६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरको गाईजात्रामा नक्कली भुटानी शरणार्थी आएपछि ....

भक्तपुरको गाईजात्राको क्रममा प्रत्येक वर्ष मृतक परिवारको जति घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) निस्कन्छ, त्यो भन्दा बढी निस्कन्छ समसामयिक विषयमा घोचपेच गरी निस्कने घिन्तान्गिसी टोली। यो वर्षको गाईजात्राको प्रमुख दिन मंगलबार पनि यस्तै देखियो।

गाईजात्राको क्रममा पछिल्लो वर्षभरि (यो वर्षको गाईजात्रादेखि अर्को वर्षको गाईजात्रासम्म) जति जना भक्तपुर नगरपालिकावासीको निधन हुन्छ, सामान्यता उति नै संख्यामा ताहासाँं (गाईको प्रतिकका रुपमा निकालिने प्रतीक) को साथमा घिन्तान्गिसी टोली प्रदर्शन हुन्छ। सामान्यता एउटा वडामा दुई दर्जनको संख्यामा मृत्यु भई एकदेखि १० वडासम्म गर्दा कुल सालाखाला नगरभरि दुई सयको हाराहारीमा ताहासाँंसहितको घिन्तान्गिसी टोली निस्केका हुन्छन्। तर त्यो संख्या भन्दा प्रत्येक वर्ष बढी अरु घोचपेचका घिन्तान्गिसी टोली निस्केका हुन्छन्।

यी दुवै टोलीले भक्तपुर नगर परिक्रमा गरेको हुन्छ। जुन घरमा मृत्यु भएको हो, त्यही घरबाट निस्केर सुरु हुने जात्रा भक्तपुर नगर परिक्रमा गरी त्यही घरमा पुगेपछि सम्पन्न हुन्छ। यस हिसाबले एउटा टोलीले जात्राको पूरा रुट घुम्न झण्डै एक दिन (५, ६) घण्टै लागेका हुन्छ। सामान्यतया मृतक परिवारका घिन्तागिसी बिहान बिहानैबाट सुरु हुन्छ भने घोचपेचका घिन्तान्गिसी टोली ती सकिएपछि साँझदेखि सुरु हुने परम्परा छ। यो क्रममा नगरका वडा वडाबाट टोल, क्लब, संस्थालगायतले व्यङ्ग्यात्मक घिन्तान्सिसी प्रदर्शन हुने गर्दछ।

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि साँंझसाँंझ यस्ता सयौँ घिन्तान्गिसी टोली प्रदर्शन गरिए। यी घोचपेचका घिन्तान्गिसी विशेषतः राजनीतिक विषयवस्तुमा केन्द्रित देखिए। नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, पानीजहाज, वाइडवडी काण्ड, मुर्रा भैँसीलगायतका समसामयिक राजनीतिक विषयवस्तुमा व्यङ्ग्य हानेको पाइयो।

४४ औं नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) कमलविनायक भक्तपुरबाट निकालिएको यो वर्षको घिन्तान्गिसीमा नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केन्द्रित थिए। ४४ औं नेपाल भाषा साहित्य तःमुंज्या प्रचारप्रसार समितिका सदस्य विकुराम तजले प्रत्येक वर्ष भक्तपुरका फरक फरक ठाउँमा हुने तःमुंज्याको प्रचारप्रसार गर्ने उद्देश्यका साथ वर्षैपिच्छे व्यङ्ग्यात्मक घिन्तान्गिसी निकालिँदै आएको जानकारी गराए।

हामीले मात्रै होइन, भक्तपुर नगरभरिका टोल टोलका विभिन्न टिम, क्लब, वाचनालय आदि इत्यादि संस्थाहरूले पनि व्यङ्ग्यात्मक रुपमा छुटाछुटै घिन्तागिन्सी निकालेका हुन्छन्, उनले भने, भाषण गरेर भन्दा यस्ता प्रदर्शनीमा जनताले रुचि राख्ने र देशमा भइरहेका विकृति विसङ्गतिबारे सर्वसाधारण जनतालाई बुझाई संघर्ष गर्न सिकाउन यस्ता प्रदर्शनी गर्ने गरेका हौँ।

यीबाहेक पनि भक्तपुरको गाईजात्राको विशेष आकर्षण साँझ लाकुलाछें (पोटरीस्क्वायर) बाट निकालिने भैलद्य (परालबाट बनाइएको गाईको प्रतीक) सहितको घिन्तागिन्सी हो। त्यस दिनको जात्रा समापनसँगै साँझ अन्तिम घिन्तागिन्सीको रुपमा यो निकालिन्छ। त्यस अवसरमा अघिल्लोतिर भैलद्य र पछाडि यो टोलबाट मृत्यु हुने सम्पूर्ण टोलवासीहरूको ताहासाँं (गाईको प्रतिकका रुपमा निकालिने) घिन्तान्गिसी हुन्छ।

भैरवनाथ जात्रा सहयोग समिति लैको लाकुलाछें भक्तपुरका अनुसार यो वर्ष टोलमा २८ जनाको मृत्यु भएको छ। त्यस कारण यो वर्ष २८ परिवारका २८ ताहाचा र एक भैलद्यसासहित २९ टोली हुनेछन्। यी सबैको घिन्तागिसी टोली भने सामूहिक रुपमा एउटै मात्रै हुने परम्परा छ। यो जात्रा हेर्न यस दिन भक्तपुर नगरभरि दसौँ हजार होइन, लाखौँ जात्राप्रेमीहरु भक्तपुर आउने गर्दछन्। नगरभरि सवैतिर दिनभर सवैतिर भिडभाड हुने गर्दछ।

भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म चल्ने परम्परा छ। प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु हुने यहाँको जात्रा कृष्ण अष्टमीसम्म चल्ने गर्दछ। जात्राको यो अवधिमा प्रत्येक दिन साँझ नगरका टोल टोलमा घिन्तान्गिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ।

इतिहास एवं संस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायष्ठ मृतक परिवारका सदस्यको सम्झनामा गाईजात्रा मनाउन थालेपछि यो व्यंग्यसँंग सम्बन्धित पर्व रहेको सुनाउँछन्। नेपालमा प्रजातन्त्र पुनर्स्थापना नहुँदै मनाउन थालेका यो जात्रा पहिलादेखि नै राज्य सञ्चालकहरु लगायतलाई व्यङ्ग्य गर्ने जात्राको रुपमा चल्दै आएको उनी सुनाउँछन्। यही क्रमले अहिले लोकतन्त्रसम्म पनि निरन्तरता पाएको उनी सुनाउँछन्।

प्रकाशित: ४ भाद्र २०८१ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App