१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

यायावरको लयात्मक यात्रा

पुस्तक

नियात्रा भन्नासाथ यात्राको झल्को त दिइहाल्छ। त्यसैले यात्रा विशेषता बोकेको निबन्ध भनेर भनिरहनै परेन। हो, यही विशेषता बोकेर हामी माझ आइपुगेको कृतिको नाम हो ‘यात्राको लय’। जसलाई हामीमाझ पस्केका छन् नियात्राकार प्रदीप सापकोटाले।

नियात्रा भन्नासाथ तारानाथ शर्माको घनघस्याको उकालो मस्तिष्कमा आइहाल्छ। नियात्रा साहित्य सोच्नासाथ तारानाथ शर्माको सम्झना आइदिन्छ। यात्रावृत्तान्तलाई सरल र रोचक ढंगमा प्रस्तुत गर्नु यसको विशेषता हो। यही विशेषतालाई अँगाल्दै नियात्राको क्षेत्रमा देखा परेका छन् प्रदीप सापकोटा। उनको पछिल्लो नियात्रा संग्रह  ‘यात्राको लय’ले उनको पहिचानलाई प्रस्ट्याएको छ।

विशेषतः उनको नियात्रामा व्यक्तिगत अनुभूतिले प्राथमिकता पाएको छ। अनुभूतिभित्र पनि एउटा सन्देश दिन सक्नु उनको अर्काे विशेषता हो। ‘यात्राको लय’भित्र पाठक जब डुब्दै जानेछन्, यात्रानुभूतिभित्र आफै यात्रा गरिहेको भान हुनेछ। उसो त नियात्राकार सापकोटाको यस नियात्राभित्र द्वन्द्वकालको विवरण पनि पाइन्छ। त्यतिबेला मानिसहरूले भोग्नुपरेको सास्तीलाई उनले सूक्ष्म ढंगले प्रस्तुत गरेका छन्।

मानिसहरू गाउँघरमा मात्रै होइन, यात्राको क्रममा बसमा समेत भोग्नुपरेको सास्तीलाई उनले यस नियात्राभित्र समेटेका छन्। सामाजिक कामका लागि निस्केका नियात्राकारले बेला बेला झेल्नुपरेको द्वन्द्वकालीन समस्याहरूलाई सरल ढंगले प्रस्तुत गर्दा पाठक त्यही समयमा पुग्छन्। त्यतिबेलाको अवस्थाको चित्रण आँखैमा झलझली आइदिन्छ। यथार्थ भूमिलाई टेकिएर लेखिएको नियात्राको यो एक गुण नै हो।

नियात्राकार नितान्त आफ्नो अनुभूति मात्र सुनाउँदैनन्, पाठकको मन मस्तिष्क परिवर्तनका लागि पनि तयार बनाउन खोजेका छन्। जातीय विभेदले ग्रस्त समाजबाट विभेद हटाउन र जनचेतना विकास गर्न नियात्राकार आफूले निर्वाह गरेको भूमिका ‘सहभोज’ शीर्षकमा पाइन्छ। यसरी उनले अभियानका रूपमा मानिसले निभाउनुपर्ने जिम्मेवारीको पनि बोध गराएका छन्।

नेपाल तराई, पहाड र हिमाल मिलेर बनेको छ। यो नेपालको एक सुन्दरतम पहिचान पनि हो। यही पहिचानलाई नियात्राकार सापकोटाले ‘यात्राको लय’मा पनि प्रयोग गरेका छन्। उनी कहिले पहाडतिर डुलेका छन् त कहिले तराईतिर रमाइरहेका छन्।

कहिले हिमालको मनोरम दृश्यसँग मुस्कुराइरहेका छन्। जहाँ जहाँ पुगेका छन्, त्यहाँको सांस्कृतिक पहिचानलाई आफूले बुझेसम्म उल्लेख गरेका छन्। हुन त एकदुई दिनको बसाइमा त्यस ठाउँको भौगोलिक स्थिति,  संस्कृति सबै बुझ्न र लेख्न कठिन नै हुन्छ। त्यसैले होला, नियात्राकार यस मामिलामा कतै कतै हतारिएका छन् र वर्णनलाई छिटोछरितो बनाएका छन्। जसले गर्दा पाठक असन्तुष्ट हुने सम्भावनाचाहिँ छ।

