९ आश्विन २०८१ बुधबार
image/svg+xml
ब्लग

दाहालको विरक्तीमा मिश्रको कुरीकुरी !

टिप्पणी

नेकपा माओवादी केन्द्र जनमतमा निरन्तर ओरालो लाग्दै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ३२ सिटमा खुम्चिदाँ पनि अध्यक्ष पुष्पकमल दाहाललाई कुनै संकोच देखिएन्।

डेढ दशकको संसदीय राजनीतिमा पारंगत भइसकेका दाहाल त्यहीँ ३२ सिटको ‘असफल गणित’ भित्र सत्ताको अवसर देखिरहेका थिए। पहिलो र दोस्रो भएका नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धात्मक भावनासँग खेलेर सत्ताको शिखर चढ्न सकिन्छ भन्नेमा दाहाल दृढ थिए।

भयो पनि त्यस्तै, ०७९ पुस १० गते बालुवाटारमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि ‘खाना खान जान्छु’ भनेर निस्केका दाहाल बालकोटको बार्दलीमा पुगेर झुल्किए। एमाले अध्यक्ष केपी शर्मा ओलीले सघाएपछि दाहाल प्रधानमन्त्री भए।

आफ्नो यो राजनीतिक बठ्याइँको सफलतामा दाहाल चुर्लुम्म डुबे। तर त्यो बठ्याइँको सिलसिला भने त्यहीँ रोकिएन। दाहालले कहिले कांग्रेस र कहिले एमालेको काँध फेरिफेरि १९ महिना शासन चलाए। काँध फेर्दा उनैलाई तथानाम आक्षेप लगाए।

यसरी ३२ सिटले कांग्रेस–एमालेलाई खेलाइ–खेलाइ सत्ता चलाउन पाएका दाहाललाई प्रतिनिधिसभामा ३२ सिट असफल गणित ‘थोरै’ भन्दा पनि ‘जादु’ लाग्न थाल्यो।

गएको असार ८ गतेमात्रै कार्यकर्तालाई त्यहीँ कुरा सुनाएर हीनताबोध नगर्न सुझाव दिएका थिए । ‘जादु नम्बर छ हाम्रो। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। त्यो जादुले अनेक गरेर मिलाइहाल्छ’, दाहालले भनेका थिए ।  

दाहाललाई लाग्न थालेको थियो, ‘अब पाँच वर्ष नै बालुवाटारबाट राज गर्न सकिन्छ।’ त्यहीँ कार्यक्रममा उनले भनेका थिए, ‘म नै भन्थे, सायद मलाई बस्न सबै मिलेर दिन्नन होला ! .. डेढ वर्ष भयो। म बसेकै छु। र, मैले जे देखेको छु परिस्थिती मिले पूरै समय बसिन्छ, ढुक्क भएर काम गरौं।’

यसो भनेको नौ दिन नबित्दै असार १७ गते कांग्रेस–एमालेले दाहालको पाँचवर्षे प्रधानमन्त्री सपनामा पानी छर्किदिए। कांग्रेस–एमालेको सातबुँदे सहमतिले दाहालको ३२ सिटे जादु निष्प्रभावी बन्यो। 

कांग्रेस–एमालेको मिलनले आफ्नो वास्तविक धरालतमा पछारिएपछि दाहाललाई बल्ल आफ्नो संसदीय शक्तिको आभाष भएको छ। तर उनी विश्वास गर्न सकिरहेका छैनन्। उनका दिनहुँका अभिव्यक्तिमा मनभित्रको तडप र विरक्त भाव छचल्किरहेको छ। यसरी विरक्तिएका दाहाल बेलगाम बोलीरहेका छन्।

चौतर्फी हारगुहार

कांग्रेस–एमाले मिल्दा आफू सत्ताच्युत भएका दाहाल दुई दलविरुद्ध माहोल सिर्जना गर्दै पुनः सत्तामा फर्किने ध्याउन्नमा छन्। यसका लागि उनी आफ्नै पार्टीदेखि पूर्वमाओवादीसम्म, सत्ताभित्रकै साना दलदेखि विपक्षी दलसम्म, सडकदेखि सदनसम्म बोलेर जनतामा हारगुहार लगाइरहेका छन्।

आफू प्रधानमन्त्री हुँदा समाजको असन्तुष्टिलाई ‘अराजकता’ भन्दै आक्रामक सुनिने दाहाल अहिले त्यही असन्तुष्टिभित्र अवसर खोजीरहेका छन्। उतिबेला अराजकता मच्चिएको भन्दै टिकटकमा समेत बन्द गराएका थिए।

