१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नगरकोट सडक: भुक्तानी सकियो, काम अधुरै

भक्तपुरको नगरकोट सडक निर्माण कार्यमा भएको ढिलाइले स्थानीयहरू आक्रोशित भएका छन्। आइतबार नगरकोट सडकको निर्माण शीघ्र सम्पन्न गर्न माग गर्दै स्थानीय पीडितहरूले भक्तपुर कटुञ्जेको सडक डिभिजन कार्यालयमा धर्ना दिएका छन्।

धर्नाका क्रममा कार्यालय प्रमुखसमेत कार्यालयमा नभेटिएपछि स्थानीयले नारा जुलुश समेत गरे। साढे १० बजेदेखि सुरु भएको धर्नामा सहभागीहरूले विभिन्न नारासहित प्लेकार्ड बोकेर ठेकेदार शैलुङ कन्सट्रक्सन कम्पनी र प्रोपाइटर शारदाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गरेका थिए।

सयौंको संख्यामा सहभागीहरूले कार्यालयभित्र हुलदंगा गर्न खोजेपछि प्रहरीको हस्तक्षेपले स्थिति सामान्य भएको थियो।

नगरकोटको १७ किलोमिटर लामो सडक खाल्डाखुल्डीले भरिएको छ। सन् २०१४ जुन ५ मा सम्झौता भई २०१६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने यो सडक निर्माण अझै अधुरो छ।

भारतको आराभाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्सट्रक्सन कम्पनीले ठेक्का लिएको यो योजना ११ वर्षसम्म पनि पूरा हुन सकेको छैन। सोही कारण स्थानीयहरूमा आक्रोश बढेको हो।

ठेकेदारले पटकपटक म्याद थप्दै काम सम्पन्न नगरेपछि, अहिले असोज १५ गतेसम्मको अन्तिम म्याद थप भएको छ। तर, सडकको अवस्थाले भने मर्मतको सुरुवातसमेत भएको छैन।

स्थानीय सञ्जिवराज गिरीका अनुसार ३१ करोडको ठेक्कामा २९ करोड भुक्तानी भइसकेको छ, तर सडकको अवस्था भने उस्तै छ। धर्नामा सहभागी अर्का युवा मिसन लामिछानेले ठेकेदार कम्पनी शैलुङ कन्सट्रक्सनलाई सरकारभन्दा पनि बलियो रहेको टिप्पणी गरे।

उनले भने, "कुनै पनि सरकारले शारदाप्रसाद अधिकारीलाई कारबाही गर्न सकेको छैन। कांग्रेस, एमाले, माओवादी–जुनसुकै पार्टीको प्रधानमन्त्री हुँदा पनि यो ठेक्का तोड्न सकिएको छैन। यही कारणले ११ वर्ष बितिसक्दा पनि यो सडक अधुरो छ।"

यसक्रममा पीडितहरुले कार्यबाहक सडक प्रमुखलाई बाहिर ल्याएर घेराउसमेत गरेका थिए।   कुनै राजनीतिक दल, संघसंगठनबाट नभई स्थानीयहरु सामूहिक रुपमा धर्नामा आएका थिए।

भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो। सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले दावी गरेको छ। तर सडक भने दुरावस्थामै छ।

हेर्नुहोस् तस्बिरहरु :

तस्वीरहरु छन् । 

प्रकाशित: २३ भाद्र २०८१ २०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App