६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

मानवीय क्षतिका विषयमा छानबिन गर्न माग

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्षकै सांसदले शुक्रबार र शनिबार आएको बाढीबाट व्यापक मानवीय क्षति हुनुले सरकार पूर्वतयारीमा चुकेको, उद्धार र राहत चित्तबुझ्दो नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।

मंगलबार देशभर बाढीपहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार र राहतका सम्बन्धमा समितिले गृहमन्त्री र यातायात व्यवसायीलाई बोलाएर छलफल गरेको थियो। समितिको बैठकमा सत्तापक्षका सांसदले नै सरकारको पूर्वतयारी नभएको, घटना भइसकेपछि उद्धारका विषयमा गम्भीर नभएको र पीडितलाई राहत दिने विषयमा युद्धस्तरमा काम गर्न नसकेको आरोप लगाएका थिए।

कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले शुक्रबारदेखि रात्रीबस सञ्चालन नगर्ने भनिए पनि रात्री बस सञ्चालन गरिएको पाइएकाले यसबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। उनले शनिबार नख्खु खोलामा फसेर गुहार मागिरहेका एक बालकसहित चार व्यक्तिको सरकरले उद्धार गर्न नसक्दा नदीमा बगेको विषयमा पनि छानबिन गर्नुपर्ने बताए। नदीमा बगेका पाँचजनामध्ये बालकसहित तीनजनाको भने स्थानीयले उद्धार गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले विपद्मा सरकारको उपस्थिति धेरै कमजोर रहेको बताए। आफू गृहमन्त्री हुँदा गरिएको पूर्वतयारीको योजनाबमोजिम सरकारले ध्यान दिएको भए यति धेरै मानवीय क्षति नहुने उनको दाबी थियो।

कांग्रेस सांसद सरिता प्रसाईंले विपद् व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गरिन्। ‘व्यवस्थापनमा सरकार चुक्यो। किन राजमार्गमा गाडी चलाउन दिएको हो, बाटोमा अलपत्र परेका नागरिकलाई कसरी उद्धार गर्ने सरकारले सोचोस्’, उनले भनिन्। उनले अमेरिकाबाट प्रधानमन्त्री फर्कंदा प्रधानमन्त्रीले जिम्मेवार भएर बोल्नुपर्नेमा उनले जोड दिइन्।

समितिमा उपस्थित गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताए। असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको उनले बताए।

सरकारले चार हजार २ सय २२ जनाको उद्धार गरेको उनले बताए। सरकार अहिले राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशील भइरहेको छ, विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ, बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ’, उनले भने। गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भए पनि सम्भव नभएको प्रस्ट्याए। उनले भने, ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन। सरकारले हेर्नै सकेन भन्ने होइन। हामीले प्रयत्न गरेको हो। प्रतिकुल मौसमका कारणले सम्भव भएन।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मौसम विभागले गरेको पूर्वानुमानअनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन रोकलगायतका निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।

विपद्को बेलामा तीन हजार नौ सय नेपाली सेना, १२ हजार सशस्त्र प्रहरी, ७४ हजार नेपाल प्रहरी परिचालन गरी खोज तथा उद्धार, राहत, घाइतेलाई उद्धार, बन्द भएका राजमार्ग खुलाउने कुरालाई प्राथमिकता दिने काम भएको मन्त्री लेखकले बताए। नेपाली सेनाले हाल राजमार्गमा अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने काम गरिरहेको उनले बताए। बाढीपहिरोबाट मृतकका परिवारलाई दुई लाख दिने, बेपत्ता भएको १० दिन बितेको छ भने मृतक सरह दुई लाख दिने निर्णय भएको जानकारी दिए। 

प्रकाशित: १६ आश्विन २०८१ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App