१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीले पुल बगाएसँगै १० वर्षअघिकै अवस्थामा पुग्यो खोटाङ

बाढीले भत्काएको फोक्सिन्टारको पक्की पुल र भडारेघाटस्थित झोलुङ्गे पुल। तस्बिरः महेश्वर 

केही दिनअघिको अविरल वर्षाले खोटाङको जनजीवन एक दशकअघिकै अवस्थामा पु¥याई दिएको छ। वर्षाले दर्जनौँ सडक, एउटा पक्की र आधा दर्जन झोलुङ्गे पुलहरू बगाएका कारण खोटाङ १० वर्षअघिकै अवस्थामा पुगेको हो।

खोटाङबासीलाई राजधानी काठमाडौँदेखि तराईका सहर बजार जान उदयपुर, सुनसरी र भोजपुर पुग्नुपर्ने भौगोलिक बाध्यता छ। खोटाङलाई सोझो यातायातमार्फत तराई हुँदै काठमाडौँ, धरान, विराटनगर, जनकपुरलगायत विभिन्न सहर बजार जोड्ने उदयपुरसँग  सीमा जोडिएको फोक्सिन्टारस्थित सुन नदीको पक्की मोटरेबल पुल बगाएसँगै जिल्लाबासी प्राकृतिक नाकाबन्दीमा परेका छन्।

गाईघाट दिक्तेल सगरमाथा लोकमार्गमा अन्तर्गत फोक्सिन्टारको पुल भएर गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्म सोझो यातायातले जोडेको थियो। सो पुल सञ्चालन भएपछि खोटाङको ९० प्रतिशत भूभागबासी लाभान्वित थिए। निर्माण सुरु गरेको १३ वर्ष लामो अवधिमा ३ वर्षअघि अर्थात ०७८ कात्तिक पहिलो सातादेखि मात्र सो पुल सञ्चालनमा आएको थियो। आर्क डिजाइनको पुल शनिबार दिउँसोको बाढीले जरैदेखि उखलेर बगाएसँगै खोटाङ प्राकृतिक नाकाबन्दीमा परेको हो।

झण्डै डेढ दशकअघि सर्भे भएर निर्माण सुरु भएको उदयपुरको रौतामाई ५ र खोटेहाङ ३ बिच फोक्सिन्टार पुल बन्नुअघि एक दशक बेलिब्रीजमार्फत यातायातका साथ आउजाउ गर्थे। हिउँद याममा ६ महिना बेलिब्रीज जडान गरेर गाडी चल्ने गर्थ्यो भने बाँकी ६ महिना बाढीले बगाउने खतराले बेलिब्रीज झिक्नुपर्दा गाईघाटतर्फका सवारी वारि र दिक्तेलतर्फबाट आएका पारि नै राखेर फोक्सिन्टारभन्दा झण्डै ३ किलोमिटर माथि रसुवाघाटस्थित झोलुङ्गे पुल भएर यात्रु वारपार गर्ने गरेका थिए। अब पुल बगाएपछि उही पुरानो तरिका अपनाउनु पर्ने बाध्यता आइपरेको छ।

अविरल वर्षाले फोक्सिन्टारको पक्की पुल मात्र बगाएन, सुन नदीकै ४ वटा झोलुङ्गे पुलहरू पनि बगाएर जिल्लाबासीलाई आउजाउमा थप असहज पारिदिएको छ।

शनिबारकै बाढीले फोक्सिन्टारभन्दा ४ किलोमिटर माथि उदयपुरतर्फ लिमचुङबुङ गाउँपालिका ५ जाँते र खोटाङतर्फ दिप्रुङचुईचुम्मा जोड्ने भँडारेघाटस्थित झोलुङ्गे पुल भत्काएपछि आउजाउ अवरुद्ध भएको छ। सो पुल भत्केपछि मोटरसाइकल तथा पैदल हिँडेर उदयपुर र खोटाङ आउजाउ गर्ने यात्रा अनिश्चित कालका लागि रोकिएको जाँतेका वडाध्यक्ष कविचन्द्र राईले बताए।

त्यसैगरी लिमचुङबुङकै २ नं. वडा तामलिछा र हलेसी तुवाचुङ नगर जोड्ने भाडबेसी तथा लिमचुङबुङ १ बाँसबोटे र हलेसी जोड्ने नैकुघाटस्थित सुन नदीकै अरु झोलुङ्गे पुलहरू पनि बाढीले भत्काएको छ। नैकुघाटको पुल बिग्रँदा बासँबोटेबाट सो पुल तरेर खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी जाने रुट बन्द हुन पुगेको वडाध्यक्ष जनदिप थापा मगरले बताए।

फोक्सिन्टारदेखि झण्डै ३ किलोमिटर तल त्रियुगा नगर १४ र खोटाङको बाराहापोखरी गाउँपालिका १ बिचको धाब्लाङको अर्को झोलुङ्गे पुल पनि कामै नलाग्ने गरी भत्केको छ। बाढीको प्रहारले पुलको एकापटिको लट्ठासहित दुवैपटिको तारबार भत्केपछि वारपार गर्न उच्च जोखिमयुक्त भएको स्थानीय मुकेश राईले बताए।

त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरले धाब्लाङको पुल खोटाङको दक्षिण पूर्वी भेगका धेरै बासिन्दालाई गाईघाट हुँदै तराई भेगबाट आउजाउ गर्न तथा उपभोग्य सामग्री ढुवानी गर्न महत्त्वपूर्ण रहेको बताए। दैनिक बाक्लो सङ्ख्यामा आउजाउ हुने भएकाले धाब्लाङको दुवैतर्फ राम्रो चल्दै गरेको व्यापारिक गतिविधिसमेत ठप्प भएको मगरले बताए।

