७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

फाइल तस्वीर

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ।

हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो। यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत् आपूर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपूर्ति गराउन थालिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए।

“मिलनचोकदेखि दाना जोड्ने लामो दूरीको वितरण लाइनका कारण बेनी बजार नजिकै रहेको गलेश्वरमा विद्युत् आपूर्ति अनियमित हुने समस्याको अन्त्यका लागि बेनीको कालीपुलदेखि गलेश्वर नयाँ लाइन सञ्चालन गरिएको हो”, उनले भने, “धार्मिक पर्यटकीयस्थल पनि भएकाले गलेश्वरमा नियमित गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको हो।”

कालीपुलदेखि गलेश्वरसम्म ८४ वटा खम्बा गाडेर तीन किलोमिटर दूरीको तार तानिएको छ। दुई सय र ५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ। गलेश्वरमा समस्या आउँदा बेनीमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन कालीपुल नजिकै डल्लेपीपलमा ‘डियो’ राखिएको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए।

म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका करिब २२ हजार उपभोक्ता रहेको म्याग्दी वितरण केन्द्रमा १३२ केभी क्षमताको मिलनचोक सव स्टेशनबाट विद्युत् आपूर्ति हुन्छ। मिलनचोकदेखि रत्नेचौर, बेनी, दरबाङ र दाना फिडरबाट विद्युत् वितरण हुन्छ।

विद्युत् वितरण लाइन सुधार भएपछि नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि रहेको गलेश्वर शिवालय मन्दिरका साथै गलेश्वरका करिब एक सय ५० घरधुरी लाभान्वित भएका बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। सडक छेउमा सडकबत्ती पनि राख्न मिल्नेगरी बिजुलीको खम्बा गाडिएको उनले बताए।

गलेश्वरमा रहेको होटल व्यवसायी ताराप्रसाद आचार्यले नयाँ लाइनबाट विद्युत् आपूर्ति हुन थालेपछि स्थानीयवासी र व्यवसायीलाई धेरै सहज भएको बताए। “यसअघि विद्युत् आपूर्ति अनियमित भएर हैरान भएका थियौँ”, उनले भने, “नयाँ लाइन जोडेपछि विद्युत् नियमित आपूर्ति भएको छ।” 

प्रकाशित: २८ भाद्र २०८१ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App