१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गर्मी र धुवाँले सहरमा अत्यधिक वर्षा

गर्मी र धुवाका कारण वरपरको क्षेत्रमा भन्दा सहरमा अत्यधिक वर्षा भइरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। विश्वभरका एक हजारभन्दा बढी सहरमा गरिएको २० वर्ष लामो सर्वेक्षणले सहरी वातावरणमा हुने गर्मी, धुवाँ तथा वायु प्रदूषणले वर्षामा मापनयोग्य प्रभाव पारेको र यसले सहरलाई नै जलाम्य बनाएको देखाएको हो। अध्ययन नतिजाले भविष्यमा सहरहरू कसरी बनाउनुपर्छ भन्ने विषयलाई समेत दिशानिर्देश गर्ने वैज्ञानिक तर्क छ।

‘जसरी हामी सहरमा बढी मात्रामा तातो पाउँछौं, त्यसरी नै वर्षाको पनि त्यस्तै प्रभाव हुने देखिएको छ,’ अध्ययनमा सहभागी अमेरिकाको अस्टिनस्थित टेक्सास विश्वविद्यालयका देव नियोगी भन्छन्। उनी र उनका सहकर्मीहरूले उपग्रहमा आधारित तथ्यांकका आधारमा विश्वका विभिन्न जलवायु क्षेत्रमा फैलिएका एक हजार ५६ सहर र नजिकैका ग्रामीण क्षेत्रहरूमा सन् २००१ देखि २०२० सम्मको वर्षा प्रकृति र प्रवृत्तिलाई समीक्षा गरेका थिए।

अध्ययनमा समेटिएका सम्पूर्ण सहरमध्ये ६० प्रतिशतभन्दा बढी सहरमा वरपरका क्षेत्रमा भन्दा बढी वर्षा भएको र यही कारणले सहरमै सिमसार टापु बनेको पाइएको छ। तर केही अन्य सहर यसको ठीक विपरीत सुक्खा टापु बनेको देखिएको छ। उदाहरणका लागि वरपरको क्षेत्रमा भन्दा भियतनामको हो ची मिन्ह सिटी र अस्ट्रेलियाको सिड्नीमा हरेक वर्ष १०० मिलिमिटर अधिक वर्षा हुने गरेको देखिएको छ र सबैभन्दा बढी वर्षा हुने सहरमा यी परेका छन्। उता अमेरिकाको सियाटल र ब्राजिलको रियो द जेनेरियो १० प्रमुख सुक्खा सहरमा परेका छन्।

यसअघि केही सहरले वर्षालाई प्रभाव पार्ने भनेर मानिने गरेकोका सो अध्ययनले सहरमा वर्षाको विश्वव्यापी ‘प्याटर्न’ देखाएको चर्चा गर्दा अनुसन्धानकर्ता नियोगीले भने, ‘अब हामीले वर्षा र सहरलाई आपसमा अन्तक्र्रियात्मक हुने भनेर हेर्नुपर्छ।’ भवन र घर बनाउँदा प्रयोग हुने हुने मिश्रणले गर्मीलाई अवशोषण गर्ने र यो तातोपनाले वर्षाको बादल बनाउन सहयोगी भूमिका खेल्ने वैज्ञानिक तर्क छ।

यसैगरी भवनहरूमा हुने खस्रोपनाले मौसमी प्रणालीलाई ढिलो गर्ने हुँदा सहरी क्षेत्रमा लामो समयसम्म वर्षा हुने पाइएको छ। यसैगरी हावालाई चिसो बनाउने भएकाले वायु प्रदूषणले बादलको बिउ बनाउन सहयोगी भूमिका निर्वाह गर्छ। पिच गरिएका सतह र कम वनस्पति रहेका क्षेत्रले वाष्पीकरण कम गर्न सक्छन् र हावामा कम बाफ हुन्छ। सहरहरूको आकार र अवस्थितिका आधारमा यी कारक तत्त्वको प्रभाव भिन्नभिन्न हुने पाइएको छ।

अनुसन्धानकर्ताले ठुला र अधिक जनसंख्या भएका सहरहरू बढी वर्षा हुने क्षेत्र बन्ने सम्भावना रहेको पत्ता लगाएका थिए। यसैगरी समशीतोष्ण, उष्णकटिबन्धीय र तटीय क्षेत्रका सहरहरूमा यी प्रभावहरू अत्यधिक हुने र पहाडी सहरमा न्यून प्रभाव रहने देखिएको छ। अनुसन्धानकर्ताले अध्ययन अवधिमा पानीले भिजेका टापुहरू र वरपरको क्षेत्रबीचको वर्षाको औसत भिन्नता लगभग दोब्बर भएको पत्ता लगाएका छन्।

तर सुक्खा सहरमा रहेका विसंगतिहरूमा खास परिवर्तन भएको देखिएन। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँगै तीव्र सहरीकरणले हावामा जलवाष्प बढाएको नियोगी बताउँछन्। विद्यमान मौसम र जलवायु मोडेलहरूले सहरहरूमा वर्षाको प्रभावलाई स्पष्ट रूपमा व्याख्या नगरेका कारण सहरी योजनाकारहरूले आफ्ना निर्णयले वर्षालाई कसरी असर गर्छ भनेर विचार गनुपर्ने वैज्ञानिकहरू ठान्छन्। 

उदाहरणका लागि बाढीको जोखिममा रहेका सहरहरूले यसलाई सम्बोधन गर्न उपयुक्त कदम उठाउन सक्छन् भने सुक्खा सहरहरूले वर्षालाई बढावा दिने तरिकामा निर्माण गर्न सक्छन्। -(न्यु साइन्टिस्टबाट साभार)

प्रकाशित: २६ भाद्र २०८१ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App