१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा ‘तस्कर राज’ कायम, रौतहटमा सल्बलाउन पाएनन् तस्करहरू

चाडपर्वको समयमा सर्लाही तस्करहरूका लागि स्वर्णभूमि बनेको छ भने रौतहटमा तस्करहरू चरम निराशामा रहेको पाइएको छ। सुरक्षाकर्मीकै तथ्यांकले सर्लाहीमा तस्कर राज पुष्टि भएको छ।

सर्लाहीमा सशस्त्र प्रहरी १० नम्बर गणले भदौ र असोजमा गरी अढाई करोड र नेपाल प्रहरीले चार करोडभन्दा बढीको तस्करीका मालसामान नियन्त्रणमा लिएर भन्सार कार्यालय मलंगवा र राजस्व कार्यालय पथलैयामा बुझाइसकेको स्रोतको दाबी छ।

नेपाल–भारत सीमा क्षेत्रको हरेक सानो र ठुलो नाकामा सशस्त्र र नेपाल प्रहरीको डिउटी छ। सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी खुलेआम हुने गरेको छ, तर कसैले गुनासो गरेमा जहाँ पायो त्यहीं तस्करीका मालसामान समात्ने सर्लाही सुरक्षाकर्मीले नीति लिएको देखिन्छ।

गत हप्ता भन्सार कर्मचारी र गस्तीमा खटिएको प्रहरी टोलीकै मिलेमतोमा मुख्य नाका हुँदै बिनाभन्सार ट्रक पास भएको थियो।

सर्लाहीको पूर्वीनाका मलंगवाको गोरखकाली, खुटौना, लचका नाका, संग्रामपुर, त्रिभुवननगर, नारायणपुर तथा पर्सानाकाबाट निर्बाध रूपमा तस्करी भइरहेको छ। तस्करहरूले नेपाल–भारत सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीलाई मोटो रकम दिएर यति निर्बाध तस्करी गरिरहेका छन्।

सर्लाहीमा सशस्त्र र नेपाल प्रहरीले समयसमयमा करोडौं मूल्यका सामान पक्राउ गर्नुले तस्करी भइरहेको पुष्टि हुन्छ। सर्लाहीबाट तस्करी भएर गएको मालसामान सिन्धुली, मकवानपुरको रातोमाटो र काभ्रे प्रहरीले धमाधम समातिरहेका छन्।

 लताकपडा, खाद्यान्न गरी करोडौं मूल्यका तस्करीका मालसामान समातेर आवश्यक कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन र आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाइएको पाइएको छ।

तस्करीको मालसामान भित्र्याउन तथा नेपालको विभिन्न ठाउँमा पुर्‍याउन सर्लाही नाकालाई तस्करहरूले सबैभन्दा सुरक्षित मानेको देखिएको छ। सर्लाही तस्करहरूका लागि स्वर्णभूमि बनेको भए पनि रौतहट प्रहरी तस्करी नियन्त्रणमा कठोर रहेको देखिएको छ।

चाडपर्वको चहलपहल चलिरहँदा पनि रौतहटमा तस्करहरू सल्बलाएका छैनन्। तस्कर र तस्करी दुवैप्रति रौतहट प्रहरी कठोर बनी धमाधम कारबाही गर्न थालेपछि रौतहटमा तस्करहरू निराशामा दिन काट्न बाध्य छन्।

गत भदौ महिनामा रौतहट प्रहरीले विभिन्न सामानसहित २३ जनालाई समातेर सामानसहित मानिसलाई पनि भन्सार बुझाएको थियो। तस्करी गर्ने ५ जनामाथि अभद्र व्यवहार मुद्दा नै चलाएको देखिएको छ।

नेपाल प्रहरीले गत दुई महिनामा ४८ लाख  ३९ हजार बराबरको सामग्री पक्राउ गरी भन्सार बुझाइसकेको छ। यसैगरी ८ लाख ४० हजार स्रोत नखुलेको नगद रुपैयाँ पनि भन्सार दाखिला गरिसकेको छ। रौतहट प्रहरीले दुई दर्जनभन्दा बढी सवारी साधन पनि भन्सार चलान गरिसकेको छ।

