भविष्यमा त्यो देशमा रोजगारी मात्र होइन; बसोवास, काम र व्यवसायका निम्ति ग्रिनकार्डसमेत पाउने प्रलोभनमा एक नेपाली महिला मौरिसस पुग्छिन्। त्यहाँ उनलाई कामदेखि दामसम्म पाइने भनेर झुक्याएर पुर्याइएको हो, तर त्यहाँ कम्पनीको काम नभएर घरको कामसँगै मालिकको तृष्णा पूरा गर्नुपर्ने अवस्थामा पुगिन्।
घरको आर्थिक अवस्था सुदृढ बनाउने सोचले उनी नेपालबाट एजेन्ट बुद्धिराज न्यौपानेलाई दुई लाख ५० हजार रूपैयाँ बुझाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत हुँदै मौरिसस पुगेकी हुन्। ती युवतीलाई न्यौपानेले आफू विदेश पठाउने एजेन्टका रूपमा काम गर्दै आएको बताएका थिए। मौरिससमा कुकको काममा लगाइदिन्छु, तलब मासिक ७० हजार रूपैयाँ हुन्छ भनेर प्रलोभनमा पारेको युवती बताउँछिन्।
उनलाई न्यौपानेले दिएको आश्वासनअनुसार केही समय काम गरेपछि मौरिससको ग्रिनकार्डसमेत बन्छ, परिवारलाई पनि लैजान मिल्छ। मौरिससको ग्रिनकार्ड बनेपछि युरोपलगायतका देशमा जानका लागि भिसा आवश्यकता पर्दैन।
‘ग्रिनकार्ड पनि पाइन्छ, पछि परिवारलाई लैजान पनि मिल्छ भनेपछि मौरिसस जान तयार भएँ’, उनले नागरिकसँग भनिन्, ‘एजेन्टले जति चाँडो पैसा बुझायो उति छिटो भिसा लाग्छ भनेको थियो। सुरुमा एक लाख रूपैयाँ मात्रै बुझाएँ। पछि भिसा आयो पैसा चाँडो जम्मा गरेर काठमाडौं आउनू भनेपछि परिवारसँग बिदाबारी लिएर एजेन्टले भनेजस्तै गरें।’
गाउँबाट बिदा भई काठमाडौं आएपछि एजेन्टले भनेको सम्झँदै उनी भन्छिन्, ‘काठमाडौंबाट मौरिससको डाइरेक्ट फ्लाइट हुँदैन। यहाँबाट भारतको नयाँदिल्ली हुँदै मौरिसस जाने हवाई टिकट काटिदिएको छु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म म छाड्न जान्छु। त्यहाँबाट ढुक्कले मौरिसस पुगिन्छ।’
उनको मनमा कताकता चिसो पस्यो। ती युवतीले ऋण गरेर पैसा बुझाएकी थिइन्। विमानस्थलबाट जाने बेलामा एजेन्ट न्यौपानेले मौरिसस लेखिएको क्याप लगाउन दिएर फोटो खिचेका थिए।
‘यो क्याप नखोल्नू। मौरिससमा पुगेपछि तिमीलाई यही क्याप लगाएको आधारमा एकजना व्यक्ति लिन आउँछ। मैले तिम्रो फोटो खिची मौरिससमा रहेका व्यक्तिलाई पठाइसकेको छु’, एजेन्ट न्यौपानेले आफूलाई भनेको सम्झँदै उनले बताइन्, ‘काठमाडाैं एयरपोर्टमा कसैले रोक्दैन, ढुक्कसित जाँदा हुन्छ। लाऊ तिम्रो मौरिसससम्मको यात्राका लागि चाहिने कागजात ।’ एजेन्टले उनलाई हवाई टिकट, भिसा, पासपोर्टलगायतका कागजात हातमा दिएको थियो। उनी गत वर्ष माघ १३ गते मौरिसस पुगेकी थिइन् ।
‘एकजना मौरिसस पुरुष व्यक्ति मलाई एयरपोर्टमा लिन आएर आफ्नो कारमा चढाई दुई घन्टाजति यात्रा गराएपछि बिस्सुन मुङ्ग्रो नाम गरेको व्यक्तिको घरमा पुर्यायो’, उनी त्यो घरमा पुगेपछिको अवस्था उल्लेख गर्दै भन्छिन्, ‘आराम गर्नसमेत नदिई उसले सीधै घरको काम गर भन्यो। उसले घरको सरसफाइ गर्न र भाँडा माझ्न लगाएको थियो।’
आफू घरायसी काम गर्न भनी आएको होइन भन्दै उनले आपत्ति प्रकट गरेकी थिइन्। यस्तो दलदलमा परेपछि उनले एजेन्ट न्यौपानेलाई फोनसमेत गरेकी थिइन्। उनको फोनको कुनै जवाफ नआएपछि काम गर्न विवश भएको बताइन्। दैनिक १७/१८ घन्टा काम गरेसँगै उनी घरको मालिकसँग हिन्दी भाषामै समन्वय गर्थिन्। घरायसी कामको चाप भए पनि खानासमेत दिँदैनथे।
