१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एकसाथ पाँच सचिव रिक्त, १७ जना बिदा हुँदै

सरकारले वरिष्ठताक्रम मिचेर गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन्।

कार्यरत सचिवहरूमध्ये वरिष्ठताका आधारमा पहिलो नम्बरमा ज्ञवाली, दोस्रो नम्बरमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, तेस्रो नम्बरमा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र चौथो नम्बरमा अर्याल हुन्। तीन जना वरिष्ठ सचिवलाई पन्छाएर सरकारले चौथौ नम्बरका अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो। ज्ञवाली यही भदौ २१ गते अवकाशमा जाँदै थिए। सचिवका रूपमा पाँच वर्षको कार्यकाल पूरा गरेर उनी अवकाशमा जान लागेका हुन्। वरिष्ठताका आधारमा सचिवमा पहिलो नम्बरमा रहेका ज्ञवाली मुख्यसचिव भएको भए उनी अझै दुई वर्ष सेवामा रहन्थे।

निजामती सेवा ऐनमा सचिवले दुई किसिमबाट अवकाश पाउने व्यवस्था छ। ५८ वर्ष उमेरहद पूरा गरेर अथवा सचिवका रूपमा ५ वर्ष कार्याकाल पूरा गरेर अवकाश हुने व्यवस्था छ। स्रोतका अनुसार मुख्यसचिवमा नियुक्त हुन ज्ञवाली र भट्टराईले अन्तिम समयसम्म पहल गरेका थिए। वरिष्ठताक्रमका आधारमा मुख्यसचिव हुनुपर्ने उनीहरूको तर्क थियो। चौथो नम्बरमा रहेका अर्याललाई सरकारले मुख्यसचिव बनाएपछि ज्ञवालीले असन्तुष्टि जनाउँदै राजीनामा दिएको स्रोतको दाबी छ।

निजामती सेवा ऐन २०४९ मा सरकारले ज्येष्ठता र कार्यसम्पादन हेरेर सचिवमध्येबाट एकलाई मुख्यसचिव नियुक्त गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा परेकाले अर्याल मुख्यसचिवको मौका पाएका हुन्। अर्याल मुख्यसचिव भएपछि गृह सचिव पनि खाली भएको छ।

ज्ञवालीको राजीनमा स्वीकृत भइसेको छ। साउन ३२ गते मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको थियो। संसदीय सुनवाइ समितिले उनको नाम अनुमोदन गरिसकेको छैन। उनको नाम राजदूतमा अनुमोदन भए परराष्ट्र सचिवको पद पनि खाली हुनेछ। लुम्बिनी प्रदेशमा महादेव पन्थ निमित्त प्रमुख सचिव र बागमती प्रदेशमा गोविन्दबहादुर कार्की कामु प्रमुख सचिव छन्। त्यी दुई प्रदेशमा दरबन्दीअनुसार सचिव पद रिक्त छ।

निजामती सेवाका १७ जना सचिवले चालु आर्थिक वर्षमा अवकाश पाउँदै छन्। सचिव सुवेदी र भट्टराई कात्तिकमा अवकाशमा जानेछन्। यसै आवमा अर्जुन पोखरेल, टेकनारायण पाण्डे, उदयराज सापकोटा, सुदर्शन खड्का, मधुकुमार मरासिनी, मणिराम गेलालसहितले अवकाश पाउनेछन्। पाण्डे हाल निलम्बनमा छन्। मुख्यसचिव लीलादेवी गडतौला शनिबार रातिबाट अकाशमा गएकी छन्।

हाल रिक्त सचिव पदमा बढुवाका लागि महादेव पन्थ, बाबुराम अधिकारी, मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद काप्री, राजेन्द्रप्रसाद पौडेल, इन्दु घिमिरेलगायतका सहसचिव लाइनमा छन।

यसैगरी कमलप्रसाद भट्टराई, श्रीकृष्ण नेपाल, विनोदबहादुर कुँवर, ढुण्डी निरौला, झलकराम अधिकारी, जनकराज जोशी, कालीप्रसाद पराजुली, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री, आभा कर्ण श्रेष्ठ, चक्रबहादुर बुढा, जयनारायण आचार्य पनि सचिवमा बढुवा हुने पर्खाइमा छन्।

प्रकाशित: १६ भाद्र २०८१ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App