२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्राञ्जल प्रकृति: स्वर्गतुल्य त्रिवेणी पाटन

चारैतिर हरियाली, बुकी फूलले ढपक्क ढाकेको पाटन। बीचबाट तीनवटा खोला सुसाउँदै बग्छन्। तीन खोलाको संगममा बनाइएको मन्दिरले प्राकृतिक सुन्दरतामा सुगन्ध थपेको छ। चराको चिरबिर आवाज र बेलाबेलाको घाम र कुहिरोको लुकामारीले जोकोहीलाई ‘धर्तीमै स्वर्ग’ भेटिएको आभास मिल्छ। जोकोहीलाई लोभ्याउने आकर्षक गन्तव्य हो, त्रिवेणी पाटन। मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण त्रिवेणी पाटन समुद्री सतहबाट चार हजार २१९ मिटरको उचाइमा छ। बीचमा बग्ने तीनवटा खोलाको संगम भएकाले पनि यसलाई त्रिवेणी पाटन  भनिएको हो।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो स्थान उत्तिकै महŒवपूर्ण छ। यहाँ घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ। हिउँदमा सेताम्मे हिउँले भरिने भएकाले जानै मुस्किल हुन्छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने त्रिवेणी पाटनले पर्यटकको मन लोभ्याउने गरेको छ। त्रिवेणीको काखमा रहेका ३२ वटा ठुल्ठुला सुन्दर पाटनले पर्यटकलाई मोहनी नै लगाउँछन्।

वास्तवमा त्रिवेणी घुम्न पुग्ने पर्यटकले यहाँको प्राकृतिक सुन्दरतासँगै रमाउन पाउँदा ‘भूस्वर्ग’को अनुभूति गर्छन्। त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर क्षेत्र भएकाले पनि यहाँ पुग्नेले यसलाई धर्तीको स्वर्ग भन्छन्। मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिवेणी पाटनमा प्रायः सिजनअनुसार नै पर्यटक पुग्ने गर्छन्।

त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि प्रकृतिको सुन्दरता अवलोकन गर्न सकिन्छ। वरिपरि मिलेको लेकाली वन, पानीको कलकल र अलि परतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वीको स्वर्गजस्तै कञ्चन बनाएको छ। यहाँ विभिन्न प्रजातिका वनस्पति छन्। त्रिवेणी क्षेत्रमा एक सयभन्दा धेरै प्रजातिका फूल फुल्छन्। साथै दुई सयभन्दा धेरै प्रजातिका चराचुरुंगी पाइन्छन्। बहुमूल्य जडीबुटीको त भण्डार नै छ। त्रिवेणी पाटनमा बग्ने तीनवटा खोलामध्ये दुईवटा खोलाको नाम गंगा र जमुना हो।

त्रिवेणी पाटनको आकर्षण जंगली जनावर पनि हुन्। कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नाउरलगायत विभिन्न वन्यजन्तु यस क्षेत्रमा पाइने स्थानीय बताउँछन्। रास्कोट नगरपालिकाका भीम शाहीले भने, ‘त्रिवेणीमा बहुमूल्य जडीबुटी पनि पाइन्छ, यहाँको सुन्दरतासँग रमाउन पर्यटकलाई अझै आकर्षित गर्नुपर्छ।’

त्रिवेणीमा स्नानको महत्त्व

बाजुरा जिल्लामा पर्ने चर्चित बडीमालिका मन्दिरका कारण पनि कालीकोटमा रहेको त्रिवेणी पाटन चर्चामा छ। धार्मिक मान्यताअनुसार कालीकोटको यही त्रिवेणी पाटनमा टेकेर मात्र बाजुराको बडीमालिका दर्शन गर्न जानुपर्छ। यही मान्यताअनुसारै त्रिवेणीमा नुहाएर मात्र बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन छ।

