१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

शुक्रबारसम्मै देशैभर वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय रहेकाले देशैभर आगामी शुक्रबारसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले देशैभरको मौसममा बदली भएको हो।

अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताउँदै विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ।

वर्षा हुने क्रम शुक्रबारसम्मै जारी रहने छ। विभागले एक बुलेटिन जारी गर्दै बुधबार राति कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

विहीबार पनि दिनभर पानी पर्ने र कोशी, मधेश, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ।

शुक्रबार भने कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने उसको भनाइ छ। बुधबार रातिदेखि शुक्रबार रातिसम्मै मनसुन सक्रिय हुने भएकाले सोपछि मात्रै विस्तारै मौसममा सुधार हुने विभागको भनाइ छ।

कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो र बाढीको जोखिमबाट बच्न विभागले सबैमा अपिल गरेको छ।

प्रकाशित: ५ भाद्र २०८१ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App