२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली लाइसेन्समा छानबिन तीव्र

एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। पहिलो चरणको छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ।  ‘प्रहरीले अनुसन्धान गरेका र विभिन्न समयमा विदेश बसेका र त्यहाँबाट फर्किएका व्यक्तिलाई दिइएको लाइसेन्सलाई आधार मानेर गरिएको छानबिन अन्तिम चरणमा पुगेको छ’, अख्तियार स्रोतले भन्यो।

अख्तियार स्रोतका अनुसार नक्कली लाइसेन्स वितरण प्रकरणमा मुछिएका करिब ३ सय ५० कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धी विवरण अख्तियारलाई दिएको छ। अख्तियारले विभागबाट पुरै कागजात र सूचना मागेर अनुसन्धान गरिरहेको छ। 

विभागले गरेको आन्तरिक छानबिनबाट एक लाखभन्दा बढी लाइसेन्स नक्कली भएको पाइएको छ । विभागको छानबिनबाट २०७२ सालदेखि २०८० सम्म लिखित र ट्रायल परीक्षा पास नगरेका एक लाख दुई हजारका नाममा लाइसेन्स जारी भएको देखिन्छ।

 विभागको छानबिन प्रतिवेदनका आधारमा अख्तियारले अनुसन्धान थालेको हो। अख्तियारबाहेक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यस विषयमा अनुसन्धान गरी दोषी देखिएका विरुद्ध काठमाडौँ जिल्ला अदालतमा प्रतिवेदन (मुद्दा) पेस गरेको छ।

प्रहरीले मुद्दा चलाएका केही थुनामा रहेको र केही धरौटीमा रिहा भएका छन्। नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन गरिरहेको अख्तियारले यातायात व्यवस्था विभागका महानिर्देशकदेखि विभाग मातहतका तल्लो तहका कर्मचारीको विवरण लिएको छ। आरोपितमाथि पहिलो चरणको सोधपुछ सकिएको स्रोतले जनाएको छ।

अख्तियारको आग्रहमा विभागले नक्कली लाइसेन्स वितरणमा संलग्नता खुलेका कर्मचारीको विवरण पठाएको थियो। विभाग स्रोतका अनुसार संलग्नता देखिएका कर्मचारीमा स्थायी र करार दुवै छन्। देशभरका यातायात कार्यालयहरूबाट नक्कली लाइसेन्स जारी भएको विभागकै छानबिनले देखाएको छ।

देशभरका यातायात कार्यालयबाट कर्मचारीको विवरण अख्तियारले लिएको छ। विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टममा रहेको कमजोरीको फाइदा उठाउँदै कर्मचारीले नक्कली लाइसेन्स जारी गरेको छानबिन प्रतिवेदन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि बुझाइएको थियो।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको नेतृत्वमा सेक्युरिटी अडिट टिमले गरेको अनुसन्धानबाट सिस्टममै कमजोरी रहेको प्रतिवेदन दिए पनि त्यसलाई व्यवस्थित गर्नेतिर अझै सरोकारवाला नियकायको ध्यान पुगेको छैन। एक लाखभन्दा बढी लाइसेन्स नक्कली भएको पाइएपछि सरकारले सिस्टम अडिट गरेको थियो। 

दुई महिना लगाएर सिस्टम अडिट गरिएको थियो । लाइसेन्सको सिस्टम ह्याक गरेर नेपाली नागरिकको जैविक विवरण जुनसुकै बेला पनि चोरी हुनसक्ने ‘टेक्निकल सेक्युरिटी अडिट’ मा उल्लेख गरिएको छ। यो विषयमा पनि अख्तियारको चासो रहेको स्रोतको दाबी छ।

सिआइबीले नक्कली लाइसेन्ससँग सम्बन्धित दुईवटा मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरिसकेको छ। नक्कली लाइसेन्सधारीले चलाएको गाडीको ठक्करबाट यात्रुको मृत्यु भएको विषयमा चालकसहित सात र फर्जी कागजातका आधारमा लाइसेन्स प्रिन्टिङ गरेको विषयमा अरू सातजनालाई प्रतिवादी बनाएर सिआइबीले गत जेठ दुई गते मुद्दा दायर गरेको हो।

सिआइबीले अध्ययन प्रतिवेदन र मुद्दा दायर गरेको विषयमा अख्तियारलाई जानकारी गराएको छ। यातायात व्यवस्था विभागले पहिला नै आफ्नो छानबिन प्रतिवेदन अख्तियारमा पठाएको थियो।

अख्तियारले छानबिनका क्रममा विभागका तत्कालीन महानिर्देशकहरूलाई पनि बयानका लागि बोलाउने सम्भावना रहेको स्रोतको दाबी छ । सिआइबीले यातायात व्यवस्था कार्यालय बुटवलका उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटर लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं तहका सुवास पौडेलविरुद्ध अभियोगपत्र दर्ता गरेको छ।

यसैगरी यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो तहका राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध मुद्दा चलाएको छ।

प्रकाशित: ९ भाद्र २०८१ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App