१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीका उत्पादनको बजारीकरणमा महिला उद्यमी महासंघले सघाउने

कर्णाली प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा महिला उद्यमी महासंघले सघाउने भएको छ।

लघु औद्योगिक ग्राम सुर्खेतका महिला उद्यमीहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष शोभा ज्ञवालीले कर्णालीका महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुको बजारीकरणमा महासंघले सघाउने बताइन्।  

‘कर्णालीका महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थमार्फत बनाएका सामाग्रीहरु र यहाँका खाद्य उत्पादनहरुको बजारीकरणमा महासंघले सघाउँछ,’ उनले भनिन्, ‘उत्पादनमा गुणस्तरीयता, प्याकेजिङ र ब्राण्डिङमा तपाईंहरुले ध्यान दिन आवश्यक छ।’

उनले कर्णालीको रत्नपत्थर, अर्ग्यानिक खाद्यवस्तु, बनजन्य उद्योगबाट उत्पादित बस्तुहरुको माग उच्च रहेको बताउँदै प्याकेजिङ र गुणस्तरमा ध्यान दिनुपर्ने बताइन्।

महासंघका अध्यक्ष ज्ञवालीले महासंघले आयोजना गर्ने प्रदर्शनीमा कर्णालीका महिला उद्यमीहरूका उत्पादनलाई प्राथमिकता दिने जानकारी दिइन्। उनले लघु औद्योगिक ग्राममा ६६ प्रतिशत व्यवसायी महिलाहरुले व्यवसाय गरिरहेकोमा खुसी व्यक्त गरिन्।

‘यहाँका जम्मा व्यवसायी मध्ये ६६ प्रतिशत महिलाहरू रहेको सुन्दा खुसी लागेको छ,’ उनले भनिन्, ‘महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न र उनीहरुको व्यवसायलाई दिगो बनाउन विशेष गरी स्थानीय र प्रदेश सरकारको साथ र सहयोग आवश्यक रहन्छ।’

अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोड्ने लक्ष्य अनुसार कर्णालीमा सरोकारवाला निकायहरुसँग छलफल आयोजना गरिएको बताइन्। उनले प्रदेश सरकार र स्थानीय तहले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेकोप्रति खुसी व्यक्त गरिन्।

लघु औद्योगिक ग्रामका अध्यक्ष उदिराम डाँगीले महिलाहरुले सञ्चालन गरेका उद्योगहरु फष्टाउँदै गएको बताए। उनले सटरहरु भाडामा दिँदा महिला, दलित र जनजातिलाई प्राथमिकतामा राख्ने गरिएको बताए। ‘अहिले सञ्चालनमा रहेका उद्योगहरु मध्ये ६६ प्रतिशत महिलाहरुले सञ्चालन गरेका छन्,’ उनले भने, ‘सटरहरु भाडामा दिँदा पनि महिलाहरुलाई प्राथमिकतामा राख्ने गरेका छौं।’

अध्यक्ष डाँगीले प्रदेश सरकारले महिला उद्यमी प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै ती कार्यक्रमहरुका बारेमा महिला उद्यमीहरुलाई जानकारी हुनुपर्ने बताए। ‘सरकारले ल्याएका कार्यक्रमहरुका बारेमा जानकारी नहुँदा धेरै महिला उद्यमीहरु अवसरबाट वञ्चित भएको अवस्था छ,’ उनले भने, ‘महिला उद्यमसँग सम्बन्धित संघ–संस्थाहरुले यस्ता कार्यक्रमका बारेमा जानकारी गराइदिँदा उद्यमी महिलाहरुलाई व्यवसायमा सहज हुन्थ्यो।’

कार्यक्रममा सहभागी महिलाहरुले व्यवसाय अनुसारको प्रविधि र जनशक्तिको अभाव रहेको बताए। उनीहरुले प्रदेश र स्थानीय सरकारले दक्ष जनशक्ति उत्पादन र प्रविधिमा सहयोग गर्न सकेमा आत्मनिर्भर कर्णाली बनाउन आफूहरू सहयोगी हुने बताएका थिए।

‘व्यवसाय गर्नका लागि प्रविधि र जनशक्तिको अभाव छ,’ उद्यमी कमला कुमारी चौलागाईँले भनिन्, ‘यसमा प्रदेश सरकार र स्थानीय तहले सहयोग गरिदिए अहिले भन्दा धेरैलाई रोजगारी दिन सक्ने थियौं।’

उनले तीन तहका सरकार र त्यहाँ कार्यरत कर्मचारीले स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने सामाग्रीहरु खरिद गरिदिए व्यवसायमा सघाउ पुग्ने बताइन्।

प्रकाशित: १६ आश्विन २०८१ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App