२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटकलाई जबरजस्ती स्कर्टिङ, प्रहरी रमिते !

फाइल तस्वीर

पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरूले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्।

पृथ्वी होटल व्यवसायी समितिको शनिबार आयोजित १२औं साधारणसभामा बोल्दै पोखरा सिटी क्षेत्रका होटल व्यवसायीले पर्यटक चढेको गाडीलाई पोखरा छिर्ने नाकाबाटै स्कर्टिङ गरेर आफ्नो होटलमा लैजाने प्रवृत्ति अझै नघटेको बताएका हुन्।

पोखरा लेकसाइडका ठूला होटलहरूले पर्यटकलाई पोखरा भित्रिने नाकाहरू छोरेपाटन, कालीमाटी, गगनगौंडा, विजयपुरबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको उनीहरूको आरोप छ।

यसअघि पनि पोखराका ठुला होटलहरूले गाडी र बाइकमा आएर पर्यटक बसलाई नाकाबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको गुनासो आएको थियो। त्यो गुनासोपछि प्रहरीले निगरानी बढाउनुका साथै त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरेर कारबाहीसमेत गरेको थियो। तर अहिले सोही प्रवृत्ति बढेको व्यवसायीको गुनासो छ। पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले नाकाबाटै स्कर्टिङ गरेर होटल लैजाने क्रम जारी रहेको बताए।

 उनले भने, ‘पर्यटनको राजधानी भन्छौं तर नाकाबाटै पर्यटकलाई स्कर्टिङ गर्ने, आफूलाई जान मन लागेको होटलमा जान नदिने, कहीँ बिचको होटलमा पस्न नदिने गर्दा कस्तो सन्देश दिन्छ ?’ उनले यसको समाधान खोज्न प्रहरी र प्रशासनलाई आग्रह गरे।

समितिका वरिष्ठ उपाध्यक्ष मोतीबहादुर श्रेष्ठले पर्यटनको राजधानी पोखराको प्रवेशद्वार पृथ्वीचोकमा दिउँसै पर्यटकलाई स्कर्टिङ गरेर कहीँ पनि अडिन नदिई लेकसाइड लैजाँदा त्यसले नकारात्मक सन्देश दिएको बताए।

‘यो त पर्यटनको राजधानी भन्नै लाज लाग्ने स्थिति भयो। यो यथाशक्य चाँडो रोकियोस्,’ उनले भने। उनले सिटी क्षेत्रलाई राज्यलेसमेत विभेद गरेको गुनासो गरे। पर्यटन प्रवद्र्धनमा समान रूपमा राज्यले सहयोग नगर्नुका साथै पूर्वाधार निर्माणमा पनि बेवास्ता गर्ने गरेको उनको आरोप छ।

होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले साना तथा मझौला होटल व्यवसायीको हितमा राज्यले ध्यान दिन नसकेको बताए। साना तथा मझौला व्यवसायीको लगानी संरक्षणमा राज्यले नै भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले निजी क्षेत्रको पिरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताए। आफू पनि व्यवसायीबाट राजनीतिमा प्रवेश गरेको भन्दै उनले भने, ‘निजी क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छ। व्यवसायमैत्री कानुन निर्माणमा प्रदेश सरकार लागिरहेको छ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिए। साथै पोखरा बसपार्कलाई सिटी बसपार्कका रूपमा विकास गर्ने र यो निर्माणका लागि आफूहरू लागिरहेको बताए।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले पर्यटनको राजधानीको प्रवेशद्वारमै अवाञ्छित रूपमा भइरहेका क्रियाकलाप रोक्न आफू लाग्ने बताए। ‘पर्यटकलाई स्कर्टिङ गरेर होटल लैजानु गलत हो,’ उनले भने, ‘यसले पर्यटनमा कालो धब्बा लागेको छ। यसलाई सुधार्नुपर्छ। त्यसका लागि प्रहरी लागिपर्छ।’ तर त्यसमा व्यवसायीको पनि सहयोग हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १६ भाद्र २०८१ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App