१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तनहुँको घाँसीकुवामा भीषण पहिरो, १ सय ३० मिटर सडक पुरियो

पृथ्वी राजमार्गको तनहुँस्थित घाँसीकुवाँमा बुधबार बेलुकी खसेको पहिरो। पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। तस्बिर सौजन्य: गौरव पन्त

तनहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।

तनहुँका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायका अनुसार ब्यास नगरपालिका–१२ घाँसीकुँवामा भीषण पहिरो झरेको छ। बेलुकी पाँच बजे खसेको पहिरोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको डिएसपी रायले बताए। उनका अनुसार राजमार्गको करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएको छ।

‘राजमार्ग एकतर्फी भएपनि खुलाउन सकिन्छ की प्रयासमा छौं। अहिले उपकरण परिचालन भइसकेको छ। तर, कति समयपछि राजमार्ग खुल्छ भन्ने यकिन छैन,’ उनले भने। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारीको तनहुँको दमौली क्षेत्रमा लाम लागिसकेको छ। पहिरो स्थल पोखराबाट करिब ५५ किलोमिटर पूर्व पर्छ, दमौलीबाट भने पाँच किलोमिटर पूर्व पर्छ।

पहिरोले पुरिएको खण्ड बिस्तार भइरहेको पृथ्वी राजमार्गमा पर्छ। विस्तारित पोखरा–मुग्लिन सडकको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार सडकको करिब १ सय ३० मिटर खण्ड पुरै पहिरोले पुरेको छ। पहिरोले बुल्दी खोलाको आधा भाग समेत माथिबाट खसेको पहिरोले पुरेको छ। आधा मात्र पुरिएकोले खोलाको बहाव भने रोकिएको छैन।

उनका अनुसार करिब एक सय मिटर माथिबाट पुरै डाँडो खसेको हो। यो ठाउँमा राजमार्ग बिस्तारको काम सकिएको थियो। राजमार्गको दुई लेन नै कालोपत्रे पनि भइसकेको थियो।

इन्जिनियर पाण्डेका अनुसार माथिबाट खसेको पहिरो अझै पनि झरिरहेकोले तत्कालै खुलाउने अवस्था छैन। ‘माथिबाट पहिरो खस्ने त्रास भएकोले सुरक्षा चुनौती छ। त्यही भएर सडक तत्कालै खुल्ने अवस्था छैन,’ उनले भने, ‘उपकरण परिचालन भएपनि दूरी धेरै भएकोले माटो पन्छाउन समय लाग्नेछ।’

राजमार्ग अवरुद्ध भएपछि साना सवारीका लागि तालघरे हुँदै पहिरो कटेर निस्कने घाँसीकुवामा निस्कने वैकल्पिक बाटो भएपनि साना सवारीका लागि सम्भव भएको उनले बताए।

वैकल्पिक बाटो साँघुरो भएकोले ठुला सवारी भने ओहोरदोहोर गर्न नसक्ने उनले बताए।

प्रकाशित: ५ भाद्र २०८१ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App