त्यसैगरी उदयपुरको चौदण्डीगढी नगर १ र बाराहापोखरी ५ जोड्ने बंशीलाघाटस्थित अर्को झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धाँब्लाङको भन्दा केही होचो वंशीलाघाटको पुलसँगै बजार पूर्णरुपमा डुबान हुँदा लाखौँको आर्थिक क्षतिसमेत भएको स्थानीय सन्तोष राईले बताए। चौदण्डीगढी १ का वडाध्यक्ष सीताराम राईका अनुसार बंशीलाघाटमा डुबान र बाढीले २१ वटा पसलमा क्षति पुगेको छ।

यति मात्र होइन, बाढीले निर्माणाधीन पक्की पुलको निर्माण सामग्री पनि बगाएर क्षति गरेको छ। वंशीलाघाटमा निर्माणाधीन पक्की पुलका लागि राखिएका रड, जेनेरेटर, कामदार बस्न बनाइएका टहरा सबै बगाएर ध्वस्त पारेको छ। वडाध्यक्ष राईका अनुसार वंशीलाघाटकोजस्तै चौदण्डीगढी १ कै रानीटारस्थित उदयपुर र भोजपुर जोड्ने निर्माणाधीन अर्को पक्की पुलको निर्माण सामग्री पनि बाढीले बगाएको छ। रानीटारमा झण्डै डेढ सय घरधुरी बजार पनि डुबानमा पारेर क्षति गरेको वडाध्यक्ष राईले बताएका छन्। 

वंशीलाघाट, रानीटार र धाब्लाङमा पक्की पुल निर्माण कार्य ७ वर्षअघि एकै दिन सुरु भएको हो। तत्कालीन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले ०७४ भदौ ५ गते हेलिकोप्टरमा आएर एकै दिन शिलान्यास गरेका तीन वटै पुलहरू अहिलेसम्म बन्न अत्तोपत्तो छैन। धाब्लाङको पुल पप्पु/रसुवा कन्स्ट्रक्सनले बनाउने जिम्मा पाएकोमा डिजाइन बदल्नु परेको भन्दै काम छाडेर भागेपछि निर्माण कार्य अलपत्र परेको थियो।

सङ्घीय सांसद रामकुमार राई (पासाङ), हाल प्रदेश मन्त्रीसमेत रहेका सांसदहरु भूपेन्द्र राई र पाँचकर्ण राई तथा स्थानीय जनप्रतिनिधिहरूको व्यापक दबाबपछि एक वर्षअघि पुल निर्माण कार्य सुचारु पनि अझै कामले गति लिन सकिरहेको छैन। उता वंशीलाघाट र रानीटारका पुलहरू भने दुवैतर्फ पिल्लर (पाईल फाउण्डेसन)सम्म उठाउने काम भइरहेकै बेला बाढीको वितण्डाले क्षति बेहोर्नु परेको हो।

संघीय सांसद पासाङले बाढीले भत्काएको फोक्सिन्टारको पक्की, धाब्वाङ, वंशीलाघाट, भँडारे, भाडबेसी र नैकुघाटका झोलुङ्गे पुलहरू तत्काल पुन निर्माण र मर्मतका लागि सरकारसँग माग गरेका छन्। विपतका बेला जिल्लामै रहेका सांसद पासाङले यो अविरल वर्षाले खोटाङबासीलाई १० वर्षअघिकै नियति भोग्न बाध्य बनाएकोमा दुःख व्यक्त गरेका छन्।

‘विडम्बना, यो अविरल वर्षाले हामी खोटाङबासीलाई फेरि १० वर्षअघिकै अवस्थामा पु¥यायो’ सांसद राईले नागरिकन्युजसँग भने ‘यस्तो विपतको घडीमा सम्पूर्ण पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। साथै बिग्रे भत्केका सबै संरचनाहरू यथाशीघ्र पुन निर्माण गर्न माग गर्दछु।’

प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई पनि धाब्लाङ, वंशीलाघाट र रानीटार पुगेर घटनास्थलको अनुगमन निरीक्षण गरेर फर्केको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। बाढीले बगाएको फोक्सिन्टार पक्की पुलसम्म जान चाहे पनि क्षतिग्रस्त अवस्थामा सडक बिग्रेकाले मन्त्री राई आवश्यक जानकारी लिएर प्रदेश मन्त्रालय फर्केको गाईघाट दिक्तेल सडक योजना प्रमुख (डिई) पशुपतिनाथ ज्ञवालीले बताए।

उता खोटाङका प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्कीले सबै भत्केका पुलहरूलगायत संरचनाहरू पुन निर्माण तथा मर्मतका लागि सरकारसँग माग गरेको बताए। उनका अनुसार जिल्ला भरी सडक, पुल, नाला, कल्भर्ट, नहर, कुलोलगायत संरचनाहरू बाढीले भत्काउँदा ९९ करोड बराबरको क्षति भएको मूल्याङ्कन जिल्ला विपत् व्यवस्थापन समितिले गरेको छ। क्षतिग्रस्त संरचनाहरू पुन निर्माण गर्ने बारेमा भने अहिलेसम्म सरकारबाट कुनै जवाफ नआएको सिडिओ कार्कीले बताए। 

प्रकाशित: १५ आश्विन २०८१ १८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App