३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

रुसी सेनाका परिवारको गुनासो : ‘न सरकारी निकायले मृत्युको पुष्टि गर्छ न त शव देख्‍न पाइन्छ’

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसँग समस्या राख्दै रुसी सेनामा आबद्ध नेपालीका परिवारहरू । तस्बिर : विनोद सुवेदी/नागरिक

धनकुटा सांगुरीगढी गाउँपालिका –५ का ४० वर्षीय खगेन्द्र रैका मगर २०८० सालको मंसिरमा घरबाट रुसी सेनामा भर्ति हुन हिँडे । पुसमा रसिया पुगेँ भनेर घरमा जानकारी गराएका थिए । बहिनी भद्रमाय रैका मगरका अनुसार त्यसपछि लडाईंमा हिडेको जानकारी आएको थियो । लडाईंमा हिँडेको जानकारी दिएका मगर त्यसपछि परिवारको सम्पर्कमा आएनन् ।

फागुनमा मृत्यु भएको भन्ने जानकारी आयो । तर, आधिकारिक निकायले पुष्टि गरेन । रुसी सेनामा काम गर्ने नेपालीहरूले दिएको जानकारीकै आधारमा मृत्यु भएको मान्नु पर्ने परिवारलाई बाध्यता छ ।  

‘मृतकको शव पनि नेपाल ल्याउन नपाइने रहेछ’ उनले भनिन् । मगरले मृतकको शव नेपाल ल्याउन नपाउने, आधिकारिक निकायले मृत्यु भएको जानकारी पनि समयमै नदिने गरेका कारण मृत्यु भयो अरेकै भरमा काजक्रिया गर्नुपर्ने बाध्यता रहेको दुखेसो गरिन् । संगै रुसी सेनामा काम गर्नेहरूले धेरै दिनदेखि सम्पर्कविहीन भएको आधारमा मृत्यु भइसकेको जानकारी दिने र त्यही जानकारीकै आधारमा काजकिरिया गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘हामीले थाहा पाउनुभन्दा दुई महिना अगाडि नै दुतावासमा जानकारी आए पनि परिवारलाई भने दुतावासले जानकारी नै नदिने रहेछ’ उनले भनिन् ।  

दुतावासले शव ल्याउन नपाउने भएकाले सहमति कागज बनाएर पठाउनु भनेको थियो । त्यसपछि सहमतिको कागज सांगुरीगढी गाउँपालिकामा बनाएर गाउँपालिकाकै इमेलबाट दुतावासमा पठाएको उनले बताइन् । तर, साउनमा दुतावासले सहमतिको कागज नै नआएको जानकारी दियो  । एउटा सरकारी निकायले पठाएको कागजातसमेत दुतावासले नराखेर हेलच्याक्रई गरिरहेको उनको गुनासो छ । ‘बारम्बार काठमाडौं जान सम्भव छैन । स्थानीय तहबाट कागजपत्रको प्रक्रिया मिलाउन पाइदैन,’ उनले भनिन्, ‘स्थानीय तहले दिएको सिफारिससमेत गाउँपालिकाकै इमेलबाट पठाउँदा पनि दुतावासले बेवास्था गर्दा समस्या भयो।’  

खगेन्द्रको मात्रै हैन उदयपुर कटारीका ३९ वर्षीय ओमबहादुर मगरको पनि रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको खबर परिवारमा आयो । धेरै सयम फोन नआएपछि रुसमा भएका साथीहरूलाई फोन गर्दा उनीहरूले नै मृत्यु भइसकेको भन्ने जानकारी दिएको ओमबहादुरकी श्रीमती विनुकुमारी मगरले बताइन् । साथीहरूले नै धेरै दिनदेखि देखेका छैनौ मृत्यु भइसक्यो काजक्रिया गर्नु भने त्यसपछि काजक्रिया पनि गरिसकेको उनले बताइन् ।  

नेपाल वा रुसको सरकारी निकायले मृत्यु भएको आधिकारीक पुष्टि नै नगरी काजक्रिया गर्नुपर्ने आफूहरूको बाध्यता रहेको उनले बताइन् । उनका तीन छोरी र एक छोरा छन् । विनुकुमारीले भनिन्, ‘श्रीमान् युद्धका क्रममा बेपत्ता भएको तर, न त शव भेटियो न त आधिकारिक निकायबाट मृत्युको पुष्टि नै भएको छ ।’ संगै युद्धमा गएकाहरूले मृत्यु  भएको बताएपछि काजक्रिया गरिसके पनि क्षतिपूर्ति वा अन्य कुनै किसिमको सहयोग  पाउन नसकेको उनले बताइन् ।  

