१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने

फाइल तस्बिर

काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको सुधारका लागि गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने व्यवसायीले बताएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ बसपार्कलाई दसैँअगाडि प्रविधिमैत्री बनाउने गरी महासङ्घले तयारी गरिरहेको जानकारी दिए।

'नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्न महासङ्घ लाग्नेछ,' उनले भने। उनले मुलुकको सार्वजनिक यातायातको क्षेत्रमा रु १० खर्ब बढी लगानी र चार लाखले प्रत्यक्ष रोजगारी पाएको बताउँदै यसको संरक्षणका लागि यातायात व्यवसायी तथा मजदुर एक भएर अगाडि बढ्नुपर्ने बताए।

उनले महिलालाई सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने वातावरण निर्माण गर्न महासङ्घले तालिम तथा गोष्ठी आयोजना गर्ने उल्लेख गरे। बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनले चाडपर्वमा घर जाने यात्रु सार्वजनिक यातायातको भाडामा ठगिएको जनगुनासो आउने गरेकाले त्यसलाई रोक्न व्यवसायी र मजदुरलाई आग्रह गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेकनाथ गौतमले यात्रुमैत्री, व्यवसायीमैत्री र मजदुरमैत्री बसपार्क निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए।  

प्रकाशित: १ आश्विन २०८१ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App