८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पहिले भेडाबाख्रा चराउँने, अहिले पर्यटक घुमाउने

कुनै समय दिनभर जुम्लाका ठुला-ठुला पाटनमा भेडाबाख्रा चराउँने सीप बुढा केही समय यता भने पर्यटकहरु घुमाउनमा व्यस्त छन्। पछिल्लाे समय कर्णालीका भीरपहरा,तालतलैयामा,कहिले रारा,कहिले जगदम्बा ताल त कहिले फोक्सुन्डो तालको किनारामा पर्यटक घुमाइरहेका भेटिने उनी कर्णालीमा हिमाल हेर्न चाहने पर्यटकलाई पनि न्यानो स्वागत गर्छन्। 

बुढा लाइसेन्स प्राप्त पर्यटक गाइड हुन्। भरिया हुँदै पर्यटकसँग ट्रेकिङ सुरु गरेका उनी सात वर्ष पहिले मात्रै गाइड बनेका थिए। तीन वर्षको उमेरमा बुवा गुमाएका जुम्लाको पातारासी- ६ बातागाउँका ३० वर्षीय बुढालाई १८ वर्षअघि विदेशीसँग रारा हुँदै फाक्सुन्डो तालसम्मको ‘ट्रेकिङ’ गर्ने सुनौलो अवसर मिलेको थियो।

गैरसरकारी संस्था इसिमोडले गर्न लागेको एक कार्यक्रमका दौरान बुढालाई इसिमोडकै सतानन्द उपाध्यायले विदेशी पर्यटकसँग जाने अवसर जुराईदिएका थिए। १२ वर्षको कलिलै उमेरमा पर्यटकको २५ किलोको भारी बोकेर उनी ‘ट्रेकिङ’मा निस्किएका थिए। उनी त्यसबात दैनिक सात सय रुपैयाँ पाउँथे। त्यहीँ अवसरले नै बुढालाई पछि ‘ट्रेकिङ’ पर्यटक गाइड बन्न प्रेरित गरिदियो। पछि इसिमोडकै उपाध्यायले बुढालाई ‘ट्रेकिङ’ थाल्ने भए अंग्रेजी बोल्न सिक्नुपर्ने सल्लाह पनि दिए । 

उनी दुई वर्ष भेडीगोठालो बनेपछि पर्यटन डुलाउने सोचले यता लागेको बताउँछन् । ‘पहिले पाटनमा भेडा डुलाइ हिँड्थे। अहिले  हिमाल, तालतिर टुरिस्ट डुलाइहिँड्छु,’ बुढा अहिलेको आफ्नो काममा पूर्ण सन्तुष्ट रहेको बताउँछन्। बुढाले १२ कक्षासम्मको पढाइ जुम्लामै सकेर क्याम्पस पढ्न काठमाडौं गए ।

उनले काठमाडौं गएर जनसंख्या तथा वातावरण विषयमा स्नातकोत्तर गरे । काठमाडौंमा रहँदा सबै साथीहरू दसैंतिहार मनाउन घर फर्किन्थे। तर, उनी भने पर्यटकको भारी बोक्न डाँडाकाँडातिर हानिन्थे। यसबापत दैनिक १२ सय रुपैयाँ पाउँथे । त्यसैले पढाइ खर्चको जोहो पनि हुन्थ्यो। पर्यटक लिएर लाङटाङ, तिलिचो ताल, मनाङ, मुस्ताङ, सगरमाथा आधारशिविर क्षेत्रमा जान थाले। 

दसैंतिहारको एक महिने बिदामा उनी ३०–४० हजार कमाएर काठमाडौं फर्किन्थे। अनि फेरि पढाइमा लाग्थे। झन्डै सात वर्ष पर्यटकसँग घुमेपछि उनले गाइडको लाइसेन्स पाए। पर्यटकहरू पनि बुढालाई निकै रुचाउँछन्। कोरोना महामारीका कारण ‘ट्रेकिङ’ व्यवसाय पनि थलियो, त्यहीबेला नै उनले पर्यटकलाई कर्णाली घुमाउने उद्देश्यले ट्राभल कम्पनी खोले। ‘नेपालको कर्णाली पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो।

