८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

सीडीओसँगको कार्यसम्पादन मूल्याङ्कन नतिजा : कोशीमा तेह्रथुम पहिलो, उदयपुर पुछारमा

गृह मन्त्रालय र देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बीच भएको कार्यसम्पादन सम्झौता अनुसारको प्रगति नतिजामा कोशी प्रदेश भरीमा तेह्रथुम जिल्लाको नतिजा सबैभन्दा राम्रो देखिएको छ। प्रदेशभरीमा उदयपुर जिल्लाको नतिजा कमजोर देखिएको छ।  

गृह मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार तेह्रथुम ९६.८७५ अंक प्राप्त गर्दै देशभरका प्रशासन कार्यालयमध्ये आठौं र कोशी प्रदेशमा पहिलो बन्न सफल भएको छ। देशभरका जिल्लाको सूचीमा दशौं स्थानमा रहेको सोलुखुम्बु कोशी प्रदेशमा भने दोस्रो रह्यो। उसले ९६.५६२५ अंक प्राप्त गरेको छ।  

धनकुटा ९५.८७५ अंक प्राप्त गर्दै देशभरका तेह्रौं र कोशी प्रदेश भरीका तेस्रो हुँदा झापा ९५.२५ अंकसहित देशभरमा सत्रौं र प्रदेशभरीमा चौथो स्थानमा रहन सफल भएको छ। ९४.७५ अंक प्राप्त गरेको इलाम देशभरमा उन्नाईसौं तथा प्रदेशमा पाँचौं, ९४.३७५ अंक प्राप्त गरेको भोजपुर देशभरमा २५औं र प्रदेश भरीमा छैटौं, ९४.३१२५ अंक प्राप्त गरेको सुनसरी देशभरमा २६औं र कोशीमा सातौं स्थानमा रहन सफल भएका छन्। 

यस्तै ९२.८७५ अंक प्राप्त गरेको ओखलढुङ्गा देशभरमा ३७औं स्थानमा पर्दा प्रदेशभरीमा आठौं तथा देशभरमा ३९औं स्थानमा रहेको मोरङले ९२.७५ अंक प्राप्त गर्दा प्रदेशभरीमा नवौं स्थानमा रहन सफल भएको छ । 

९२.४३७५ अंक प्राप्त गरेको ताप्लेजुङ देशभरमा ४३औं र कोशी प्रदेशभरीमा दशौं, ९१.८१२५ अंक प्राप्त गरेको पाँचथर देशभरमा ५४औं र प्रदेशमा एघारौं, ८९.७५ अंक प्राप्त गरेको संखुवासभा देशभरमा ५९औं र प्रदेशमा बाह्रौं, ८१.७५ अंक प्राप्त गरेको खाटाङ देशभरमा ७३औं र प्रदेशमा तेह्रौं स्थानमा परेका छन्।  

उदयपुरको नतिजा प्रदेशभरीमै सबैभन्दा कमजोर देखिएको छ । ७९.७५ अंक प्राप्त गरेको उदयपुर देशभरका ७७ मध्ये ७६औं स्थानमा रहेको छ ।  

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको थियो । कार्यसम्पादन मूल्यांकन गर्ने आधारहरुमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुशासन रहेका छन् । 

मन्त्रालयले प्रत्येक तीन तीन महिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ । कूल पूर्णाङ्क भने एकसय रहेको छ ।

प्रकाशित: २३ श्रावण २०८१ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App