९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मृतकका आफन्त भन्छन्ः समय घर्किंदै जाँदा पीडा घटेन

जिम्मेवार निकाय र जाँचबुझ आयोगमाथि प्रश्नैप्रश्न

१८ जनाको ज्यान जानेगरी साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाका मृतक परिवारले सरोकारवाला निकायदेखि जाँचबुझ आयोगमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् ।

दुर्घटनाको दुई महिना पुगेपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मृतकका आफन्तले यस्तो बताएका हुन् । मृतक परिवारका तर्फबाट सप्तरी घर भई हाल बालकोट बस्ने प्रकाश खतिवडाले पत्रकार सम्मेलनमा एक प्रेस नोट नै सार्वजनिक गरेका छन् । खतिवडाले परिवारका तीन सदस्य गुमाएका छन् ।  

दुर्घटनामा खतिवडाकी छोरी प्रिजा खतिवडा, ज्वाइँ मनुराज शर्मा र नाति अधिराज शर्माको मृत्यु भएको थियो । मनुराज सौर्यकै प्राबिधिक कर्मचारी थिए भने छोरी प्रिजा ऊर्जा मन्त्रालयकी कम्प्युटर अपरेटर थिइन् । उनलाई सौर्यले आफ्नो पार्ट टाइम कर्मचारी भनेर दाबी गर्दैआएको छ ।  

‘समय घर्कंदै जाँदा घटना विर्संदै जाने, घटना बिर्सदै गर्दा पीडा पनि कम हुने प्रकृतिको सास्वत नियम हो । तर सोर्य एयरलाईन्स जाहाज दुर्घटनाको सन्दर्भमा यसको ठिक उल्टो अवस्था छ,’ खतिवडाले भने्, ‘घटना जती पुरानो भयो त्यति पीडा थपिदै गएको अवस्था छ ।’  

यसको मुख्य जिम्मेवार सौर्य एयरलायन्सको व्यवस्थापन, सरकारद्वारा गठन गरिएको दुर्घटना जाँचबुझ आयोग र जिम्मेवार सरोकारवाला निकाय रहेको  खतिवडाले बताए ।  

खतिवडाले सार्वजनिक गरेको प्रेस नोटमा दुर्घटनाको मुख्य दोषि सौर्यको व्यवस्थापन  रहेको दाबी गरेका छन् । ‘मर्मत गर्न लगिएको जहाजमा नियम विपरीतका मान्छे बोकेर मृत्युको मुखमा धकेलिएको छ,’ नोटमा लेखिएको छ ।

प्रेस नोटमा ‘३४ दिन देखि ग्राउण्डेड २१ वर्ष पुरानो जाहाज मर्मत नै नगरी कसरी उडान भर्न योग्य भयो रु यसको दोषि को रु’ प्रश्न उठाइएको छ ।

यस्तै उडानलाई ‘फेरी उडान’ भनिएको, अनुसन्धान प्रतिवेदनमा नै मर्मतसम्भार गर्ने उद्देश्यले उडाइएको उल्लेख भएको भन्दै ‘फेरी उडान’ गर्दा पाँच जना भन्दा बढि बोक्न नपाइने स्पष्ट नियम रहेकामा ‘नियम विपरित असम्बन्धित यात्रु किन बोकियो रु यस्तो गम्भीर विषयमा प्रतिवेदन किन मौन छ रु’ अर्को प्रश्न प्रेस नोटमा छ ।  

गैह्र सैनिक हवाई उडान नियमावली २०५२ को नियम १५ बमोजिम उडान गर्नुअघि उडानको हरेक कुरामा प्रमुख चालक सन्तुष्ट हुनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै यो जहाजमा तौल नमिलेको अवस्थामा प्रमुख चालकले कुन दबाब र प्रलोभनमा उडान गरे रु भन्ने प्रश्न विषयमा प्रतिवेदनको मौनतामा पनि प्रेस नोटमा प्रश्न उठाइएको छ । 

लाशको व्यापार गरेको आरोप  

खतिवडाले बिमावापतको करोडौं रकम प्रभावित हुने भएपछि उर्जामन्त्रालयमा १२ वर्षदेखि कार्यरत आफ्नी छोरी प्रिजाको किर्ते हस्ताक्षर गरेर किर्ते कागज तयार पारेको पनि आरोप लगाएका छन् । ‘डुब्नै लागेको कम्पनीको व्यवस्थापन पक्ष दुर्घटनाको मौका छोपी लासको व्यापार गर्न खोज्दै छ,’ प्रेस नोटमा लेखिएको छ,‘यस्तो गम्भिर अपराध हामीलाई किमार्थ स्वीकार्य छैन ।’  

