४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

फाइल तस्बिर

दुर्गापक्षअन्तर्गत बिहीबार पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ।

थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो। झुमरा नाचमा दसैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले बताए।

थारू जातिको पौराणिक भाषा, वेशभूषा, रहनसहन, संस्कार, कला तथा सांस्कृतिक परम्परा अनुसार सखिया र झुमरा नाच्ने गरिएको भन्दै यसको आफ्नै मौलिक पहिचार र महत्व रहेको उनले उल्लेख गरे।

आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पछि परे पनि सांस्कृतिक हिसाबले थारू जाति अगाडि रहेका चौधरीको भनाइ छ। थारू जातिले माघे सङ्क्रान्तिलाई सबैभन्दा बढी महत्वका साथ मनाउने गर्दछन्। साथै अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन्।

घोराही–१० की गरिमा चौधरी दसैँको तयारीमा जुट्ेकी छिन्। उनले दसैँलाई चाहिने सबै सामग्रीको बन्दोबस्ती गरिसकेको बताइन्। दाउरा, पात खुटेर दुना, टपरी बनाउनुका साथै धान कुटपिस गरेर राखिएको उनको भनाइ छ।

दसैँमा गाउँघरमा बाहिर गएका सबै आउने र भेटघाट हुने भएकाले रमाइलो हुने बताउँदै गरिमाले दिनभर घरको काम गर्ने र साँझको समयमा ‘सख्या’ नाच नाच्ने गरिएको जानकारी दिइन्।

घोराही–६ का भीमबहादुरले दसैँमा पाठपूजाका साथै ‘सख्या’ नाचको ठूलो महत्व रहेको बताए। 'थारू जातिका युवतीले महाभारतमा आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्ने गर्दछन्', उनले भने, 'युवाको समूहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन्। यो नाच कृष्ण जन्माष्टमीको रातदेखि नाच्ने गरिन्छ।'

महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाच र आफ्नो घरको कुलदेवतालाई पशुपन्छी बलि दिने, ढिक्री चढाउने, बाबरी फूल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेडा बनाएर देउताको अगाडि बलि दिनेजस्ता धार्मिक काम पनि दसँैमा गरिने भीमबहादुरले जानकारी दिए।

थारू समुदायमा नवमी धुमधामका साथ मनाइन्छ। सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने प्रचलन रहेको भीमबहादुरले बताए। 'थारूहरुले नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा ९कुपिण्डोबाट बनाइएको भेडा० र भालेको बलि दिने र त्यसको पित्तर (पिण्ड) दिने चलन छ। त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन्', उनले भने।

नवमीका दिन थारू युवायुवती रातभर सखिया र झुमरा नाच नाच्ने परम्परा रहेको घोराही–१ का विष्णु चौधरीले बताए। 'परम्परागत चाड दसैँ अरु समुदायले भन्दा थारू समुदायको फरक किसिमले मनाउने गर्दछन् । यो नाचले दसैँको रौनकलाई अझ बढाउने गर्दछ । प्रायः युवकले मादल बजाउने र  युवती नाच्ने प्रचलन छ', उनले भने।

रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचले दसैँको गरिमा र महत्व बढाएको थारू समुदायका अगुवा बताउँछन्। घटस्थापनाका दिनदेखि थारू बस्तीमा रमाइलो सुरु हुन्छ। थारू बस्तीको नाचगान हेर्न गाउँघरबाट सबै जम्मा हुने भएकाले यसले सामूहिक एकतालाई पनि प्रतिनिधित्व गर्ने विष्णुको भनाइ छ।  

बस्तीमा मादल र मञ्जिराको आवाज बज्न थाल्यो  

कृष्ण जन्माष्टमीदेखि सुरु हुने सखिया नाचले दसैँ आउन थालेको सङ्केत गर्दछ। अहिले गाउँबस्तीमा मादल र मञ्जिराको सुमधुर आवाजले गुञ्जायमान भएको छ। दसैँ भित्रिएसँगै यहाँका थारू बस्तीमा सखिया नाचको रौनकता छाएको छ। साँझ पर्ने वित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा दसैँ आएसँगै अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ।

शिवपार्वती, कृष्णलगायत आफ्ना अरू देवीदेवतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने प्रचलन गरहेको स्थानीय विष्णु चौधरीले बताए। करिब १५ देखि २० जनाको समूहमा सखिया नाच्ने युवती फरिया, चोलिया, बुट्टेदार लेहङ्गाका साथै थारू कला र संस्कृति झल्कने गरगहनामा सजिएका हुन्छन्।

खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन्। उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने भन्ने हुन्छ। खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कात्तिकसम्मको करिब दुई महिना निकै मनोरञ्जन गर्ने गरिन्छ।रञ्जिता अधिकारी/रासस

प्रकाशित: १७ आश्विन २०८१ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App