको खबरले अझसम्म कोही पनि भित्र पसेका छैनन्।
यहाँ अर्को रोचक पक्ष पनि रहेको छ। जतिसुकै बोको, राँगो आदि बलि चढाउन ल्याउँदा पनि पूजाकोठामा अरू जान नहुने, हेर्न नहुने प्रचलनले एक्लै पुजारीले च्याइँचुइँ नगरी काटेर बाहिर निकाल्ने गर्छन्।
यहाँ बलि चढाएको मासु घर लान नहुने भनिएकाले यहीँ नै पकाएर भोज खाने गरिन्छ। तत्कालीन राजाले आफैँले स्थापना गरेकाले देवीको रक्षार्थ तथा राज्य सञ्चालानार्थ सरसल्लाहका निमित्त आफ्नो घरको झ्याल र मन्दिरको झ्याल खुलै राखेकाले आजसम्म पनि दुङगल टोलको पुरानो घरको र मन्दिरको एउटा झ्याल खुलै राख्ने गरेको किम्वदन्ती छ।
२०७२ सालको भूकम्पले ध्वस्त बनाएको मन्दिर पुरातत्विक हिसाबले नै पुनर्निर्माण गरिएको छ। दोलखा मन्दिरै मन्दिरको जिल्लाको रूपमा चिनिने गर्दछ। यहाँ १५४ वटा मठमन्दिर तथा ५५ वटा गुम्बा रहेका एक तथ्याङकले देखाएको छ।
प्रकाशित: २७ आश्विन २०८१ ०९:२१ आइतबार