यस्तो अपराध गर्नेलाई कारबाहीका लागि माग गरिएको छ । सरोकारवाला कारबाहीका लागि तयार नभए न्यायका लागि अदालत गुहार्नेसम्मको चेतावनी दिइएको छ ।

जाँचबुझ आयोगलाई प्रभावित पारिएको आरोप

दुर्घटनापछि सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगले भदौ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।

तर, आयोगको प्रारम्भिक प्रतिवेदन नै सौर्यको व्यवस्थापन पक्षले आर्थिक प्रलोभनमा पारेको खतिवडाले आरोप लगाएका छन् । गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ मा रहेको ‘आयोग निर्माण गर्दा एयर ट्राफिक कन्ट्रोलरको रूपमा १५ वर्ष अनुभव प्राप्त गरेको, दुर्घटना सम्बन्धी तालिम प्राप्त र सेवा प्रदायकसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति मात्रै आयोगमा रहनसक्ने’ व्यवस्था उल्लेख गर्दै खतिवडाद्वारा जारी प्रेस नोटमा अगाडि भनिएको छ,‘तर   योग्यता नै नपुगेका पाइलटका नाता पर्ने मुकेश डंगोललाई आयोगको सदस्य सचिवमा र १५ वर्षे तालिम र अनुभव नभएका सुदिप भट्टराईलाई आयोग सदस्य बनाइएको छ ।’  

अनुसन्धान सुरु गर्दा नै ‘घटना कसरी भयो ? दोषि को हो ?  भन्दा पनि कसको थाप्लोमा दोष थोपर्ने रु भन्ने सोचबाट गरिएको खतिवडाको दाबी छ । प्रारम्भिक प्रतिवेदनमा घटनाको कारण तौल र गतिको सन्तुलन भनिएकामै खतिवडाको संशय छ ।  

आयोगको कार्यादेशमा समेत स्पष्ट नभएको प्रेस नोटमा खतिवडाको दाबी छ । आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउँदा अनुसन्धान  अघि बढ्दै जाँदा परिवर्तन हुनसक्छ भन्ने उल्लेख रहेको बताउँदै तर आयोगको म्याद नथपिएको बताएका छन् । ‘त्यसोभए अबको अनुसन्धान कसले गर्छ ? पूर्ण प्रतिवेदन कसले तयार पार्छ । आयोगको काम चरम लापरवाहीपूर्ण छ,’ उनले भनेका छन् ।  

प्रतिवेदनले दोष र दायित्व बाँडफाँट गर्दैन भनेको उल्लेख गर्दै ‘त्यसोभए के कारणले घटना भयो ? यसका दोषि को को हुन् ? यसको जिम्मेवारी क–कसले लिनु पर्छ ? भन्ने  अनुसन्धानको विषय नबन्ने हो भने आयोग किन गठन गरियो ?,’ प्रेस नोटमा भनिएको छ ।

प्रतिवेदन तयार गर्दा आर्थिक चलखेल गरेको छैन भनेर कसरी विश्वास गर्ने रु’ प्रेस नोटमा प्रश्न गर्दै अगाडि भनिएको छ, ‘प्रतिवेदन बमोजिम, यदि यसमा लेखिएको कारणले कसैलाई कारवाही गर्न नमिल्ने हो भने यस्तो चरम लापरवाही गरी १८ जनाको ज्यान लिने गरि भएको दुर्घटनामा गल्ती गर्ने निकायलाई कारवाही कसले गर्छ ?  

प्रेस नोटमा आर्थिक मिलेमतोमा नियोजित चलखेल भइरहेको आरोप लगाएको छ । यस्तै ‘भयानक दुर्घटना भएको कम्पनीलाई मन्त्रालय र नागरिक ड्डयन प्राधिकरणका केही कर्मचारीको आर्थिक मिलेमतोमा पुनः उडान सञ्चालन अनुमति दिने राजनितिक दौडधुप सुरु भएको’ भनिएको छ ।

यस्तो दुर्घटना भोग्न नपरोस्  

खतिवडाले सौर्यको दुर्घटनामा ज्यान गुमाएका छोरी, ज्वाइँ र नातिको स्मृतिमा सामाजिक कार्य गर्न सामाजिक संस्था दर्ता गरेको जनाएका छन् ।  

‘हवाई दुर्घटनामा हामीले हाम्रा सन्तति गुमायौं, तर यस्तो नियती र पीडा फेरी अरु कसैले  भोग्नु नपरोस भन्ने हामी चाहान्छौँ,’ खतिवडाले भने ।

प्रकाशित: ९ आश्विन २०८१ २०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App