तर पर्यटकमैत्री संरचना र पर्यटन क्षेत्र देखाउने माध्यम नहुँदा समस्या भयो,’ उनले भने, ‘अब आन्तरिक र बाह्य पर्यटक घुमाएर आर्थिक अवस्था चलायमान गर्ने जिम्मेवारी कर्णालीका युवाको काँधमा आइपुगेको छ।’ उनलाई अहिले पनि केही पर्यटन व्यवसायीले पोखरातिर कामका लागि बोलाउँछन्। तर उनी भन्छन्, ‘अब आफ्नै क्षेत्रको भारी बोकेर कर्णाली चिनाउनेछु। बेरोजगारलाई रोजगारी दिने र कर्णाली चिनाउने गरी लागेको छु।’ कर्णालीको पर्यटन क्षेत्रपछि पर्नुको कारण गुरुयोजना बनाएर अघि बढ्न नसक्नुलाई ठान्छन्, उनी।

उसो त उनले पातारासी गाउँपालिकामा पर्यटन बोर्ड गठन गरेर पर्यटकीय गतिविधि पढाइरहेका छन्। बोर्डको गठनसँगै पर्यटकीय सम्भावनाका खोजी सुरु भइसकेको छ। ‘भीरपहरा, तालतलैया, वनजंगल र हिमाल मात्र पर्यटकीय क्षेत्र होइनन्,’ उनले भने, ‘परम्परागत रीतिरिवाज, संस्कृति पनि पर्यटक भित्र्याउने माध्यम धेरै छन्।’ पछिल्लो समयमा पर्यटक भित्र्याउने नाममा केबुलकारको डीपीआर बनाउने, भ्युटावर बनाउनेदेखि भीरपाखामा सडक पुर्याउने नाममा डोजर चलाउने कार्यको चर्को विरोध गर्छन् बुढा।

‘केबुलकार बनाएपछि दैनिक पाँचरसात हजार पर्यटक भित्र्याउनुपर्ने हुन्छ। सबै केबुलकार चढ्छन् भन्ने छैन। तैपनि पाँच सय जनाले केबुलकार चढ्लान्। त्यो नियमित हुन सक्दैन,’ उनले भने, ‘बरु आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण बनाइदिनुपर्यो। कर्णालीमा हवाईसेवा नियमित बनाइदिनुपर्यो। सडक चार लेनको बनाइदिनुपर्यो । कर्णालीमा रहेको प्राकृतिक सुन्दरतासँग साक्षत्कार गर्न पर्यटक आफैं आइपुग्छन्।’

अहिले बुढा कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटका सबै ठाउँमा घुमिरहेका छन्। उनी एक साताअघि मात्रै २८ दिनको ‘ट्रेकिङ’ गरेर फर्किए। केही दिनमै ताल टू ताल टुर गर्ने पर्यटकको टोली कर्णाली भित्रिन लागेको छ। उक्त टोलीलाई रारा, जगदुल्ला र फोक्सुन्डो लैजाने तयारी भइरहेको उनले सुनाए।

तालतलैया कर्णालीमै छन्। खस उपत्यका, पातारासी हिमाल, ठाकुर ज्यु, बिष्ट ज्युजस्ता धार्मिक पर्यटकीय स्थल छन्। गिडीदह जुम्लामै छ। यिनीहरूको भरपूर उपयोगले मात्रै कर्णाली समृद्ध बन्न सक्ने उनको तर्क छ। बुढाले पर्यटक घुमाएर पर्यटन क्षेत्रको प्रचारप्रसार मात्र गरेका छैनन्। उनले जुम्ला सदरमुकाम खलंगामा लगभग ८० लाख रुपैयाँ  लगानीमा घर बनाएका छन्।

उनका अनुसार पाँच सयभन्दा बढी विदेशी र एक हजारभन्दा बढी आन्तरिक पर्यटकसँग ‘ट्रेकिङ’ गरिसकेका छन्। बुढाले तान्जानिया, चीन र भारतमा समेत ‘ट्रेकिङ’ गरिसकेका छन्। नेपालका ५३ जिल्लामा हिँडेका छन् । ‘डोल्पाको लेकाली क्षेत्र पुग्दा वर्षायाममा उर्लने पाटनका खोला कात्तिकमा भने तेल सकिन लागेका बत्तीजस्तो मधुरो गतिमा बगिरहेका देखिन्छन्,’ बुढाले भने, ‘वन्यजन्तु र चराको चिरबिर आवाज र पाटनको दृश्यले विदेशी रोमाञ्चित र उत्सुक भइरहेका हुन्छन्। अब यतातिर अन्तरिक पर्यटकलाई पनि बढाउने योजना छ।’

प्रकाशित: १४ श्रावण २०८१ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App