ताप्लेजुङका विभिन्न स्थानबाट सहयोगको अपेक्षामा रहेका सडक मानवहरुको धमाधम उद्धार गर्न थालिएको छ।
लागुऔषध दुर्व्यसन,कूलत र कुसंस्कार विरुद्धको सामाजिक जागरण अभियानमा सक्रिय संस्था ‘होप फर अल’ को विशेष सक्रियतामा सडक मानवहरुको उद्धार गरी देशका विभिन्न स्थानमा रहेका आश्रम तथा मनोसामाजिक परार्मश केन्द्रहरुमा पठाउन थालिएको हो।
यसैक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमस्थित एक ओढारमा बस्दै आएका भारत बिहार घर बताउने ४० बर्षिय राकेश श्रीवास्तवलाई ‘होप फर अल’ को समन्वयमा भक्तपुरस्थित आफ्नो घर आश्रम नेपाल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार ती व्यक्तिलाई आश्रममा पुग्ने गरी ‘होप फर अल’का जिल्ला अध्यक्ष सागर विश्वकर्माको जिम्मा लगाईएको हो।
ओढारमा बस्दै आएका श्रीवास्तवलाई फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयले प्रहरी चौकी सिँवासंगको समन्वयमा ओढारबाट उद्धार गरेका थिए।
यसअघि मरिङदेन गाउँपालिकाको अगुवाई तथा होप फर अलको समन्वयमा दोभान बजारमा रहेका एक पुरुष र एक महिला सडक मानवलाई उद्धार गरी ईटहरी र काठमाडौंमा रहेका मनोसामाजिक परार्मश केन्द्रतर्फ पठाई सकिएको छ।
होप फर अलले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा रहेका सडक मानवहरुलाई बिभिन्न आश्रम तथा मनोसामाजिक परार्मश केन्द्रमा पठाई सामाजिक जीवनमा फर्काउन भूमिका निर्वाह गरिरहेको छ।
प्रकाशित: २६ भाद्र २०८१ १२:५६ बुधबार