जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँकी ४२ वर्षीया चुच्चे सार्की हरेक बिहान साढे ५ बजे जवा नदीकिनारमा पुग्छिन्। उनी दिनभर जवा नदीमै भेटिन्छिन्। नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो। त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ। उनले भनिन्, ‘एकाबिहानै आउँछु। नदीको बालुवामै खेल्छु। बालुवामै रमाउँछु। परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ। जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ।’
चुच्चे सार्कीकी छिमेकी भगवती सार्की पनि उनीसँगै जान्छिन्। दिनभर बालुका निकालेर व्यापारीलाई बेच्ने गर्छिन्। उनले गत वर्ष बालुवा बेचेर ४० हजार आम्दानी गरेको बताइन्। ‘पाँच सय ब्लक (इँटा) बनाएर घरमा लगाउन सहयोग भयो,’ उनले भनिन् । जुम्लाको जवा नदीमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ। जवासँगै हिमा र तिला नदीमा पनि बालुवा निकाल्ने कार्य चलिरहेको उनीहरू बताउँछिन्। ‘नदीकिनारमै खाना खान्छौं। बालुवा निकाल्छौं,’ उनले भनिन्, ‘नदीकिनारमै ठेकेदार बालुवा लिन आउँछन्। नदीकिनारमै रूपैयाँ दिन्छन्, फर्कन्छन्।’ उनीहरूको खाना पनि नदीकिनारमै हुन्छ।
बिहानै आउँदा राम्रो बालुवा निकाल्न मिल्ने उनीहरूको अनुभव छ। ‘बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन,’ भगवतीले भनिन्, ‘एक दिनमा १६ बोरासम्म बालुवा निकालिन्छ। एक टिपर बालुवा निकाल्दा चार हजारदेखि पाँच हजार रूपैयाँसम्म दिने गरेका छन्। कटीमा बेच्दा प्रतिकटीको एक सय रूपैयाँमा बेच्छौं। बालुवा बेचेको रकमले घर खर्च चलाउन, लुगाफाटो, बालबालिका पढ्नेलगायत खर्च धान्न सहज भइरहेको छ।’
बालुवा बेचेर दैनिक उपभोग्य सामग्री चामल, तेल, लुगाफाटो, छोराछोरीका किताब, कापी र कलम किन्ने गरेको उनीहरू सुनाउँछन्। ‘बचेको रूपैयाँले दसैंतिहारजस्ता चाडपर्वमा सुन लगाउने गर्छौं। साउन र भदौमा पानीको बहाव बढेको हुन्छ। जोखिमबिच बालुवा निकालिरहेका छौं,’ चुच्चे सार्कीले भनिन्, ‘जवा नदीमा खाली खुट्टा, नांगो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौं। नदीमा फ्याँकिएका सिसा, काँडा र ढुंगाले काट्ने डर हुन्छ तर बालुवा संकलन नगरी सुख छैन।’
नदीबाट दर्जनौं महिला बालुवा निकालेर जीविका चलाउँछन् । विकासनिर्माणका योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाले गाउँनजिकै रोजगारी पाएका छन्। ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपरमार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीय बताउँछन्।
निर्माणकार्यमा बालुवा अनिवार्य हुने भएकाले मागअनुसार संकलन भने हुन सकेको छैन। बालुवाको मागअनुसार निकाल्न नकेको उनीहरू बताउँछन्। जवा, तिला र हिमा नदीमा बालुवा संकलन कार्य तीव्र चलिरहेको छ। गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको संख्या बढ्दै गएको छ। ‘एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौं,’ भगवतीले भनिन्, ‘साउन र भदौको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ।
बालुवा बेचेर पाँचदेखि आठजनाको परिवार पालिरहेका छौं।’ जुम्लाका महिलाको दैनिकी नै नदीकिनारको बालुवामा सुन खोज्दै बित्ने गरेको छ। उमेरले ४५ वर्षकी बासमती सार्की भन्छिन्, ‘कमाउन बाहिर जान नसक्ने भएपछि बालुवा चालेर दैनिकी चलाउनुपरेको छ।’
उनले विगत वर्षदेखि नदीकिनारलाई आधार बनाएर सुन खोज्ने र बिक्री गरेर जीविका चलाएकी छन्। नदीको बालुवाबाट सुन निकाल्न त्यति सजिलो छैन तापनि उनीहरू जस्तै अन्य महिलालाई पनि जवा, हिमा र तिला नदीलाई जीवन चलाउने आधार बनाउँछन्। सुन चाल्ने काम गरेर घर खर्च टार्छन्। वर्षे भेलले बगाएर ल्याएको बालुवामा सुन खोज्ने हरेक वर्ष रित हो। बालुवा संकलनका क्रममा विगतका वर्षहरूमा दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ।
प्रकाशित: ११ भाद्र २०८१ ०७:०४ मंगलबार