३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

साकेलामा जन श्रमदानबाट काठे पुल निर्माण

खोटाङको साकेलाका स्थानीयबासीले जनश्रम जुटाएरै स्थानीय खोलामा काठे पुल निर्माण गरेका छन्।

हरेक वर्षायाममा आउने बाढीले वारिपारि गर्न समस्या हुने गरेको बोरा खोलामा आफ्नै खर्च लगाएर थानीयबासीले ३ दिनको अनवरत मेहनेतमा पुल बनाएको स्थानीय नवीन श्रेष्ठले बताए। उनका अनुसार पुल निर्माण भएपछि साविक ९ नं. वडाको मखमलेदेखि बोरा टोलसम्म आउजाउ गर्न सहज भएको छ।

आधुनिक प्रकारको १२ मिटर लामो पुलमा स्थानीय सल्ला र पात्ले जातको काठ प्रयोग गरिएको छ। जसमा सल्ला २० क्युविक फिट र पात्ले ३० गरी ५० क्युबिक फिट काठ प्रयोग भएको छ। श्रेष्ठका अनुसार १ लाख ५० हजार बराबरको काठ स्थानीयले आफ्नै खर्चमा जोहो गरेर ४० जनाले ३ दिन लगातार श्रमदान गर्दा पुल तयार भएको हो।

वडाध्यक्ष गोबिन्द तामाङका अनुसार बोरा खोलामा वर्षाका बेला बालबालिकालाई विद्यालय आउजाउ गर्न नसक्ने तथा ठूला मान्छेलाई पनि कैयौँ पटक बाढीले बगाउने गरेको थियो। सँधैको वर्षामा कष्ट दिने खोलामा पुल बनेपछि अव विद्यार्थीलाई स्कुल आउजाउ गर्न र स्थानीयलाई हिउद वर्खामा हुने कष्टको अन्त्य भएको खत्रीले बताए।

बोरा टोल विकास सँस्थाका अध्यक्ष नैनबहादुर खत्रीले श्रमदानबाट पुल निर्माण भएपछि गाउँलेलाई आउजाउ गर्न धेरै सहज भएको बताए। ‘सरकारको आस गर्दा कहिले हो कहिले, त्यसैले गाउँले हामी आप्mनै खर्चमा काठ काट्यौँ, श्रमदान गरेरै पुल बनायौँ’ खत्रीले भने ‘यस्तो सातोतिनो काममा के सरकारको मुख ताकिराख्नु !’

जनश्रम गरेर पुल बनाएकोमा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्थानीयबासीको प्रशंसा गरेका छन्। यस्ता सानातिना विकास निर्माणको काम गाउँलेहरु आफैले गर्नु खुसीको कुरा भएको भन्दै उनले सबै कुरामा सरकारको मुख ताक्ने प्रबृत्ति अन्त्य गर्दै जानुपर्ने बताए। श्रमदानबाटै पुल बनाएका गाउँलेलाई धन्यबाद दिदै अध्यक्ष राईले श्रमदानलाई सँस्कारको रुप दिदै जानुपर्ने आफ्नो पनि चाहना भएको बताए।

अध्यक्ष राईले बोरा टोलमा जस्तै अन्य टोल र वडाहरुमा पनि सातातिना स्थानीय आवश्यक्ताका कुराहरु श्रमदानबाट गरेर श्रम सँस्कार बसाउन गाउँपालिकाबासी नागरिकलाई आग्रह गरेका छन्।

कतिपय योजनाहरु बजेट अभावले गर्न नसकिने र कतिपय श्रमदानबाट हुने योजना पनि सरकारकै मुख ताकिराख्दा विकास निर्माणमा पछि परिने भएकाले गाउँलेहरु श्रमदानमा जुट्न सके सरकार र नागरिक दुवैपक्षलाई फाईदा पुग्ने उनको बुझाई छ। यसरी स्थानीयबासी आफै सक्रिय भएमा धेरै राम्रा कामहरु छिटो र कम लागतमा नै गर्न सकिने उदाहरण यो पुल निर्माणले देखाएको अध्यक्ष राईले बताए।

प्रकाशित: १८ भाद्र २०८१ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App