१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मधेसमा बाढीले ६ जनाको मृत्यु, ४८८ विस्थापित

मधेस प्रदेशमा प्राकृतिक प्रकोपका कारण ६ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता छन्। महोत्तरी, रौतहट, सप्तरी, र सर्लाहीका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुगेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।

महोत्तरीमा गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङको बाढीका कारण मृत्यु भएको हो।

यसैगरी, सप्तरीको बलान बिहुल गाउँपालिका–४ का आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया, पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह, र सर्लाहीको बलरा नगरपालिका–३ का १२ वर्षीय अंकित ठाकुरको पनि बाढीले ज्यान लियो।

सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो र पर्सामा एक बालिका बाढीले बगाएपछि अझै बेपत्ता छन्। मधेसका आठ जिल्लामा बाढीले ५६ लाख बराबरको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। यसैगरी प्रदेशमा नौ पशुचौपाया पनि मरेका छन्।

बाढीका कारण यहाँ ९६ परिवारका ४८८ जना विस्थापित भएका छन्। बाढीमा फसेका ३५ जनालाई सफलतापूर्वक उद्धार गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहोराले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०८१ १९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App