त्यति मात्रै होइन, उनलाई शारीरिक, मानसिक तथा यौनजन्य कार्यमा नङयाइन्थ्यो। उनी त्यसमा विवश हुन्थिन्। आफू यस्तो अवस्थामा पुगेसँगै नांगिनुपरेको खबर उनी कसैलाई गर्न सक्थिनन्। उनी एक बँधुवाजस्तो भएकी थिइन्। त्यसरी इच्छाविपरीत मालिकले उनको शोषण गरे पनि मासिक आम्दानी ४२ हजार रूपैयाँ पाउँथिन्, तर उनी मौरिससमा मासिक तलब ७० हजार रूपैयाँको प्रलोभनमा परेर त्यहाँ पुगेकी थिइन्। कम्पनीको काममा नलगाई घरको काममा किन लगाएको भनी उनले प्रश्न गर्दा मालिकबाट सकारात्मक जवाफ पाइनन्।
‘बुद्धिराज न्यौपानेबाट तँलाई उपहारस्वरूप खरिद गरी ल्याएको हुँ’, घरमालिकले आफूलाई हिन्दी भाषामा भनेको पीडित युवती भन्छिन्, ‘तँलाई नेपालबाट यहाँसम्म ल्याउँदाको सम्पूर्ण खर्चसमेत दिइएको हो। उसले तँलाई नेपालबाट यहाँ पठाउँदा के–के भन्यो, त्यो मलाई थाहा भएन्। घरमै बसेर सधैं काम गर्ने व्यक्ति चाहिएको भनेर झिकाएको हुँ।’
आफूले प्रश्न गर्दा शारीरिक यातनासमेत दिइएको बताउँछिन्। कम्पनीको काम पाइने, ग्रिनकार्ड बन्ने लोभ र झुटो आश्वासन दिएर आफूलाई मौरिससमा बेचिदिएको उनलाई बल्ल थाहा भयो।
झन् धेरै घरमालिकका माग बढ्दै गएको दुःखद क्षण उनले सम्झिन्, ‘घरमालिकको पीडादायी शारीरिक यातना, घरको काममा पनि उस्तै दलिएपछि बिरामी हुँदै गएँ। त्यहीमाथि पटकपटक कुटपिट गरी लछारपछार गर्ने र घरका सम्पूर्ण सदस्यले आक्रमण गर्न थालेपछि सहन नसक्ने भएँ ।’
बारम्बार एजेन्ट न्यौपानेलाई पुकार गर्दा आफ्नो कुरै नसुनेको उनले बताइन्। ‘तैंले जे गर्न सक्छेस् गर्, मलाई केही मतलब छैन’, न्यौपानेलाई उधृत गर्दै ती युवतीले भनिन्, ‘तँ अब नेपाल आउन पनि सक्दिनस्। घरमालिकले भनेको मानिनस् भने तँलाई मारेर फालिदिन्छ। उसले जे–जे भन्छ त्यही गर्। यहाँबाट केही गर्न सकिँदैन।’
उनलाई अब पीडासँगै असह्य भयो। उनले नेपाल फर्कने बाटो खोज्न थालिन्। घरमालिकको प्रत्येक दिनको शारीरिक तथा मानसिक यातनासँगै यौन शोषणसमेत बढ्न थालेपछि एक दिन राती घरमा सबै सुतेको मौका पारी उनी भागिन्।
‘पूरै अन्धकार थियो। कहाँ जाने केही थाहा थिएन। मलाई यति थाहा थियो– यो नर्कबाट भाग्दै छु। कसको साथ पाइन्छ भन्ने अन्योलमा थिएँ। जहाँ पुग्छुपुग्छु भनेर भागेँ। रातको समयमा मौरिससकै एकजना अन्टीको घरभित्र छिरेर त्यहीं शरण परें’, उनले भनिन्।
त्यसपछि टिकटकमा लाइभ आएपछि आफ्नो पिरव्यथा सबै खोल्न थालिन्। ‘टिकटकमार्फत धेरै हारगुहार मागेँ। भगवान्को रूप नै मानव हुने रहेछ। पोर्चुगलमा बस्ने नेपाली सुब्रत कुमार रिमाल दाइले मेरो पीडा बुझी सामाजिक सञ्जालमार्फत टिकट काटी गत असार २० गते नेपाल फर्कन सफल भएँ’, नारकीय जिन्दगीबाट पुनर्जन्म लिएर स्वदेश फर्किएकी ती युवतीले भनिन्। विभिन्न प्रलोभनमा पारी मौरिसस पुर्याएर यौन कार्यमा संलग्न गराएसँगै मानव बेचबिखन भएको भन्दै ती युवतीको उजुरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा हालसालै दिनकी छन्।
प्रकाशित: ३१ श्रावण २०८१ ०६:५४ बिहीबार