अहिले आफूले भ्रष्टाचारविरुद्ध काम गरेको दाबी गर्दै त्यसकारण कांग्रेस–एमालेले सरकार ढालेको भन्दै असन्तुष्ट जनताको ध्यान तान्न प्रयास गरिरहेका छन्। ‘सरकारको अनुसन्धान बुढानिकण्ठ र बालकोट सोझिएपछि सरकार ढालिएको’ उनको दलील छ। कांग्रेस–एमालेलाई ‘विचौलिया’ ले मिलाएको भन्दै बंगलादेशबाट सतर्क हुनसमेत सुझाव दिन भ्याइसकेका छन्।

यता आफ्नै पार्टीभित्र सर्वशक्तिमान रहेका दाहाल अहिले रक्षात्मक अवस्थामा छन्। जनार्दन शर्मालगायतका नेताले नेतृत्व छाड्न चुनौती दिइरहँदा दाहालले आफूलाई ‘पदभन्दा माथिको हैसियत बनाइसकेको’ भन्दै सेन्टिमेन्टको राजनीति गर्न कोसिस गरिरहेका छन्।

कहिल्यै आफू ‘अध्यक्ष पदभन्दा माथिको व्यक्ति भइसकेको’ भन्दै कार्यकर्ताबाट तालीको अपेक्षा राखिरहेका छन् भने कहिल्यै आफूलाई ‘प्रधानमन्त्रीबाट हटाउँदा विश्व समुदायको ध्यान तानिएको’ भनिरहेका छन्।

असोज ५ गते एक कार्यक्रममा त आफू प्रधानमन्त्रीबाट हटिसक्दा बेलायती राजदूतले प्रधानमन्त्री भन्दा माथिको हैसियतको व्यक्ति भनेर प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र दिएको प्रधानमन्त्रीबाट हटिसकेपछि पनि ‘बेलायती राजदूतले प्रधानमन्त्री भन्दा माथिको हैसियतको व्यक्ति भनेर प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र दिएको’ समेत भन्न भ्याए। आफ्नै कार्यकर्ताबाट समर्थन बटुल्न दाहालले यसरी कुटनीतिक मर्यादाविपरीत झुठ बोल्नु परिरहेको छ।

कांग्रेस–एमालेको सरकारमा सामेल साना दल र विपक्षी दलको समर्थन जुटाउन दाहालले संविधान संशोधनको विषयलाई लिएर मुद्दा बनाउन कोसिस गरिरहेका छन्। कांग्रेस–एमालेको सातबुँदे सहमतिमा रहेको संविधान संशोधनको विषय गिजोलेर आफूअनुकुल वातावरण बनाउने उनको ध्याउन्न छ।

सत्तामा हुँदा दाहालले ‘बार्गेनिङ टुल’ का रूपमा प्रयोग गरिरहेको समाजवादी मोर्चा केही समय निस्क्रिय थियो। सत्ताबाट हट्दा फेरी ब्युँताएका छन्।

सत्ताबाट बाहिरिएपछि आफ्नो राजनीतिक शक्ति देखेका दाहाल पूर्व माओवादीबीच एकताको कुरा उठाइरहेका छन्। माओवादी संघर्षको अस्तित्व रक्षाका लागि माओवादी घटक एक हुनुपर्ने भन्दै उनको हारगुहार चलिरहेको छ।

कांग्रेस–एमालेको सहमति गिजोल्न दाहालले यी सबै क्षेत्रमा हारगुहार गरिरहेका छन्। उनी कहिल्यै अर्को ‘जनयुद्ध’ को वकालत गरिरहेका छन् भने कहिल्यै सडकमा आउन आमजनतालाई आह्वान गरिरहेका छन्।

दाहालको यो विरक्तिमा थरिथरि अभिव्यक्ति आइरहेका छन्।

..जब राजावादी मिश्रसँग मञ्च सेयर भयो

यही परिवेशमा सोमबार ‘विचारभन्दा माथि देश’ भन्दै राजावादी अभियान चलाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग दाहालले मञ्च सेयर भयो।

संविधानका विषयमा काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा दाहालभन्दा अगाडि बोलेका मिश्रले ‘देशको राजनीति दाहालकै वरिपरि घुमिरहेको’ र संविधान पनि ‘दाहालकै संविधान’ भनेर टिप्पणी गरेका थिए।

