जुम्लाका अन्य गाउँपालिकाहरूलाई उछिन्दै हिमा गाउँपालिका जिल्लामै पहिलो ‘पूर्ण साक्षर गाउँपालिका’ घोषणा भएको छ।
कर्णाली प्रदेशकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले हिमा गाउँपालिकालाई बिहीबार औपचारिक रूपमा ‘साक्षर गाउँपालिका’ घोषणा गरिन्। हिमाले जुम्लाको चन्दननाथ नगरपालिकालाई समेत उछिनेर यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
कार्यक्रममा मन्त्री बुढाले हिमा पहिलो साक्षर गाउँपालिका बनेर इतिहास रचेकोमा खुसी व्यक्त गरिन्। उनले हिमा गाउँपालिकाले साक्षर घोषणा गर्न चाहिने १२ सूचकहरूमध्ये अधिकांश पूरा गरेको उल्लेख गर्दै बहुभाषिक शिक्षा, पारस्परिक समझदारी, र शान्तिका लागि साक्षरताको महत्वलाई विशेष जोड दिइन्।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले साक्षर गाउँपालिका घोषणापछि हिमाले जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको उल्लेख गरे।
हिमाको कुल जनसंख्या १२ हजार ८०४ रहेकोमा तीमध्ये १२ हजार २२५ जनालाई साक्षर बनाउन सफल भएको जानकारी दिँदै उनले गाउँमा अब अक्षर चिन्न नसक्ने, नाम लेख्न नजान्नेहरूको संख्या न्यून रहेको बताए।
हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर रहेको उनको भनाइ छ।
गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १५५ जनाले स्नातक तह, र ८०० जनाले आइएड तह उत्तीर्ण गरेका छन्। उच्च मावि पास गरेका ११९६, एसएलसी पास गरेका ९५० र एसइई पास गरेका १६४८ जना रहेका छन्।
बालविकासको क्षेत्रमा ४२२ जना सामान्य साक्षर छन् भने ५३०० जना विद्यालय उमेरका बालबालिका साक्षर छन्।कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले हिमाको यो उपलब्धिले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, वडा अध्यक्ष रतनबहादुर शाहीले पनि हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गर्नु नमुना कार्य भएको बताए।
साक्षर गाउँपालिका घोषणा समारोहमा वक्तृत्वकला प्रतियोगिता र देउडा नृत्य प्रस्तुत गरिएको थियो। यसै अवसरमा प्रशासकीय भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूलाई पनि सम्मान गरिएको थियो।
प्रकाशित: २० भाद्र २०८१ २०:५७ बिहीबार