३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

'वायु प्रदूषणले महिला, बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित'

वायु प्रदूषणको कारण महिला, बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित हुने गरेको विज्ञहरूले औँल्याएका छन्। महिलाहरु  प्रदूषणसँग प्रत्यक्ष संलग्न हुने र बालबालिका आमासँगै सहभागी हुने भएकोले उनीहरूमा यसको प्रभाव बढी हुने उनीहरुले औँल्याएका हुन।

राजधानीमा ‘ वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा पर्ने असर’ विषयका प्रस्तोताहरूले यसको असर बढी मात्रामा उनीहरूमा परेको औँल्याएका हुन।

नेपालमा अहिले पनि इन्धनको रुपमा परम्परागत प्रविधिको प्रयोग हुने गरेको र यसले घरभित्रको वायु प्रदूषण उत्पन्न भइरहेको वावतरणविद भुषण तुलाधरले बताए। तथ्याकं अनुसार नेपालमा हाल ५१ प्रतिशत जनताले दाउराको प्रयोग गर्छन्। ती मध्येमा ३१ प्रतिशत गुइँठाको प्रयोग हुने गरेको छ। यी इन्धनको कारण घरभित्रै उत्पन्न धुवाँले वायु प्रदूषण गरेको र यो प्रदूषणको मारमा महिला रहेको उनले बताए। तथ्याकं अनुसार महिलाहरु खाना पकाउने क्रममा दैनिक पाँच घण्टा व्यस्त प्रत्यक्ष प्रदूषणमा सहभागी हुन्छन्। महिलासँगै रहने बालबालिका पनि प्रभावित हुने गरेको तुलाधरले बताए।

प्रदूषण विज्ञ पल्लव रेग्मीले गरेको सप्तरी र काठमाडौँमा आधारित भएर गरेको एक अध्ययन अनुसार वायु प्रदूषणको कारण महिलाहरूमा ३५ प्रतिशत महिलामा छालाजन्य संक्रमण भएको पाइएको थियो भने ७२ प्रतिशतमा श्वास–प्रश्वास सम्बन्धी समस्या भएको पाइएको छ। प्रदूषणको कारण लाग्ने रोगको कारण महिलाहरूको गुणस्तरीय जीविकामा समेत नकारात्मक असर परेको पाइएको उनले बताए।

तराइका जिल्लाहरूमा औद्योगिक र घरभित्रको वायु प्रदूषण दुवै उत्तिकै रहेको र काठमाडौँमा बाहिरी प्रदूषण उच्च रहेकोले वायु प्रदूषणको असर बढी देखिएको उनले बताए।

सोही क्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखाका प्रमुख डा. मेघनाथ धिमालले नेपालमा वायु प्रदूषण र जलवायु परिवर्तनको असर बढी मात्रामा महिला र सीमान्तकृत समुदाय नै परेकोले यी दुवै क्षेत्रमा सरोकारवालाले सहकार्य गरेर जानु पर्ने बताए। जलवायु परिवर्तनको असरले कीटजन्य रोगको वृद्धि भएको, उत्पादनमा असर परेर किसान विस्थापित  हुनु परेको औँल्याए।

‘प्रदूषणको कारण सामाजिक न्यायको मुद्दा पनि उत्तिकै दरिलो भएको छ’उनले भने। प्रदूषण सामाजिक न्यायको मुद्दा पनि बनेको उनले बताए। ‘गाडी चलाउनेहरू भित्रै एसी चलाएर हिँड्छ,बाहिर हिँड्नेहरू मात्र प्रदूषणबाट प्रभावित हुन्छन्, उनीहरुलाई सम्बोधन हुनु पर्छ’उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण र जलवायु परिवर्तनले पारेको असरको बारेमा विभिन्न विभिन्न समयमा नीति तथा योजना बनाए पनि पूर्ण लागू हुन नसकेको बताए। ‘नेपालमा बिस दश वर्ष अघिसम्म डेंगु नभएको र अहिले जलवायु परिवर्तनकै कारण हिमाली जिल्लामा समेत फैलिएको छ’उनले भने।

कार्यक्रममा बोल्दै स्वास्थ्य, सूचना तथा शिक्षा शाखाका प्रमुख डा. भक्त बहादुर केसीले जलवायु परिवर्तनको असर हिमाली र पहाडी जिल्लमा बस्ने मानिस बढी प्रभावित भएको बताए। पहाड र हिमालको तापक्रम अधिकतम बढेपछि विभिन्न रोग र प्रकोप वृद्धि भई यो भेगमा बस्ने मानिस बढी प्रभावित भएको उनले बताए। हालै गएको पहिरो यसको उदाहरण रहेको उनले बताए। 

सोही क्रममा बालरोग विशेषज्ञ डा. जगत घिमिरे वायु प्रदूषणको कारण बालबालिकामा फोक्सो, स्नायु सम्बन्धी रोगहरू वृद्धि भएको बताए। जसमा बालबालिकामा निमोनियाँ, आस्थामा जस्ता रोग बढेको बताए। लामो समय वायु प्रदूषणको सम्पर्कमा बालबालिकाको मस्तिष्कको राम्रो विकास नहुने, बाल क्यान्सर हुने गरेको उनले बताए। गर्भवती आमा वायु प्रदूषणको सम्पर्कमा रहेमा जन्मिने बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए। उनको अनुसार यस्ता आमाबाट जन्मिने बच्चाहरूको ओठ सानो हुने, बाल क्यान्सर हुने, पछि गएर मानिसक समस्या हुने जस्ता समस्या हुन्छ।

पछिल्लो तथ्याकं अनुसार नेपालमा प्रदूषणको कारण प्रतिवर्ष  ४८ हजार जनाको मृत्यु हुन्छ दैनिक १ सय ३० जना मानिसको मृत्यु हुन्छ। वायु प्रदूषणले मुटुजन्य रोग, फोक्सो सम्बन्धी रोग लागेर मानिसको अल्पआयुमै मृत्यु भइरहेको छ। इन्धनजन्य गाडी, कलकारखाना, डढेलो, निर्माण कार्य, इट्टाभट्टा जस्ता ठाउँबाट वायु प्रदूषण हुने गरेको छ। यी चिजहरुको व्यवस्थापन गरेमा वायु प्रदूषण कम गर्न सकिने विज्ञहरूले सुझाएका छन्। 

प्रकाशित: १४ भाद्र २०८१ १८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App