२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

गुमनाम ‘रुपी छहरा’ लाई पहिचान दिन टोली परिचालन

रुपीकाे रहस्य, बन्ला पर्यटकको लक्ष्य ?

हिमा गाउँपालिका-५ स्थित रुपी छहरा।

पर्यटकीय सम्भावना बोकेको तर हालसम्म गुमनाम रहेको जुम्लाको हिमा गाउँपालिका-५ स्थित ‘रुपी छहरा’ को पहिचान गर्न पहिलो पटक प्राविधिक टोली पुगेको छ।

गाउँपालिकाले पर्यटकीय सम्भावना अध्ययन र पहिचानका लागि टोली पठाएको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यस क्षेत्रको सम्भावना अध्ययनका लागि प्राविधिक टोलीलाई खटाइएको जानकारी दिए।

उनका अनुसार रुपी छहरा पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भए पनि हालसम्म उचित पहिचान र प्रवर्द्धन नहुँदा गुमनाम रहँदै आएको छ। यस पटक भने प्राविधिक टोलीलाई सो क्षेत्रको अवस्था अध्ययन गर्न खटाइएको छ।

प्राविधिक टोलीको नेतृत्व हिमा गाउँपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख ईन्जिनियर तोरुण खड्काले गरेका छन्। टोलीमा १२ जना प्राविधिक र स्थानीय प्रतिनिधिहरू सहभागी छन्।

टोलीले छहराको नापजाँच, नाग्म-गमगढी राजमार्गदेखि रुपी छहरासम्मको पैदल दूरी, पर्यटकीय पदमार्गको सम्भाव्यता, समस्याहरू, चुनौतिहरू, र समाधानका उपायहरूको अध्ययन गर्ने जिम्मा पाएको छ। एक साताभित्र प्रारम्भिक प्रतिवेदन गाउँपालिकामा बुझाइने योजना रहेको बताइएको छ।

स्थानीयहरूले यस क्षेत्रलाई पर्यटकीय सम्भावनायुक्त मान्दै आए पनि यसको उचित प्रचार-प्रसार नहुँदा पर्यटकको नजरमा पर्न सकेको छैन। गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर-५ बाजागाडाबाट पैदल करिब चार घण्टाको दूरीमा रहेको यो छहरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ।

स्थानीय बुद्धिजीवीहरूको सुझावमा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम अनुसार छहराको पहिचान र आवश्यक पूर्वाधार निर्माणको योजना अघि बढाएको हो। यसअघि पनि प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाको टोलीले यो क्षेत्रको अवलोकन गरेको थियो।

टोलीको प्रतिवेदनपछि सरोकारवालाहरूको टिमले थप अध्ययन गर्ने योजना रहेको छ। प्राविधिक टोलीका ईन्जिनियर तोरुण खड्काले हालसम्मको अध्ययन सम्पन्न भइसकेको र आगामी हप्ताभित्रै प्रतिवेदन प्रस्तुत गरिने जनाए।

यस क्षेत्रमा सडकको समस्या, यातायातको असुविधा, र प्रचार-प्रसारको कमीले गर्दा यो छहरा गुमनाम रहेको उनीहरूले बताएका छन्।

स्थानीयहरूले प्रकृतिले दिएको अनुपम 'रुपी छहरा' लाई संरक्षण, संवर्द्धन, र प्रवर्द्धनका लागि व्यवस्थित बनाउन अपरिहार्य भएको बताउँछन्।

प्रकाशित: २९ श्रावण २०८१ २०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App