२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

व्यवसायमा आबद्ध हुँदै यौनिक तथा लैंगिक अल्पसंख्यक

इटहरी बजार। (फाइल तस्बिर)

यौनिक तथा लैंगिक अल्पसंख्यक व्यवसायमा संलग्न हुने क्रम बढिरहेको छ। यौनिक तथा लैंगिक अल्पसंख्यकले इटहरी तथा आसपासका क्षेत्रमा यौन धन्दा सञ्चालन गर्ने गरेको गुनासो बढेसँगै प्रहरीले उच्च निगरानी बढाएको छ।

यही क्रममा उनीहरुको हकहितमा कार्यरत संस्था मानव कल्याण समाज इटहरीले व्यवसायमा आबद्ध हुनेलाई प्रोत्साहनका कार्यक्रम ल्याएको छ। समाजका अनुसार चालु आर्थिक वर्षको सुरुवातमै अहिले नौं जनाले होटल गर्न थालेका छन्।

समाजका कार्यक्रम अधिकृत देवनारायण चौधरीले अब दश जनाका लागि व्यूटीपार्लर खोल्ने तयारी भइरहेको बताए। अघिल्लो आर्थिक वर्ष इटहरी उपमहानगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकका निम्ति पाँच लाख रुपैयाँ छुट्याएकोमा त्यही पैसाले १९ जनालाई होटल व्यवस्थापन र व्यूटीपार्लर तालिम प्रदान गरिएको थियो। त्यहीमध्ये नौं जनाले होटल सञ्चालन गर्न थालेका हुन्।

व्यवसाय गर्न चाहनेका लागि संस्थाको स्रोत र साधनले भ्याएसम्म पैसा रकम प्रदान गर्ने गरेको छ। अहिलेसम्म १९ जनालाई जनही ५० हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ।

मानव कल्याण समाजले पछिल्लो समय दश-दश जनालाई ड्राइभिङ तथा कुक तालिम, पाँच जनालाई सिलाई कटाई तालिम र ३८ जनालाई होटल व्यवस्थापन एवम् व्यूटीपार्लर तालिम दिएको छ। सुनसरीभर १८ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका छन्।

विभिन्न खाले सीप सिकेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई व्यवसायसँगै अन्य काममा आबद्ध गराउन स्थानीय सरकारसँग आग्रह गरेर प्रोत्साहनका कार्यक्रम थालिएको मानव कल्याण संस्थाका संयोजक चौधरीले बताए।

उनका अनुसार सुनसरीका १२ वटै स्थानीय सरकारसँग यौन धन्दामा संलग्न हुनेहरुलाई व्यवसाय र वैकल्पिक काममा लगाउन थालिएको हो। यसमा इटहरी र धरान उपमहानगरपालिकाले सक्दो सहयोग गरेका छन्। अन्य नगरपालिका र गाउँपालिकासमक्ष पनि सहयोगको माग गरिएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यक धेरैजसोको मुख्य पेसा खेती छ। यद्यपि, केही सीमित व्यक्तिले भने यौन धन्दा गर्ने गरेको पाइएपछि उनीहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना जगाएर व्यवसाय वा अन्य वैकल्पिक कामप्रति आकर्षण गर्न थालिएको हो।

‘केही सीमित व्यक्तिले यौन धन्दा चलाउँदा लहान, विराटनगर लगायतका स्थानबाट पनि आएर इटहरीको बदनाम गर्न खोजेपछि हामीले स्थानीय सरकारसमक्ष सहयोग माग गरि व्यवसाय वा अन्य वैकल्पिक काममा आबद्ध गराउन थालिएको हो,’ चौधरीले भने।

प्रकाशित: २ भाद्र २०८१ २०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App