२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

सलहेश फूलबारीमा डा.बाबासाहेब आम्बेडकर पार्क बन्ने

लहान नगरपालिका–१२ स्थित लोकनायक राजा सलहेश फूलबारी नजिक डा.बाबासाहेब आम्बेडकर पार्क निर्माण बन्ने भएको छ।

पार्कका लागि स्व.देवधामी दनुवार, जितेन्द्र धामी दनुवार, इन्द्रदेव सिंह, कमलदेव सिंह र उत्तिम सिंहले एक कट्ठा जग्गा दान गरेका छन्।

मधेस प्रदेश सरकारको एक करोड रुपैयाँको लागतमा बन्ने पार्कमा अन्य संरचनासँगै राजा सलहेश र डा.अम्बेडकरका प्रतिमा स्थापित गरिनेछ।

भारतका समाजसुधारक डा.आम्बेडकरले दलितमाथि गरिने अन्यायविरुद्ध अभियान चलाएका थिए। डा.आम्बेडकरको विचारधाराबाट नेपालको दलित समुदायमा गहिरो प्रभाव परेको छ।

चालू आर्थिक वर्षको बजेटमा डा.आम्बेडकर पार्कका लागि एक करोड रुपैयाँ छुट्याइएको प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले बताए। उनले पार्क निर्माणमा राजनीतिक अस्थिरताले प्रभाव नपर्ने प्रस्ट्याए।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले सलहेश फुलबारी दर्शनका लागि भारत समेतबाट उल्लेख्य सँख्यामा पर्यटकको आवागमन हुने स्थल नजिक डा. आम्बेडकर पार्कको निर्माण भएपछि पर्यटकको सँख्यामा वृद्धि हुने र त्यसक्षेत्र तथा वरपरको आर्थिक गतिविधि तीव्र हुने बताए।

उनले सलहेश फूलबारीका धार्मिक तथा साँस्कृतिक विधिहरू विशेषतः दनुवार र दुसाध समुदायसँग जोडिएको बताउँदै डा.अम्बेडकर पार्क अन्यका अतिरिक्त दलित समुदायका लागि महत्त्वपूर्ण र छुटाउन नहुने पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको उल्लेख गरे।

सात दशमलव छ हेक्टरमा फैलिएको सलहेश फूलबारीले त्यसक्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

फूलबारीका कारण वरपर १४ गाउँमा पानीको उपलब्धता रहँदैआएको छ। मधेस प्रदेश सरकारले अन्य योजनासँगै डा.आम्बेडकर पार्कका लागि आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै कार्य थालनी गरेको छ। प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार गठन भएपछि पहिलो त्रैमासिकबाटै योजना कार्यान्वयन हुन थालेको हो।

यसअघि प्रदेश सरकार गठन भएयताका सात वर्षभन्दा बढी समयसम्म पहिलो र दोस्रो त्रैमासिकसम्म योजना कार्यान्वयनको पाटोमा काम भएका थिएनन्। आर्थिक वर्षको मध्यबाट प्रक्रिया थालिएर अन्त्यतिर काम हुँदा अधुरा र गुणस्तरहीन काम भएको गुनासो गरिँदै आएको थियो।

डा.सोहनले योजना कार्यान्वयनका लागि पहिलो त्रैमासिकबाटै सरकारको राजनीतिक नेतृत्व र कर्मचारीहरूले तीव्र गतिमा काम थालिसकेको बताए। ‘प्रदेशमा पहिलोपटक यस्तो भएको हो। यसले योजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने मान्यता व्यवहारमा परिणत हुँदैछ,’ उनले भने।

प्रकाशित: २० भाद्र २०८१ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App