मृत्यु भएका भनिएका आफन्तको यथार्थ जानकारी पाउन नसकिरहेको वेला बेपत्ता भएकाहरूको अवस्था झन् अन्योलपूर्ण रहेको छ । गत दशैंमा रुसी सेनामा भर्ना हुन गएका धनकुटा साँघुरी गढी गाउँपालिका १० का विनोद राई पुस अन्तिमदेखि बेपत्ता भएका छन् । उनका साथीहरूले घरमा बेपत्ता भएको खवर पठाए । तर, त्यसबाहेक अन्य कुनै पनि जानकारी आफूले पाउन नसकेको उनकी श्रीमती कमलेश्वरी राईले बताइन् ।  

‘रुसी सेनामा गएका आफन्तहरू सम्पर्कविहीन भएका छन् । उनीहरूको अवस्था के छ भनेर सोध्ने ठाउँसमेत छैन’ कमलेश्वरीले भनिन् । काठमाडौं धाइरहन आफूहरूलाई गाह्रो हुने स्थानीयस्तरबाट कुनै पनि काम नहुने भएकाले हराएको, घाइते भएको र मृत्यु भएकोबारे सूचना पाउने ठाउँसमेत नभएको उनले बताइन् । रुसी सेनाका परिवारहरूले स्थानीय स्तरबाटै आफन्तको अवस्थाबारे जानकारी पाउने, उद्दार राहत र क्षतिपूर्तिका लागि उजुरीलगायतका प्रक्रियागत काम गर्ने व्यवस्था मिलाईदिन प्रदेशसरकारलाई आग्रह गरेका छन् ।  

यता कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आफन्तको अवस्थाका बारेमा सूचना लिने, उजुरी गर्ने, राहत उद्दार र क्षतिपूर्तिका लागि प्रक्रियागत काम स्थानीय स्तरबाटै गर्ने व्यवस्था मिलाउन पहल गर्ने आश्वासन दिए । अधिकारीले भने ‘स्थानीय तह, प्रहरी कार्यालयहरू वा जिल्ला प्रशासन कार्यालयमार्फत पीडित पक्षले सूचना लिने, दिनेलगायतका आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नेछ ।’  

रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने बारे सरकारसँग यकिन तथ्यांक छैन । रुसी सेनामा नेपालीहरू अवैध बाटोबाट जाने गरेका कारण उनीहरूको बारेमा नेपाल सरकारसँग कुनै रेकर्ड छैन । सेनामा भर्ना भएका नेपालीको विवरण रुस सरकारले पनि उपलब्ध गराउँदैन । उनीहरूको तथ्यांक रुस सेनाले पनि नराख्ने गरेको पाइएको छ ।  

नेपालीहरू रुस सरकारका लागि सेना आपूर्ति गर्ने निजी कम्पनीमा आवद्ध भएका हुन्छन् । रुसका नीजि कम्पनीहरूले सरकारले माग गरे अनुसार भाडामा सेना आपूर्ति गर्ने गरेका छन् । नेपालबाट विभिन्न प्रलोभन देखाएर दलालहरूले नेपालीहरूलाई रुस पु¥याउने गरेको रुसी सेनामा संलग्न नेपाली नेपाल फर्काउने अभियानका लागेकी अभियन्ता कृतु भण्डारीले बताइन् ।  

नेपालबाट रसिया जाँदा ८ लाख रुपैयाँसम्म लिने गरेका दलालहरूले, घाइतेको उद्दार गरिदिने, क्षतिपूर्ति दिलाइदिने, घाइतेलाई नेपाल ल्याइदिने मृत्यु भएकाहरूको शव ल्याइदिने भन्दै आफन्तसँग रकमसमेत वार्गेनिङ गर्ने गरेको भण्डारीले बताइन् । भण्डारीले रुसी सेनामा काम गर्न गएकाहरू मध्ये २ सय ७८ जना बेपत्ता भइसकेका छन् । जसमध्ये ६१ जनाको काजक्रिया भइसकेको छ । रुस पठाउन १ सय ७७ जना दलालहरू सक्रिय रहेको उनले बताइन् । हालसम्म ३ हजार रुसी सेनामा संलग्न भएका व्यक्तिका परिवार अभियन्ता भण्डारीको सम्पर्कमा रहेको उनले बताइन् । 

प्रकाशित: १७ भाद्र २०८१ १८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App