मालसामान मात्र होइन गाई, गोरु तस्करलाई पनि नेपाल प्रहरीले धमाधम समातिरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गाई, गोरुसहित ३ जनालाई पक्राउ गरिसकेको छ।

अवैध रुपमा भारततर्फ गोरु लैजाँदै गरेका यमुनामाई गाउँपालिका ३ का ४५ वर्षीय महम्मद गुफरान, ३५ वर्षीय ओदी अन्सारी र २२ वर्षीय महम्मद सम्सादलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

तस्करी र तस्करप्रति नेपाल प्रहरी कठोर बनेपछि सशस्त्र प्रहरी बल पनि निर्मम बनेको छ। गत दुई महिनामा करिब ७० लाखको सामान पक्राउ गरी सम्बन्धित निकायलाई बुझाइसकेको छ। जिल्लाको सबैभन्दा बढी तस्करी हुने बंकुल, रामपुरखाप, मठिया, औरैया, बेलबिछवालगायत युनिट इन्चार्जलाई एक महिनामै सरुवा गरेपछि प्रहरीमै खैलाबैला मच्चिएको छ।

सिमावार पार गर्ने तस्करहरूको सुरुमा मालसमान जफत गरे दोस्रोपटक पक्राउ पर्दा सवारी साधन र तस्करलाई भन्सार बुझाएर तेस्रोपटक पनि तस्करी जारी नै राख्नेलाई रौतहट प्रहरीले अभद्र व्यवहार मुद्दा नै लगाएर तस्करी नियन्त्रण अभियान जारी राखेको पाइएको छ।

तस्कर र तस्करीविरुद्ध रौतहटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले धमाधम कारबाही गर्न थालेपछि तस्करहरूले बाटो नै बदलिसकेका छन्। मकवानपुर जिल्लाको हेटौंडामा रहेको रातेमाटो, सिन्धुली र काभ्रे  प्रहरीले मधेसबाट तस्करी भएर गएको करोडौंको मालसामान बरामद गर्दा रौतहटबाट तस्करी भएको कुनै पनि सामान बरामद नहुँदा रौतहटबाहेक अन्य जिल्लाबाट तस्करी भइरहेको पुष्टि भएको छ।

तीनजना तस्करलाई समात्न बिहार पुलिसले, गर्‍यो इनाम घोषणा

बिहार पुलिसले तीनजना नेपाली तस्करविरुद्ध पक्राउ गर्न परिपत्र जारी गर्दै इनाम घोषणा गरेको छ। गत बुधबार रक्सी तस्करहरूको एक समूहले सशस्त्र सीमा बल (एसएसबी) का जवानलाई सीमामा कुटपिट गरेको आरोपमा तीन भारतीय र तीन नेपाली तस्करमाथि मुदा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको हो।

गौरभन्दा पश्चिम इशनाथ नगरपालिकाको बोर्डरमा गत बुधबार केही तस्करहरूले कुटपिट गरेका थिए। नेपालबाट भारततिर रक्सी पुर्‍याउने तस्करहरूको समूहले एसएसबीका दुई कर्मचारीलाई कुटपिट गरेपछि ६ जनामाथि मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूलाई पक्राउ गर्न बिहार पुलिसले विभिन्न ठाउँमा छापामारी गरिरहेको पनि जनाएको छ।

बिहार पुलिसले अभियुक्तलाई पक्राउ गर्न १० हजार रुपैयाँको इनाम पनि घोषणा गरेको छ। बाढी र डुबानको मौका छोपी केही नेपाली र केही भारतीय तस्करहरूको समूहले नेपालबाट ग्यालेनमा भारततिर रक्सी तस्करी गरेको थियो।

प्रकाशित: १९ आश्विन २०८१ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App