६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

सीमावर्ती भारतीय बजारलाई दसैं लाग्दा चर्कियो मूल्य

चाडवाडको बेला नेपाली बजारमा हुने मूल्य वृद्धिको प्रभाव सीमावर्ती भारतीय बजारसम्म पर्ने गरेको छ। नेपाली उपभोक्ताको लर्काे लाग्ने सीमावर्ती ती बजारहरुमा यतिबेला दैनिक उपभोग्य सामानको मूल्य वृद्धिले नेपाली उपभोक्ताको डाढ सेकिएको छ।

सामानमा प्रति केजी १० देखि ५० रुपैयाँसम्म मूल्य वृद्धि भएको भारतीय व्यापारीले बताए पनि त्यसभन्दा बढी मूल्य भएको नेपाली उपभोक्ताले बताएका छन्। भारतीय व्यापारीले नेपाली बजारको मूल्यलाई आधार मानी मूल्य तोक्ने गर्छन्।

तीन/चार दिनयता सीमावर्ती भारतीय बजार रुपैडियामा मूल्य वृद्धि भएको यहाँका व्यापारीहरुले बताएका छन्। नेपालमा मूल्य वृद्धि भएकाले भारतीय सीमावर्ती बजारमा पनि केही मूल्य वृद्धि भएको यहाँका एकजना व्यापारी असरम अन्सारीले बताए। ‘पहिलो कुरा यतिबेला सामान खरिद नै महँगो परेको छ,’ उनले भने, ‘दोस्रो कुरा, नेपालमा पनि मूल्य वृद्धि हुँदा यहाँ (रुपैडिया) मा पनि बढ्यो।’

यतिबेला पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपभोक्ता सामान लिन सीमावर्ती भारतीय बजार रुपैडिया पुग्छन्। सामान अभाव हुँदा पनि मूल्य वृद्धि हुने गरेको उनी बताउँछन्।

रुपैडियामा सबैभन्दा बढी तेलको मूल्य वृद्धि भएको छ। आजभन्दा चार दिन अघि एक हजार पाँच सय रुपैयाँ पर्ने तेलको कार्टुन अहिले एक हजार नौ सय रुपैयाँसम्म पुगेको छ। तेलमा मात्र चार सय रुपैयाँ वृद्धि भएको देखिन्छ।

मसुरो प्रति केजी एक सय ४०, चना एक सय ५०, खुर्सानी एक सय २०, सिमी एक सय २० र लसुन प्रति केजी चार सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ। चिनी प्रति नम्बर तीन सय ४५, सनमुन चामल प्रति बोरा दुई हजार तीन सय ५०, स्टार चामल प्रति बोरा दुई हजार दुई सय ५० र मैदा पीठो प्रति नम्बर दुई सय ८० रुपैयाँसम्म पुगेको छ। यो मूल्यमा एकरुपता भने छैन। केही व्यापारीले उक्त मूल्यभन्दा अझ २० देखि ५० रुपैयाँसम्म बढाएर नेपाली उपभोक्तालाई सामान बिक्री गर्ने गरेका छन्।

नेपाली उपभोक्ताको ठूलो भिडभाड हुने रुपैडियामा बेलाबेला महँगी हुँदा ठगिने गरेका छन्। नेपाली अधिकारीले मूल्य अनुगमन गर्ने बाटो नहुँदा पनि भारतीय व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेका छन्। जसबाट नेपाली उपभोक्ता ठगिँदै आएका छन्।

नेपाली बजारमा यही सामान महँगो हुने भन्दै झन्झटिलो ढंगले नेपाली उपभोक्ताले भारतीय बजारमा सामान खरिद गर्दै आएका छन्। ‘यसपालि आउँदा यहाँ सामानको मूल्य बढेको रहेछ,’ नेपालगन्जबाट किनमेलका लागि रुपैडिया पुगेकी पवित्रा चौलागाईले भनिन्, ‘यसभन्दा अघि दुई हजार दुई सय ८० रुपैयाँमा लिएको चामल अहिले दुई हजार तीन सय ५० रुपैयाँ पुगेछ।’

सबैजसो दैनिक उपभोग्य सामानमा मूल्य वृद्धि भएको उनी बताउँछिन्। ‘नेपाली बजारमा पनि मूल्य वृद्धि हुँदा सामान किनी नसक्नु छ,’ उनी भन्छिन्, ‘यता पनि महँगियो। जता पनि हामी उपभोक्ता ठगिने।’

रुपैडियामा दैनिक पाँचसात हजारभन्दा बढी बढी उपभोक्ता पुग्छन्। दसैं नजिकिँदै गर्दा यो संख्या अझ तेब्बरले वृद्धि भएको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ। एकजना नेपाली उपभोक्ताले यतिबेला कम्तीमा पनि १० हजार रुपैयाँको सामान खरिद गर्छन्। नेपाली उपभोक्ताले मात्रै रुपैडियामा झन्डै करोडौं मूल्य बराबरको कारोबार गर्छन्।

प्रकाशित: १८ आश्विन २०८१ १७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App