दाहाल मिश्रको यस्तो टिप्पणीमा कटाक्षमा पनि खुशी लिँदै गद्गद् भए। जसको जवाफमा दाहालले ‘तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना बुझ्न नसकेको’ भन्दै अगाडि भने, ‘उहाँले दरबार मार्गको नाम पनि कांग्रेस–एमालेले प्रचण्डमार्ग राखे हुन्छ भन्नुभयो। यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो।’ मिश्र राजावादी विचार राख्ने मान्छे भएकाले आफूलाई महत्व नदिएको भन्ने थाहा भएको पनि उनले बताए। ‘प्रचण्डलाई महत्व पक्कै दिनुभएको होइन। उहाँले राजनीति गर्नुभएको हो। त्यो स्वतन्त्रता तपाईंलाई छ’, उनले अगाडि भनेका थिए।  

मिश्र झन् अघि बढेर राजनीति गरे  

यसरी दाहालबाटै ‘राजनीति गर्ने स्वतन्त्रता छ’ भन्ने अनुमती पाएका मिश्र पछि हटेनन्। दोस्रो दिन मंगलबार दाहालको खुमलटारस्थित निवाससम्मै पुगेर राजनीति गरे।

दाहालसँगको त्यो भेटलाई सामाजिक सञ्जालमा ‘प्रचण्डसँग मनका कुरा’ शीर्षकमा सार्वजनिक गरे। मिश्रको यो भेटको तरंगले राजनीतिक चर्चा पाइरहेको छ। दाहालको सचिवालयलाई समेत बचाउमा बोल्न बाध्य पारेको छ।

मिश्रले भेटका क्रममा आफूले ‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाइँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन’ भनेर सारमा सुनाएको मिश्रले उल्लेख गरेका छन्।

त्यसपछि अर्थपूर्ण लागेका दाहालको टिप्पणी भन्दै सात बुँदामा उल्लेख गरेका थिए।  

जसमा यथास्थितीबाट देश चल्न नसक्ने निष्कर्षमा पुगेको, राजा महेन्द्र भिजिनरी लागेको, द्वन्द्वकै बेला देशको हितका लागि राजासँग मिलेर गए पनि हुन्छ भन्ने पक्षमा रहेको, राजा ज्ञानेन्द्र नरम भए अर्कै परिस्थिती हुनसक्ने, विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको, आफू यसरी हुँदैन भन्ने अवस्थामा पुगेको र मिश्रकै विचारसँग सहमत हुने अवस्थामा नपुगेपनि राति सुत्नेबेला सोच्न पर्ने अवस्थामा पुगेको दाहालले सुनाएको मिश्रले लेखिदिए।

गणतन्त्रका लागि संघर्ष जीवनमरणको संघर्ष गरेका दाहाल अहिले झण्डै आफूजस्तै राजावादी लाइनमा आउनलागेको आशय झल्कने गरी मिश्रले लेखिदिएपछि दुईदिनयता राष्ट्रिय राजनीति तरंगीत बनेको छ।  

दाहालको सचिवालयको प्रतिवाद  

राप्रपा नेता मिश्रले माओवादी अध्यक्ष दाहालसँग भेटमा भएको कुरालाई झण्डै राजावादी लाइनमा ल्याएर ब्याख्या गरेपछि दाहालको सचिवालयले बुधबार बिहानै खण्डन गरेको छ।

दाहालका स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल र रमेश मल्लले बुधबार बिहानै सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गरेर मिश्रले सन्दर्भ कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकुल प्रस्तुत गरेको भनेको छ।

सचिवालयद्वारा जारी खण्डनमा लेखिएको छ, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर  आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’ 

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् ? भन्दै मिश्रलाई प्रश्न समेत सोधिएको छ।

त्यसको जवाफमा मिश्रले फेरी दाहालसँग यो कुरा बाहिर नगरौं भनेको विषय बाहिर नल्याइएको दाबी गरेर अर्को पोस्ट राखेका छन्। ‘ठूला नेताहरूसँग भेट्दा यो कुरा चाहिँ बाहिर नगरौं/हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ। र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु,’ मिश्रले लेखेका छन्।

बाबुरामको खुच्चिङः ‘बिरालोको म्याउ’

यता दाहालका सशस्त्र संघर्षकालीन सहयात्री नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मिश्रसँग दाहालको भेटबारे तिखो टिप्पणी गरेका छन्। मिश्रको अभिव्यक्ति सेयर गर्दै त्यसबारे भट्टराईले ‘दाहालले म्याउ गरेकै हो’ भन्ने दाबी गरेका छन्।

‘प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो,’ भट्टराईले लेखेका छन्, ‘तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ। अहिले बिरालो म्याउ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो।’

  

यसको अर्थ ‘केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साँटिएका उपलब्धीहरू खोसिन नसक्ने र  खोस्न दिनु नहुने भट्टराईले लेखेका छन्।  

प्रकाशित: ९ आश्विन २०८१ २०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App