२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

महानगरकै कार्यक्रममा किरा भएको पानी भेटिएपछि...

गत शुक्रबार काठमाडौं महानगरपालिकाले अनामनगरस्थित किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडको हलमा ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो।

कार्यक्रमको क्रममा वडा नं ११ की सदस्य यशोमती परियारले सिल गरिएको प्रशोधित पानीको बोतलबाट गिलासमा पानी खन्याउँदा त्यसमा कीरा सल्वलाएको देख्दा चकित परिन्।

परियारले तुरुन्तै उक्त दूषित पानीको बोतल महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई देखाइन्। अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दूषित पानी विक्री गर्नेहरूमाथि तत्काल कारबाही गर्न र कार्यक्रम स्थगित गर्न निर्देशन दिइन्। त्यसपछि कार्यक्रम रोकिएको थियो।

संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भनिन्, “पानीजन्य सङ्क्रमणको जोखिम रहेको अवस्थामा सिल गरिएको बोतलभित्र अखाद्य वस्तु देखिनु चरम लापरबाही हो। महानगरपालिकाले खानपान र पिउने पानीको स्वच्छता सुनिश्चित गर्न व्यवसायीहरूलाई बारम्बार सचेत गराउँदै आएको छ। अनुरोधलाई बेवास्ता गर्नेहरूमाथि कानुनी कारबाही गर्नुको विकल्प छैन।”

उक्त घटनापछि महानगरको अनुगमन टोलीले रेष्टुरेन्ट पुगेर नमुना सङ्कलन गर्‍यो। कार्यालय समय समाप्त भइसकेकाले सो दिन कारबाहीको निर्णय हुन सकेन।

त्यसपछि, आइतबार महानगरपालिकाले दूषित पानी विक्री गर्ने कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

उक्त रेष्टुरेन्टमा विक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नंं ८ मा रहेको सिटी मिनरल वाटर एण्ड बेभरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ ब्राण्डको हो।

यसअघि पनि महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई खाद्य स्वच्छता कायम नगरेको आरोपमा दुई पटक जरिवाना गरिसकेको छ।

प्रकाशित: २७ श्रावण २०८१ २१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App