हरेक वर्ष जनैपूर्णिमाका बेला त्रिवेणीमा धार्मिक मेला लाग्छ। जनै पूर्णिमामा भारतको कुमाउ र गढवालदेखि भक्तजन त्रिवेणी आउने गरेको पुजारी कृष्णप्रसाद धमला बताउँछन्। उनी भन्छन्, ‘त्रिवेणी हुँदै बडिमालिका जाने हजारौं तीर्थालु हुन्छन्।’

पश्चिम नेपालका साथै भारतबाट पनि तीर्थालु यहाँ पूजा गर्न र घुम्न आउँछन्। जुम्ला, बाजुरा र कालीकोटबाट पूजाका बेलामा सरकारी अधिकारीसमेतको टोली नै यहाँ आउँछ। त्रिवेणीमा नुहाएर बडिमालिका दर्शन गरे मनले चिताएको पूरा हुने जनविश्वास छ। रोगव्याध नास हुने, पदोन्नति हुने विश्वास छ। साथै दुःखीलाई सुख, निःसन्तानलाई सन्तान र गरिबले धन पाउने धार्मिक विश्वासका कारण पनि त्रिवेणी पाटनसम्म पुग्नेहरूको संख्या धेरै छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका मनिप्रसाद सिम्खडा भन्छन्, ‘बडिमालिका दर्शन गर्नुभन्दा पहिले त्रिवेणीमा स्नान गर्दा शुद्ध हुने धार्मिक विश्वास छ। त्यसैले बडिमालिकाका पुजारीले पनि यहाँ स्नान गर्छन्।’

त्रिवेणीलाई पाटनको रूपमा मात्र नभएर धामको रूपमा लिने गरिन्छ। कर्णालीका सबै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, बैतडी र अछामको संगमस्थलको रूपमा त्रिवेणीधामलाई लिन सकिन्छ।

रोजीरोटीको आधार

त्रिवेणी पाटन यहाँका पशुपालक किसानको रोजीरोटीको मुख्य आधारभूमि हो। जिल्लाको नरहरिनाथ, सान्नी त्रिवेणी, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका पशुपालक किसानले वर्षमा ६ महिना यही पाटनमा बिताउँछन्। भेडा, बाख्रा, गाईभैंसी र घोडालगायत पशुचौपायाका लागि यो मुख्य चरन क्षेत्र हो।

हरेक वर्षको वैशाख, जेठमा किसान पशुचौपाया लिएर पाटनतर्फ उक्लिन्छन्। असोज र कात्तिक महिनामा जाडो बढेपछि मात्र उनीहरू गाउँतिर झर्छन्। वैशाख महिनाबाट लेकतिर उकालिएका चौपाया असारमा मात्र पाटन क्षेत्रमा पुग्ने नरहरिनाथ गाउँपालिका–४ रूपसाका किसान दल बोगटीले बताए। उनले भने, ‘हरियाली पाटनमा भेडाका लागि चरिचरन राम्रो हुन्छ, यही कारण पनि गाउँका भेडापालक किसानले भेडाबाख्राका बथान वर्षायाममा पाटनतिरै लैजान्छन्।’

यस्तै नरहरिनाथ गाउँपालिका–५ का किसान चक्र सहकारीले आफूहरूको रोजीरोटीको आधार त्रिवेणी पाटन भएको बताए। उनी भन्छन्, ‘पाटनमा पुगेपछि भेडासँगै दिन बितेको पत्तै हुँदैन। हामीलाई बर्खा लाग्यो कि गाउँमा बस्न मन लाग्दैन। भेडासँग पाटनमै रमाउँछौं।’

