७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

सुदूरमा गुन्जँदै देउडा

धनगढीको वनदेवी परिसर अगाडि देउडा खेल्दै महिला । तस्बिर: पुष्पराज जोशी/नागरिक

केटा: धान बाली सिरौल्या होइगै, शीतलु छायाँले 

मौरी घुम्यो फूलका रसले, म घुमे मायाले 

केटी: म हुँला फूलकी बारी, साइ भयै भमरा 

साइ र मेरो भेट गराउने, आइ गै छ गमरा 

धनगढीको फूलबारीमा गौरामा केटाले माया पुगेकै ठाउँमा घुमेर आइपुगेको सवाल दिन्छन् भने जवाफमा केटीले गौरा पर्वले आफ्नो प्रेमिकासँग भेट गराएको भन्दै खुसी व्यक्त गर्छिन् । यत्तिकैमा गोलबद्ध दुवै समूहका देउडियाहरु शरीर ढल्काएर पैतला मिलाउँदै देउडा खेलिरहेका थिए ।  

सुदूरपश्चिमका गाउँ बस्ती यति बेला देउडाले गुञ्जायमान बनेका छन् । यहाँका गाउँ गाउँ र बस्ती बस्तीमा देउडा दोहोरी तथा परम्परागत गीतहरू गाइन थालिएको छ । गौरामा देउडा नाच्न थालेको सुदूरपश्चिम अहिले पनि झुम्दै छ । गाउँ गाउँमा देउडाको प्रतिस्पर्धा चल्नुका साथै पुराना संस्कृति मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, वन देउडा गुञ्जायमान हुन थालेका छन् । गौरामा वृद्ध वृद्धा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीतमा मस्त छन् भने युवायुवती वन देउडा र माया प्रेमका दोहोरी देउडामा झुमेका छन् । 

केटा: बाँज मेरो भेट भएको, गौराका खलामा

सुवाको त्यो रुबसे जोवन, माम खाउँकी गालामा

केटी: पञ्च बसेकी ठौर, लाज सरम पचाया 

चल्या छ महिलाको शासन, इज्जत बचाया 

धनगढीको वनदेवी मन्दिर परिसरमा भएको देउडा दोहोरीमा केटाले गौरा खेलमा आएकी प्रेयसीलाई गालामै माया गरिदिन्छु भन्दै सवाल दिन्छन् भने केटीले गौरामा आएका दर्शकका अगाडि त्यस्तो नभन्न र अहिले महिलाको शासन भएको र इज्जतका साथ बस्न प्रेमीलाई सल्लाह दिन्छिन् । 

सुदूरपश्चिमका गाउँ बस्तीमा अहिले केटा र केटीका यस्तै दोहोरी देउडा गुन्जन थालेका छन् । पछिल्लो समयमा गौरामा देवी देवताका मांगल, फाग, चैत, धुमारीको ठाउँमा युवा पुस्ताका गितरुहरुमाझ वन देउडा लोकप्रिय बन्न थालेका छन् । गौरामा बुढापाकाले चैत, धुमारी खेले पनि युवाहरूको भने देउडामा आकर्षण बढ्न थालेको पत्रकार तथा डेउडिया कृत बहादुर बिस्ट बताउँछन् ।

 ‘गौरा भन्ने बित्तिकै धेरैको मन मस्तिष्कमा देउडा नै घुम्ने गर्छ,’ उनले भने,‘बुढापाकाले गौराका मांगल गीत गाउने भए पनि युवाहरू भने देउडाकै रसमा भिज्ने गरेका छन् ।’ देउडा खेल्न लजाउने युवा पुस्ता पछिल्ला वर्षहरूमा भने गौराको समयमा देउडामा झुम्न थालेको उनले बताए । गौरामा माया पिरतीका गीतहरू बढी गाइन थालेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपछि तथा संकृतिविद् डा. टी एन जोशी बताउँछन् । ‘गौरामा पुराना गीतहरू परिमार्जित हुँदै युवाहरू देउडामा झुम्दै छन्,’ उनले भने,‘अब माया पिरतीका गीत मात्रै नभई संस्कृति सम्वद्र्धन गर्ने खालका गीतमा पनि युवाहरूलाई आकर्षित गर्नुपर्छ ।’

प्रकाशित: ११ भाद्र २०८१ १९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App