७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘जलवायु संकट रोक्न जीवाश्म इन्धन प्रतिस्थापन’

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको ग्यास हाउस अन पार्कमा शनिबार आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै। तस्बिर: प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य संकट रोक्न विश्वले जीवाश्म इन्धनको प्रतिस्थापन गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क गएका प्रधानमन्त्री ओलीले त्यहाँ आयोजित संसदीय मञ्चको एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

विश्वको तापमान बढाउन जिम्मेवार मानिने हरितगृह ग्यास उत्सर्जनमा जीवाश्म इन्धनको तीन चौथाइ योगदान छ। गत वर्ष दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) ले जीवाश्म इन्धनको प्रयोग कटौती गर्दै जाने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थ, कोइला, ग्याँस जस्ता जीवाश्म इन्धनको प्रयोगलाई अन्त्य गर्नुपर्ने माग भए पनि सम्मेलनले त्यसको प्रयोग क्रमशः घटाउँदै जाने निर्णय गरेको हो।

‘जलवायुसम्बन्धी पेरिस सम्झौताअनुरूप भविष्यका लागि वित्त पोषण विषयक संसदीय मञ्च’ का प्रमुख वक्ता प्रधानमन्त्री ओलीले विश्व समुदायलाई जीवाश्म इन्धनको प्रयोगबाट अलग्याउन यसअघि गरिएको प्रतिबद्धताको सम्मान हुनुपर्ने बताए।

‘जीवाश्म इन्धन प्रयोगबाट विश्व समुदायलाई अलग्याउनेलगायत अन्य जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको सम्मान गर्न पक्षधर राष्ट्रलाई आह्वान गर्छु’, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै आफ्नो सामाजिक सञ्जाल एक्समा राखेको छ।

‘जलवायुजन्य संकट बारम्बार दोहोरिन थालेको र असर पनि बढ्दो क्रममा रहेकाले जीवाश्म इन्धन प्रतिस्थापनको विषय झन् महत्त्वपूर्ण बनेको छ’, प्रधानमन्त्री ओलीले भने।

यसैगरी जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न अल्पविकसित राष्ट्रलाई नवीकरणीय ऊर्जा तथा हरित प्रविधि अवलम्बन गर्न आवश्यक लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसबीच राष्ट्रसंघीय मुख्यालयमा भेटवार्ता भएको छ।

भेटमा महासचिव गुटेरेसले गत वर्ष आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै तीव्र हिसाबले हिमनदी पग्लिनु र यसले विभिन्न संकट निम्त्याउनु चिन्ताको विषय रहेको बताए।

उनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायतका राष्ट्रको हितलाई सम्बोधन गर्नु संयुक्त राष्ट्र संघको प्राथमिकता रहेको पनि बताए। उनले हालै स्थापित हानि–नोक्सानी कोषमा थप स्रोत जुटाउन आफूले सक्दो प्रयास गर्ने बताएको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भेटमा गुटेरेसले विकासका लागि वित्तीय सहयोग पु¥याउन अन्तर्राष्ट्रिय वित्तीय संरचनामा आमूल परिवर्तनको आवश्यकता रहेको तर्क राखेका थिए। उनले संयुक्त राष्ट्रसंघको शान्ति कार्यमा नेपाली सेनाले पु¥याएको योगदानको उच्च प्रशंसा गरेको नियोगको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावलाई विश्वमञ्चमा पुर्‍याउन सहयोग गरेकोमा महासचिव गुटेरेसको प्रशंसा गर्दै नेपालले निकट भविष्यमै सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत गरेका छन्। संयुक्त राष्ट्र संघको शान्ति सेनामा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय स्तरमा शान्ति र सुरक्षा कायम गर्न योगदान गरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयसहित कार्यक्षेत्रमा नेपाली शान्ति सेनालाई उच्च पद उपलब्ध गराउनसमेत आग्रह गरेका छन्। 

प्रकाशित: ७ आश्विन २०८१ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App