१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बच्चा खाने चितुवा १९ दिनपछि नियन्त्रणमा

डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको भाले चितुवा। तस्बिर: नागरिक

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीबाट ढाई वर्षिया नाबालिकालाई खाएको चितुवालाई १९ दिनपछि नियन्त्रणमा लिइएको छ।

खजुरा गाउँपालिका वडा नम्बर ६ का बीरेन्द्र पुनकी ढाई वर्षिया छोरी लक्ष्मी पुन गत भदौ ३० गते बेलुका घरको आँगनबाटै एक्कासि हराएकी थिइन्। खोजी गर्दा घटनाको दुई दिनपछि नजिकै रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो।

घटनाको १९ दिनपछि शुक्रबार बिहान भाले चितुवालाई गिजरा सामुदायिक वन समूहको जङ्गलबाट नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिए।

‘चितुवाले समस्या पारेको जनगुनासो रहेको आइरहेको थियो, एउटा बच्चा पनि जङ्गलमा मृत अवस्थामा फेला परेको अवस्था थियो,’ उनले नागरिकसँग भने ‘वन्यजन्तुबाट हानी नोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा नियन्त्रणमा लिन सफल भयौँ।’ तर, बच्चालाई खाने चितुवा यही हो भन्ने एकिन भने हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताए।

‘कुन चितुवाले लगेर मार्‍यो भन्ने पुष्टि हुन सकेको छैन, बच्चाको पोष्टमार्टम रिपोर्ट पनि अझै आइपुगेको छैन, अनुसन्धानकै क्रममा छ,’ उनले भने। चितुवा नियन्त्रण गर्नका लागि कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरा समेत जडान गरेको थियो। चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीलाई ९ दिनसम्म गिजरा सामुदायिक वन क्षेत्रमै परिचालन गरिएको थियो। 

ठाउँ ठाउँमा क्यामेरा जडान गरी जङ्गलमै आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ। नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा ल्याएर राखिएको छ। चितुवाको स्वास्थ्य परीक्षण गरेर मात्र निकुञ्ज क्षेत्रमा छाड्ने तयारी छ।

स्थानीयका अनुसार त्यस क्षेत्रमा केही समय भाले र बच्चा सहितको पोथी चितुवा गाउँ आसपासका क्षेत्रमा झुल्किने गरेका थिए। गाउँ आसपासको क्षेत्रमा चितुवा देखा परिरहेको अवस्थामा आँगनबाटै बच्चा हराएपछि स्थानीय बासिन्दा थप आतंकित बन्न पुगेका थिए। 

उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षारोपण गरेर करिब तीन दशक अघि यहाँका स्थानीय बासिन्दाले वनलाई संरक्षण गरेका थिए। वन, जङ्गल बढ्दै गएपछि स्थानीयले यहाँ गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरे। अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको वासस्थान बनेको छ। राँझा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताए। ‘धेरै दिनको प्रयासपछि बल्ल तल्ल चितुवालाई नियन्त्रणमा लिन सक्यौँ,’ उनले भने।

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले सिमलघारीमा बालिकालाई आक्रमण गरी मारेको चितुवा १९ दिनपछि नियन्त्रणमा आएको बताए। चितुवा नियन्त्रणमा लिन खटिने सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत र क्षतिपूर्ति दिनुपर्ने बताए। ‘पीडित परिवारलाई राज्यले आवश्यक राहत र क्षतिपूर्ति दिनुपर्छ, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजगता अपनाउनुपर्छ,’ अध्यक्ष विकले भने। 

प्रकाशित: १८ आश्विन २०८१ १६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App