इटहरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भोक्राहामा विहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
बिहान ९.१५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको बा १७ च १०९७ नम्बरको जीप अनियन्त्रित भएर पल्टिदा सप्तरी रायपुर वडा नं. १ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृतक रुवीकी १४ वर्षीया छोरी अंसु र दुई वर्षीय छोरा कुलदीप घाइते भएका छन्। जीप पल्टिदा घाइते हुने अन्यमा धनुषा भरतपुर वडा नं. २ घर भएका चालक ३० वर्षीय बुद्दलाल विक, तनहुँ डुम्रे वडा नं. १ का २२ वर्षीय अशोक अधिकारी र सप्तरी रायपुर वडा नं. १ कै ३५ वर्षीय पवनकुमार यादव छन् । घाइते सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ।
प्रकाशित: २२ चैत्र २०७४ ११:५१ बिहीबार