१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अनुजालाई ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान

लुम्बिनी प्रदेशबाट यस वर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई प्रदान गरिएको छ। ‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको नवौं स्मृति दिवसको अवसरमा शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो। डा. पन्तको २०७२ भदौं २१ गते निधन भएको थियो।

लुम्बिनी प्रदेशभरी रहेका करिव १ लाख महिला लघु उद्यमीलाई पछाडी पार्दै नेपालगन्ज, फुलटेक्रा निवासी अनुजाले नगद ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेकी हुन्। निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट कर्जा लिएर २०७५ सालमा ‘अनुजा डेरी उद्योग’ सञ्चालन गरेकी उनले अहिले पाँच जनालाई रोजगारी दिइरहेकी छन्।

नेपालगन्जमा शुक्रबार एक समारोहका बीच प्रमुख अतिथि एवं नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे। प्रमाणपत्रमा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष देवेन्द्रबहादुर राउत, सचिव यादवराज पाण्डे र कार्यकारी अधिकृत अञ्जु पाण्डेले हस्ताक्षर गरेका छन्।

नगर प्रमुख बिष्टले पुरस्कार हस्तान्तरण गर्दै निर्धन उत्थान जस्ता धेरै लघुवित्तले महिलाहरुको जीवनस्तर माथि उठाएको बताए । ‘केही लघुवित्तले गरेका गलत कामको दोष सबै माथी थोपार्नु उचित हुदैन,’ उनले भने।

पुरस्कृत लघु उद्यमी अनुजाले पुरस्कारले आफुलाई काम गर्न थप उर्जा मिलेको बताइन्। ‘सानो पुँजी लगाएर पनि उद्यमी बन्न सकिदोँ रहेछ, यो पुरस्कारले मलाई काम गर्न थप उर्जा दिएको छ,’ उनले भनिन्।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँकेस्थित उदयपुर शाखामा आवद्ध रहेकी उद्यमी सदस्य अनुजा फुलटेक्रा महिला स्वावलम्बी समुहको सदस्य हुन्। उनको उद्योगसँग करिव ३ सय जना पशुपालक किसान प्रत्यक्ष रूपमा जोडिएका छन्।

नेपालगन्जकी अगुवा महिला उद्यमी कल्पना शर्माले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट आफुले पनि १० हजार कर्जा लिएर उद्योग/ब्यवसाय सुरु गरेको बताइन्। ‘म आफैलाई मुल्यांकन गर्छु, निर्धनबाट १० हजार कर्जा लिएर सुरु गरेको उद्योगले मेरो परिवारको सबै खर्च टारिरहेको छ,’ उनले भनिन्।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धक मिनबहादुर हमालले मुल्यांकनका विभिन्न आधारबाट अनुजा लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघु उद्यमी घोषित भएको बताए। ‘लुम्बिनी प्रदेशभरी एक लाख लघु उद्यमीहरु हुनुहुन्छ, तीमध्ये उहाँ (अनुजा) यसवर्ष सर्वोत्कृष्ट हुनुभयो,’ हमालले भने।

लघु उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल बृद्धि गरी हौसला प्रदान गर्नका लागि संस्थाले २०७३ सालबाट प्रदेश स्तरमा डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार वितरण गर्न सुरु गरेको हो। गत वर्ष लुम्बिनी प्रदेशको रुपन्देही सितलनगर शाखामा आवद्ध उद्यमी सदस्य सुनकेशरी चौधरी सर्वोत्कृष्ट भएकी थिइन्।

२०४७ सालमा स्थापना भएको उक्त संस्था लिमिटेडमा हाल देशभर करिव ४ लाख महिला उद्यमी आवद्ध रहेको बताइएको छ। संस्थाले हाल ७ वटै प्रदेशमा रहेर लघु उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको छ। देशभरका ५ सय ५२ स्थानीय तहमा संस्था पुगिसकेको क्षेत्रीय प्रबन्धक हमालले जानकारी दिए। ‘महिला दिदी बिहिनीहरुलाई समुहमा आवद्ध गराएर बिना धितोको ७ लाख रुपैयाँ सम्म कर्जा दिइरहेका छौं,’ उनले भने।

प्रकाशित: २२ भाद्र २०८१ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App