धरानमा बिहीबार खानेपानीको शुल्क र महसुल वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ। उपमहानगरपालिकाले बढाएको शुल्कविरुद्ध दश राजनीतिक दल र उपभोक्ताहरूले संयुक्त रूपमा प्रदर्शन गर्दै उपमहानगरपालिकाको घेराउ गरेका हुन्।
आन्दोलनका क्रममा उनीहरूले उपमहानगरपालिका गेटमा भेला भएर विरोध जनाए। प्रदर्शनकारीहरू उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीले रोक्ने प्रयास गर्दा धकेलाधकेल समेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
धरानमा मेयर हर्क साम्पाङको अध्यक्षतामा रहेको खानेपानी बोर्डले साउन १ गतेदेखि लागू हुने गरी ९ सय प्रतिशतसम्म शुल्क र महसुल वृद्धि गर्ने निर्णय गरेपछि यो विरोध सुरु भएको हो।
यस निर्णयको खारेजीको माग गर्दै दश राजनीतिक दलहरूले चरणबद्ध आन्दोलन जारी राखेका छन्। यसै क्रममा, राजनीतिक दलहरूले बोर्डको कार्यालयमा तालाबन्दी गरेका थिए।
तर उच्च अदालतले मेयर साम्पाङको पक्षमा अल्पकालीन आदेश दिएपछि दलहरूले तालाबन्दी खोल्दै आन्दोलनको स्वरुप परिवर्तन गरी उपमहानगरपालिका केन्द्रित गरेका हुन्।
२०७४ सालदेखि धरानमा खानेपानीको महसुल बढाइएको थिएन। मेयर साम्पाङले सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महसुल पनि बढाउनुपर्ने अवस्था आएको बताउँदै आएका छन्।
प्रकाशित: २४ श्रावण २०८१ २०:२९ बिहीबार