१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

वर्षा थामियो, थामिएन पीडा

ग्वार्को चोकनजिकै किराना पसलभित्र बाढी पसेपछि थुप्रिएको लेदो। तस्बिर: उपेन्द्र/ नागरिक

मौसममा आइतबार सुधार आएसँगै दुई दिनदेखिको वर्षा थामिए पनि त्यसले दिएको पीडा थामिएको छैन। देशभरि बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या डेढ सय हाराहारी पुगेको छ। त्योभन्दा निकै गुना सर्वसाधारणको ‘मन’ मरेको छ। उनीहरूका लत्ताकपडा, कापीकिताब, खानेकुरा, नगदसँग सपना बाढी र वर्षाले बगाएको छ। विपत्मा सरकारको साथ नपाएर आत्तिएका ‘मन’हरू आइतबारको घाममा पनि निथ्रुक्क भिजेकै अवस्थामा भेटिए।

‘मेरो किराना पसलभित्रबाटै खोला छिरेर सबै सामान बगाएर लग्यो,’ ललितपुर ग्वार्को चोकनजिकै किराना पसल गर्दै आएका प्रकाश श्रेष्ठले भने, ‘खाद्यान्न, फ्रिज, ग्यास, सवारीसाधनलगायत बाढीले बगायाे।’ 

लामो समयदेखि किसाना व्यवसाय गरेर आर्थिक उपार्जन गर्दै आएका प्रकाशको जीवनमा एकैदिनको बाढीले अँध्यारो ल्याइदिएको छ। लगभग ४० लाख रूपैयाँबराबरको सामान नोक्सान भएको उनले सुनाए। ‘गल्ती कसको, के भन्ने ? मेरो कर्म नै यस्तै,’ कर्मनासा खोलाले दिएको पीडा सुनाउँदै उनले भने, ‘हिम्मत नहारी फेरि अगाडि बढ्छु।’

उनले यसो भन्दै गर्दा नजिकैको तरकारी बजारका राजकुमार घिमिरे पसलको हिलो सफा गर्दै थिए। बाढीले हरियो तरकारी बगाएको बताउँदै उनले सरकारले नदी किनारका सडक व्यवस्थापनमा ध्यान दिएको भए यस्तो समस्या भोग्नु नपर्ने सुनाए। ‘मेरो त करिब १० हजार रूपैयाँ बराबरको तरकारी बाढीले बगायो,’ उनले भने, ‘यही बजारमा ५–७ लाख रूपैयाँको तरकारी गुमाएका पनि छन्।’

हरियो तरकारीभन्दा लसुन, प्याज, आलुको गोदाम राख्नेको बढी नोक्सानी भएको उनले सुनाए।

यी दुई पसलमा मात्र हैन, ग्वार्कोचोकदेखि टीकाथलीसम्मका अधिकांश घरका तल्लो तलामा बाढी पसेको छ। लत्ताकपडा, खानेकुरा र ओछ्यान सबै भिजेका छन्। व्यापारीको लगानी भिजेको छ। कतिपयले त आइतबारको घाममा पैसा सुकाएको पनि देखियो। ‘बाढी यति धेरै आयो कि सुरक्षितसँग राखेको पैसासमेत भिज्यो, ‘मनिता सापकोटाले भनिन्, ‘अब झरी र बाढीले भिजाएको मन ओभाएर अगाडि बढ्नुबाहेक उपाय छैन।’

समस्या यहाँ मात्र हैन। दुई दिनको वर्षाले उपत्यकाका अन्य स्थानसहित देशैभर बाढीपहिरो निम्तायो। उपत्यकाकमा बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलामा ठुलो बाढी आयो। बाढीले नदीकिनाका बस्ती, पसल, होटेल, विद्यालय नराम्ररी प्रभावित भए।

बल्खु क्षेत्रको अवस्था पनि उस्तै छ। नख्खु खोलाले एकै परिवारका चार जनालाई बगाएको र एक हराइरहेको खबरले आइतबार पनि बल्खु क्षेत्रका सर्वसाधारणको मन दुखेको पाइयो। ‘हामीलाई त्यही एउटा घटनाले हल्लाइरहेको छ,’ नदीकिनारको घरमा पसेको लेदो सफा गर्दै विमला केसीले भनिन्, ‘जति बेला पनि त्यही घटना मनमा आइरहन्छ ।’

केही परे सरकारले सहयोग गर्ला कि भन्ने आशा पनि नख्खु खोलामै बगेर गएको उनले सुनाइन्। सहयोगको याचना गर्दागर्दै नख्खु खोलाको बाढीमा बगेका एकै परिवारका चारमध्ये तीनजनाको भने उद्धार भएको थियो।

बल्खुमा भेटिएकी विमलाले जस्तै धारणा भक्तपुरको राधेराधेका लालकृष्ण अवालको पनि छ। उनले पनि नख्खु खोलामा बगेको परिवारको बारेमा चिन्ता व्यक्त गरे। ‘सरकार केही गर्न सक्दैन भन्छ, सर्वसाधारणले मान्छे बचाउँछन्,’ उनले भने, ‘के हाम्रो सरकार सारै कमजोर भएको हो र ?’

बाढीपहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या आइतबार अपराह्नसम्म डेढ सय हाराहारीमा पुगेको छ। त्यस्ते बेपत्ता र घाइतेको संख्या पनि बढ्दो छ। अवरुद्ध राजमार्ग, सडक खुलाउन सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। तर सर्वसाधारण सरकारेका भनाइप्रति विश्वस्त हुन सकेका छैनन्। ‘दसैं मनाउन गाउँ जान नसकिएला जस्तो छ,’ बल्खु खोला किनारमा होटेल चलाउँदै आएकी ओखलढुंगाकी नम्रता धिमालले भनिन्, ‘घर जाने पैसा पनि छैन, बाटो पनि छैन ।’ बाढी पसरे होटेलका सबै सामान बिगारिदिएकाले दसैं खल्लो हुने उनले सुनाइन्।

बाढीले आर्थिक क्षेत्रमा कति नोक्सान पुर्‍याएको छ अझै यकिन भएको छैन। मृतक, घाइते र बेपत्ताको संख्या बढ्दो छ। वर्षा थामिएसँगै क्षतिका विवरण सार्वजनिक भइरहेका छन्। यकिन विवरण आइनसके पनि अर्बौं रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठुलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ विषम परिस्थितिको सामना गर्ने बताएका छन्। सर्वसाधारणलाई यो कुराको पनि भर छैन। ‘राज्यले दुःख व्यक्त गर्ने मात्रै हो,’ नवराज भुर्तेल भन्छन्, ‘सबै कुरा त हामीले नै भोग्नुपर्छ ।’ उनले अगाडि थपे, ‘जे नहुनु भइहाल्यो, नोक्सान भएकाले केही राहत दिए राम्रो हुन्थ्यो। नत्र भगवान् भरोसा।’

प्रकाशित: १४ आश्विन २०८१ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App