त्रिवेणी पाटनलाई संरक्षित क्षेत्र बनाउने तयारीमा स्थानीय सरकार छ। सान्नी त्रिवेणी गाउँपालिकाले यसलाई संरक्षित क्षेत्रको रूपमा विकास गर्न लागिएको जनाएको छ। यहाँ कस्तुरी, मृग, हिउँचितुवा, हिमाली थार, हिमाली भालु, वनकुकुर, नायरलगायत विभिन्न वन्यजन्तु पाइने भएकाले यसलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ। ‘त्रिवेणी पाटन देशकै सम्पदा हो, यहाँ पाइने दुर्लभ वन्यजन्तुको संरक्षण गर्नु आवश्यक छ,’ स्थानीय खेमराज सिम्खाडाले भने।

पर्यटक तान्न कसरत

त्रिवेणी पाटन अहिले आन्तरिक पर्यटक मात्र रोजाइमा परेको छ। प्रचार अभावमा विदेशी पर्यटक आउन सकेका छैनन्। तर अब स्थानीय पर्यटन व्यवसायी विदेशी पर्यटक पनि तान्ने प्रयासमा छन्। सान्नी त्रिवेणी गाउँपालिका–७ का पर्यटन व्यवसायी मनराज सिम्खडाले त्रिवेणीमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको बताए। उनी त्रिवेणी एड्भेन्चर फर्म र त्रिवेणी सामुदायिक होमस्टे सञ्चालन गरेर त्रिवेणीलाई पर्यटकको गन्तव्य बनाउने योजनामा जुटेका छन्।

कसरी पुग्ने त्रिवेणी पाटन

कालीकोटको उत्तरी क्षेत्रमा पर्ने त्रिवेणी पाटन पुग्न सुर्खेतबाट सिधै हेलिकोप्टरबाट पनि जान सकिन्छ। तर सडकबाट जान सबैभन्दा पहिला कालीकोटको सदरमुकाम मान्म पुग्नुपर्छ। पहिलो दिन मान्मबाट सानो जिपको यात्रा चार घण्टा गरेपछि सान्नी त्रिवेणी गाउँपालिकाको केन्द्र मेहेलमुडी पुग्न सकिन्छ। त्यहाँबाट सुन्दर सान्नी र रास्कोटका उर्वर भूमि नियाल्दै उकालो पैदलयात्रा गर्नुपर्छ। त्यसपछि गाउँपालिकाको लेकाली भाग तल्लो बल्या भन्ने ठाउँमा पुगिन्छ। त्यहाँ खाना र कपडाको व्यवस्था आफैं गर्नुपर्छ। बास बस्नका लागि भैंसी राख्ने गोठ छन्। त्यहाँ मुडा बालेर बास बस्नुपर्छ।

प्रायः मानिसले झोलामै खानेकुरा बोकेर आउँछन्। दोस्रो दिनमा तल्लो बल्याबाट उकालो यात्रा सुरु हुन्छ। त्यहाँबाट झन्डै तीन घण्टा उकालो हिँडेर माथिल्लो बल्या अर्थात् बल्याको काँध भन्ने ठाउँमा पुगिन्छ। त्यहाँ पनि भेडाबाख्रा राख्ने गोठ छन्। त्यहाँ बिहानको खाना खानुपर्छ। बल्याका काँधमा खाना खाएपछि पत्तागाडे भन्ने ठाउँमा पुगिन्छ। त्यहाँ दिउँसोको खाजा खान सकिन्छ। जहाँ भेडाबाख्रा, गाईभैंसीलगायत पशु राख्ने गोठ छन्। आराम गर्ने र रमाउने सुन्दर फाँट पनि छन्। त्यहाँबाट फेरि पैदलयात्रा गरेर साँझ नपर्दै त्रिवेणी पाटन पुग्न सकिन्छ। दुई दिनसम्म लगातार पैदल हिँडेर थाकेको ज्यान त्रिवेणी पाटनपुग्नेबित्तिकै फुरुंग हुन्छ। भोक, प्यास र थकाइ विस्तारै हराउँछ। त्रिवेणी पाटन पूरै घुम्न झन्डै तीन दिन लाग्छ।  

प्रकाशित: १५ भाद्र २०८१ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App