१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक विभागले सरुवा नसच्चाए आन्दोलनमै जाने कर्मचारीको चेतावनी

नेपाल निजामती कर्मचारी युनियन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिले सडक विभागले भेदभाव पूर्ण तवरले ४ सय भन्दा बढी इन्जिनियर र सब इन्जिनियरहरूको सरुवा गरेको भन्दै तत्काल सरुवा सच्चाउन माग गरेको छ।

समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरुवा नसच्चाएर आन्दोलनमा उत्रने र त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी स्वयम सडक विभागले हुने चेतावनी दिएको हो।

नियम र विधि अनुसार सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन विभागीय कार्यसमितिले सरुवा व्यवस्थापन समेतका विषयलाई लिएर  मन्त्रालयका सचिवमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको र  सडक विभागका महानिर्देशकलाई समेत जानकारी गराउँदा  पनि युनियनको सुझावलाई बेवास्ता गरिएको विज्ञप्तिमा जनाइएको छ।

सरुवाकै विषयमा  महानिर्देशकसँग पटक पटक छलफल भएको विज्ञप्तिमा जनाइएको छ।

‘गत असोज ११ र १२ गते देशको अधिकांश स्थानमा आएको अतिभारी र भारी वर्षाको कारण सृजित विपदबाट सिङ्गो देश विकराल अवस्थामा हुँदा पनि सडक विभागले अत्यन्तै गैर जिम्मेवार, भेदभावपूर्ण एवं अनियमित तवर वाट सरुवा गरेको छ’ विज्ञप्तिमा भनिएको छ।

यस सरुवामा राजनीतिक गन्ध आउन गरी बदनियत राखिएको आरोप  विभागीय कार्यसमितिले लगाएको छ।  विभागीय कार्यसमितिका एक पदाधिकारीका अनुसार यस पटकको सरुवामा विशेष गरी कर्णाली र सुदूर पश्चिम क्षेत्रमा ठूलो संख्यामा प्राविधिक जनसङ्ख्या खाली राखेर सुगम ठाउँमा सरुवा गरिएको छ।

‘जुम्लामा सब इन्जिनियरहरूको १२ जनाको दरबन्दी छ। तर  त्यहाँ कार्यरत ७जनलाई सुगम क्षेत्रमा सरुवा गरिएको छ। अहिले त्यहाँ १ जना मात्र राखिएको छ’ती कर्मचारीले भने, ‘जुम्ला डिभिजनले डोल्पा,मुगु, कालिकोट जस्ता अति दुर्गम जिल्लाको सडक हेर्छ तर त्यहाँ एक जना मात्र सब इन्जिनियर छन्। यस्तै स्थिति कर्णाली र सुदूर पश्चिमका अन्य क्षेत्रमा पनि छ।’

प्रकाशित: १८ आश्विन २०८१ १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App