‘आँखाको दूरबिनबाट मधेस नियाल्दा’मा उनी काभ्रे हुँदै सिन्धुलीको बाटो लाग्छन्। बाटोभरि देखिएका दृश्यलाई चित्रण गर्दै सिन्धुली हुँदै उनी मधेस पुग्छन्। मधेसको यथेष्ठ जानकारी लिन खोज्छन्। तर, छोटो बसाइमा यो सम्भव कहाँ हुन्छ र ? तर पनि नियात्राकार सापकोटाले मधेसको वास्तविकतालाई भने पहिचान गरेरै छाड्छन्।

उनी लेख्छन्, ‘धेरैजसोको नागरिकता पनि छैन। उनीहरूलाई बनाउनु जरुरी पनि लागेको छैन। मैले एक अधबैँसेलाई सोधेँ-किन नबनाउनुभएको त नागरिकता ? उनको उत्तर थियो– कसलाई फुर्सद बनाउन। दिन माया मारेर जानुपर्छ। ज्यालामजदुरी गर्न पाइएन भने के खानु ?’

मधेस बुझ्न यही जवाफ काफी छ। यस सङ्ग्रहले पाठकलाई धेरै जानकारी दिन खोजेको छ।

हुन त सापकोटाले यस सङ्ग्रहभित्र साहित्यिक यात्रालाई पनि समेटेका छन्। साहित्यकारहरू कति मिजासिला हुन्छन् भन्ने चित्रण गरिएको त छँदैछ, त्यो भन्दा पनि विशेष उनले साहित्यिक यात्राका क्रममा पनि बाटोमा देखा परेका विशेष स्थानको चित्रण गर्न भने छाडेका छैनन्। उनी गफिँदै गर्दा पनि वरपर हेर्न भ्याइदिन्छन् र पाठकलाई यात्रामा डोर्‍याइरहन्छन्।

सङ्ग्रहभित्र विविधता पाइन्छ। नेपाल, भारतको यात्रा छ। पाठकलाई पढ्दा अल्छी लाग्दैन। तर, नियात्राकार कतिपय ठाउँमा हतारिएका छन्। नियात्राको बेलिविस्तार लगाउने ठाउँमै हतारिँदा सूचनामा कमी हुन पुग्छ। ‘मकर–मेला प्रचार ः कुशेश्वर हुँदै गाईघाट’ शीर्षकले पाठकलाई तानिरहँदा पाठकको मनमा मकर–मेला के हो ? यो किन मनाइन्छ ? कहिलेदेखि यो मेला लाग्न सुरु भएको ? किन १२ वर्षमा मात्र लाग्छ ? जस्ता प्रश्नहरू पाठकको मनमा आउन सक्छ। तर, नियात्राकारले बाह्र वर्षे मकर–मेला लाग्दैछ, हाम्रो पनौतीमा यो आउँदो माघ महिनाभर। मकरको आवश्यक तयारी गर्नैपर्ने भएकाले नगरपालिकाले जननिर्वाचित वडाध्यक्षहरूको अध्यक्षतामा विभिन्न समिति गठन गरी कार्यभार तोकेको छ।

यति भनेर नियात्राकार आफूले प्रचारप्रसारको जिम्मेवारीमा लागेको बताउँदै प्रचारका लागि यात्रामा कुदेका छन्। दोस्रो नियात्रा पनि यसैको शृङ्खला हो तर त्यहाँ पनि उनले पाठकको जिज्ञासा मेटेका छैनन्।

‘यात्राको लय’ प्रदीप सापकोटाको दोस्रो नियात्रासङ्ग्रह हो। यात्राको लयमा जम्मा १७ नियात्रा समावेश छन्। नयाँ ठाउँ, नयाँ भूगोल, समाज र संस्कृतिबारे जान्न र बुझ्न रुचि राख्ने नियात्राकार सापकोटाले आफ्ना अनुभूतिहरू रोचक ढंगले पाठकसामु प्रस्तुत गरेका छन्।

विभिन्न समयमा विभिन्न उद्देश्यले गरिएका सामूहिक यात्रालाई सँगालेर पाठकहरूलाई समेत यात्राको अनुभूत गराउन निकै सटिक र रोचक किसिममा भोगाइ, अनुभूति र दृश्यको वर्णन गरिएको छ।

प्रकाशित: १९ आश्विन २०८१ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App