१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खलंगामा चंगा महोत्सव

संस्कृति संरक्षण र संवर्द्धन समितिको आयोजनमा जुम्लामा तेस्रो चंगा महोत्सव गरिएको छ। तीन वर्षदेखि निरन्तर जुम्लामा चंगा महोत्सव हुँदै आएको छ। चंगा महोत्सवमा बालबालिकाहरूले भाग लिने गरेका छन्।

चंगा उडाएर दसैं आएको अनुभूति गराउन हरेक वर्ष महोत्सव हुने गरेको समिति कार्यक्रम संयोजक महेन्द्र कार्कीले बताए। उनका अनुसार ६० बालबालिकाले चंगा महोत्सवमा भाग लिएका थिए। उनीहरूलाई चंगा दिइएको थियो। चंगा उडाउने तरीका, उडेको दूरी र उडाउन जान्ने र नजान्ने सीप हेरेर मूल्यांकन गरिएको थियो।

महोत्सवमा बालकतर्फ रिदम श्रेष्ठ प्रथम, अमान सिद्धिकी द्वितीय र विवेक देवकोटा तृतीय भए। यता बालिकातर्फ दिपेङका सिमखाडा हमाल प्रथम र शुभेच्छा बुढा द्वितीय भए। उनीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चंगा महोत्सवको उद्‌घाटन गरेका थिए। उनले चंगा महोत्सवले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै दसैं आएको अनुभूति गराउने बताए। कर्णालीको प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको छतदेखि चंगा उडाइएको थियो।

सामान्यतया दसैंतिहारमा पिङ खेल्ने, चंगा उडाउने गरिन्छ। ‘घरमा एक्लै पिङ र चंगा त उडाइन्छ तर सामूहिक रूपमा चंगा उडाएर मनोरञ्जन प्रदान गर्न महोत्सव आयोजना भइरहेको छ’, संयोजक कार्कीले भने।

आगामी दिनमा चंगा महोत्वसमा बालबालिकादेखि वृद्धवृद्धालाई सहभागी गराउने लक्ष्य रहेको समितिले जनाएको छ। बालबालिकाले एकैपटक एकैसाथ धेरै चंगा उडाउँदा सदरमुकाम खलंगा चंगामय बनेको थियो। बालबालिकाले चंगा उडाएको हेर्नेहरू आश्चर्यमा परेका थिए। चंगा महोत्सवमा सहभागी भएर चंगा उडाउन पाउँदा बालबालिकाहरू उत्साहित थिए।

प्रकाशित: १९ आश्विन २०८१ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App